लिदी पहिरो : ५ जनाको शव भेटियो [अपडेट]

श्रावण ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — शुक्रबार बिहान जुगल गाउँपालिका वडा नम्बर २, लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ५ जनाको शव भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेका अनुसार घटनास्थलबाट ५ जनाको शव निकालिएको छ । डीएसपी काफ्ले मृत्यु हुनेहरुको सनाखत भने नभएको जानकारी दिए ।

त्यस्तै पहिरोमा परी घाइते भएकामध्ये ५ जनालाई उद्धार गरी थप उपचारका लागि  पठाइएको पनि डीएसपी काफ्लेले बताए । 

बिहीबार रातिको अविरल वर्षापछि शुक्रबार बिहान आएको पहिरोमा परी लिदीमा कम्तीमा १३ घर पुरिएका छन् ।  जुगल गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालका अनुसार पहिरोमा परी ५ परिवार सम्पर्कविहीन भएका छन् ।

पहिरोमा १३ घर पूरै पुरिए पनि थुप्रै घरमा आंशिक क्षति पुगेको नेपालले बताए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । ‘पहिरोबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’ 

सम्बन्धित समाचार

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully