वीरगन्ज — नारायणी अस्पतालमा उपचार गराइरहेकी कोरोना संक्रमित एक वृद्धाको आइतबार मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको बिन्दवासनी गाउँपालिका–३ इटियाही निवासी ७० वर्षीय महिलाको आईसीयूमा उपचारको क्रममा आइतबार ११ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
पुरानो क्षयरोगको बिरामी रहेकी महिलामा स्वास प्रस्वासको समस्या देखिएपछि शनिबार आफन्तले नारायणी अस्पतालमा ल्याएका थिए ।
सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म पर्साका ३० जना कोरोना संक्रमितको मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ ।
