कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२०

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित नर्स भन्छिन्- ‘आफ्नो सुरक्षा पहिलो प्राथमिकता हो’

‘आफू सुरक्षित भए न अरुलाई सुरक्षित राख्न सकिन्छ । हामी स्वास्थ्यकर्मीमात्र सुरक्षित भएर हुँदैन सर्वसाधारणले पनि सावधानी अपनाउनुपर्छ ।’
बुनु थारु

काठमाडौँ — देशभर कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दैछ । फ्रन्टलाइनमा खटिएर बिरामीलाई सेवा दिइरहेका स्वास्थ्यकर्मी पनि यसबाट अछुतो छैनन् । दैनिकजसो स्वास्थ्यकर्मी संक्रमित भएको खबर आइरहेका छन् ।

होम आइसोलेसनमा बसेकी कोरोना संक्रमित नर्स भन्छिन्- ‘आफ्नो सुरक्षा पहिलो प्राथमिकता हो’

त्रिवि शिक्षण अस्पतालमा कार्यरत एक वार्डकी ६० वर्षीया सिनियर नर्स पनि कोरोना संक्रमित बन्न पुगिन् । हाल उनी होम आइसोलेसनमा बसेकी छिन् । उनले आफ्नो नाम गोप्य राख्न अनुरोध गर्दे कोरोना अनुभव कान्तिपुरकी बुनु थारुलाई यसरी साटेकी छन् :

म त्रिवि शिक्षण अस्पतालमा सिनियर नर्सको रुपमा काम गर्छु । मैले २०४० सालदेखि यहाँ काम गर्न सुरु गरेको हो । काम गर्न थालेकै ३८ वर्ष भयो ।

कोरोना संक्रमण बढ्दो छ । म सिनियर नर्स भएकाले मैले एकै ठाउँ वा वार्डमा बसेर काम गर्दिनँ । सबैतिर निरीक्षण गर्दै हिँड्नुपर्छ । त्यसैले पीपीई वा गाउन नलगाइ काम गर्थें । हुन त पीपीई लगाएकालाई पनि संक्रमण भएको छ । डबल मास्क लगाएर अस्पतालको पूरै चक्कर काट्नुपर्छ । हाम्रो अस्पताल रेफरल अस्पतालमा पर्छ । देशभरका विभिन्न ठाउँबाट बिरामीहरु आउँछन् । सुरुमै कोभिड–१९ भनेर त त्यस्तो शंका गरिँदैन । जाँचपड्ताल गरेर हेर्ने कुरा हो । शंकास्पद लागेपछि भने आइसोलेसनमा राखिन्छ ।

बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खटिँदा सयौँ बिरामीसँग भेट हुन्छ । नर्सको युनिफर्म लगाएपछि मानिसले देख्नेबित्तिकै सम्बोधन गरिहाल्छन् । आफूले जानेको कुरा देखाइदिनुपर्यो । मानिसको सम्पर्कमा बढी आइन्छ । त्यसैेले पनि एक्सपोजर हुने सम्भावना बढी रहन्छ ।

कोरोना संक्रमणको सुरुवातमा त हामीले पनि आफै पीपीई मास्क किनेर लगायौँ तर कहाँ जहिल्यै सम्भव हुनु ? अहिले भने यी सामग्री पाइएको छ ।

मबाट नै श्रीमान्‌लाई सरेको हुनुपर्छ

घरमै श्रीमान्‌को होलसेल पसल छ । सजग भएर नै बस्नुहुन्छ । बाहिर कतै जानुभएको छैन । एक दिन मेरो श्रीमान्‌लाई २ दिनसम्म ज्वरो आयो, एन्टिबायोटिक दिँदा ठीक भयो । त्यही पनि शंका लागेर पीसीआर गरौँ भन्ने लाग्यो । उनलाई साउन २० गते कोरोना पोजिटिभ देखियो त्यसपछि मैले पनि परीक्षण गराएँ मेरो साउन २१ गते रिपोर्ट आयोे । मेरो पनि पोजिटिभ आएछ ।

अहिले दुवैजना घरमै होम आइसोलेसनमा बसिरहेका छौँ । ममा कोरोनाका लक्षणहरु नदेखिएर पनि होला परीक्षण गराएको थिइनँ । श्रीमान्‌लाई संक्रमण देखिएपछि पो मैले पनि गराएँ । म अस्पतालमा काम गर्ने भएकाले मबाटै श्रीमान्‌मा सरेको हुनुपर्दछ । किनकी श्रीमान् कतै बाहिर जानु भएको छैन ।

ममा कोभिडका लक्षण छैनन् तर हल्का जिउ दुख्ने र घाँटी दुख्ने भने समस्या छ । श्रीमान् पनि ठीकै हुनुहुन्छ । हामी घरमा दुई जना मात्र हो ।

अहिलेको अवस्थामा काम गर्न अप्ठ्यारो छ । पीपीई लगाएर स्वास्थ्यकर्मीलाई काम गर्न गाह्रो हुन्छ । एकपटक लगाएपछि फुकाल्न मिल्दैन । खाना खानुपर्यो । ट्वाइलेट जानुपर्यो । गाह्रो छ । स्वास्थ्यकर्मी संक्रमित भइरहँदा सबै जना आइसोलेसन बसेपछि अहिले जनशक्तिको पनि कमी भइरहेको छ ।

कोरोनाको बारेमा सुन्दा ‘युज्ड टु’ नै भइसकेको थिएँ । त्यसैले संक्रमित हुँदा पनि डराइनँ । तर एउटा मुख्य कुरा यसलाई जित्न आत्मबल हुनुपर्छ जस्तो लाग्छ ।

कामकाजी मान्छेलाई घर बस्दा छटपटी हुने रहेछ । म अहिले घरायसी काममा व्यस्त हुन्छु । आफूले काम गर्ने अस्पतालका चिकित्सकहरुले हालखबर सोधिराख्नु हुन्छ । अस्तिको मंगलबार दोस्रो पटक परीक्षणका लागि स्वाब दिएर आयौँ सुरक्षा अपनाएर गएका थियौँ ।

कोरोना भोलि जोसुकैलाई पनि लाग्न सक्छ त्यसैले संक्रमित व्यक्तिलाई खेलबाड र अरुलाई घृणा गर्नुहुँदैन । संक्रमित हुँदैमा हेप्ने, गाली गर्न गर्नु हुँदैन । घृणा सहनुपर्छ होला भनेर पनि धेरै त परीक्षणका लगि पनि जाँदैेनन् ।

आफ्नो सुरक्षा त्यसपछि अरुको सुरक्षा भन्छु म । आफू सुरक्षित भए न अरुलाई सुरक्षित राख्न सकिन्छ । हामी स्वास्थ्यकर्मीमात्र सुरक्षित भएर हुँदैन सर्वसाधारणले पनि सावधानी अपनाउनुपर्छ ।

प्रकाशित : श्रावण ३१, २०७७ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?