यस्तो छ पहिरो गएपछिको लिदीको दृश्य

श्रावण ३०, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।

पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि स‌ंख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘एक दर्जन घरमा पूर्ण क्षति पुगेको भन्ने छ, कति मान्छे बेपत्ता भए अहिल्यै भन्न सकिने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘सुरक्षाकर्मी घटनास्थल पुग्दै छन्, तत्कालै उद्धारका लागि जुटिरहेका छौं ।’

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । ‘पहिरोबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’

यसैबीच पहिरोमा पुरिएर घाइते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा लगिएको छ । अहिले घटनास्थलमा उद्धार र राहतलाई तीव्रता दिन भन्दै सभामुख अग्‍निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।

सबै तस्बिरहरु : सभामुखको सचिवालय

बाढी-पहिरो

कान्तिपुर

Link copied successfully