लिदी पहिरो : गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो- समाचार - कान्तिपुर समाचार

लिदी पहिरो : गम्भीर घाइते पाँच जनालाई हेलिकप्टरबाट अस्पताल ल्याइयो

अनिश तिवारी

सिन्धुपाल्चोक — जुगल गाउँपालिका–२ गोल्चे, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा गम्भीर घाइते भएका पाँच जनालाई अस्पताल लगिएको छ । सेनाको टोलीले हेलिकप्टरबाट उनीहरूको उद्धार गरेको हो । 

घाइतेहरूलाई चौतारास्थित जिल्ला अस्पताल ल्याएर उपचार गर्न थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । जिल्ला समन्वय समितिको अगुवाइमा उद्धारका लागि हेलिकप्टर पठाइएको उनले जानकारी दिए । ‘पहिरो अझै झरिरहेकाले सुरक्षाकर्मी घटनास्थल पुग्न सकेका छैनन्, यकिन तंथ्याक र क्षति विवरण आइसकेको छैन,’ उनले भने ।

पहिरोबाट निकालिएका गम्भीर घाइते ५ जनालाई हेलिकप्टरबाट उद्धार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए । ‘पहिरोबाट १५ जना बाहिर निस्केकामा उनीहरूलाई सुरक्षित स्थानमा राखिएको छ, घाइतेको उद्धार कार्य गरिँदै छ,’ उनले भने । सुरक्षाकर्मी नपुगेकाले स्थानीय र जनप्रतिनिधि मिलेर खोजी र उद्धार कार्यमा जुटेको श्रेष्ठको भनाइ छ । उनका अनुसार १३ घर पुरिएकोमा पाँच घरका स्थानीय सम्पर्कविहीन छन् ।

चार सय मिटरमाथिबाट आएको पहिरोले बस्ती क्षतविक्षत बनाएको स्थानीय आशबहादुर दोङले फोनमा बताए । उनले भने पहिरोमा ३५ जना हराइरहेको जनाएका छन् ।

प्रकाशित : श्रावण ३०, २०७७ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्

यस्तो छ पहिरो गएपछिको लिदीको दृश्य

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षापछि आएको पहिरोले शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा १३ वटा घर पुरिएका छन् । बिहान साढे ६ बजेतिर माथिपट्टिको डाँडो भासिएर बस्ती छोपेको हो ।

पहिरोमा केही स्थानीय पुरिएको अनुमान गरिए पनि स‌ंख्या यकिन भइनसकेको प्रहरीले जनाएको छ । ‘एक दर्जन घरमा पूर्ण क्षति पुगेको भन्ने छ, कति मान्छे बेपत्ता भए अहिल्यै भन्न सकिने अवस्था छैन,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले भने, ‘सुरक्षाकर्मी घटनास्थल पुग्दै छन्, तत्कालै उद्धारका लागि जुटिरहेका छौं ।’

गाउँपालिकाका योजना अधिकृत रामबाबु नेपालले भने पुरिएका मध्ये पाँच घरका स्थानीय सम्पर्कविहीन रहेको जानकारी दिए । उनका अनुसार तीन घरमा १३ जना सदस्य थिए । बाँकी दुई घरमा कति थिए, खुल्न सकेको छैन । ‘पहिरोबाट १५ जना भने बाहिर निस्केका छन्,’ उनले भने, ‘उनीहरुलाई नजिकै सुरक्षित स्थानमा राखिएको छ ।’

यसैबीच पहिरोमा पुरिएर घाइते भएका ५ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत चौतारा लगिएको छ । अहिले घटनास्थलमा उद्धार र राहतलाई तीव्रता दिन भन्दै सभामुख अग्‍निप्रसाद सापकोटासहितको टोली पुगेको छ ।

सबै तस्बिरहरु : सभामुखको सचिवालय


प्रकाशित : श्रावण ३०, २०७७ ११:५५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×