कर्णालीका ६६ स्थानीय तहमा कोरोना संक्रमण

भाद्र ७, २०७७

चाँदनी कठायत

वीरेन्द्रनगर — कर्णाली प्रदेशका ७९ मध्ये ६६ स्थानीय तहमा २ हजार १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा अन्य प्रदेशका ८४ जना संक्रमित छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सबैभन्दा बढी दैलेख र सुर्खेतमा संक्रमित भेटिएका छन् । मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांकअनुसार दैलेखको नारायण नगरपालिकामा सबैभन्दा धेरै ३ सय ३ जना संक्रमित फेला परेका हुन् ।

सुरुमा निकै कम देखिएको प्रदेश राजधानी वीरेन्द्रनगरमा पनि संक्रमितको संख्या २ सय पुगेको छ । दैलेखको महावु र नौमुले गाउँपालिका, दुल्लु नगरपालिका र सल्यानको बनगाडकुपिन्डे नगरपालिकामा पनि संक्रमितको संख्या १ सय नाघेको छ । 

अहिलेसम्म सुर्खेतका ९, दैलेखका ११, कालिकोटका ९, सल्यानका १० र रुकुमका ६ वटै स्थानीय तहमा संक्रमण देखिएको हो । 

जुम्लाको तातोपानी, हुम्लाको सर्केगाड, सिमकोट र खार्पुनाथ, जाजरकोटको कुशे, जुनीचाँदे गाउँपालिका र नलगाड नगरपालिकामा अहिलेसम्म १ जनामा पनि संक्रमण देखिएको छैन । 

यस्तै मुगुको मुगुमकार्मारोङ र सोरु, डोल्पाको छार्काताङसोङ, काइके, डोल्पोवुद्ध, शेफोक्सुन्डो गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकामा कसैमा पनि संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस

चाँदनी

Link copied successfully