१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल

‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ ।’
कान्तिपुर संवाददाता

काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् भन्दै कृष्ण जन्माष्टमीको शुभकामना दिएका छन् । पार्टीभित्र र बाहिरबाट मति बिग्रिएकाहरुले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको कार्यमा राम्रो काम गरे पनि आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् ।

सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्यमन्त्री ढकाल

मंगलबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति बिग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारीविरुद्ध लड्न मति सप्रियोस् भन्दै शुभकामना दिएका हुन् । ‘आजको यो कृष्णाष्टमीको दिन मति बिग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लड्नका निमित्त मति सुध्रियोस् भन्ने शुभकामना दिन चाहन्छु । चाहे ती मेरा घरभित्र बसेका हुन् चाहे ती मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन् । सरकारको आलोचना गरेर लडाइँको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्‍याउन सक्दैन्,’ मन्त्री ढकालले भने ।

महामारीबाट बाँचियो भने सत्ताको लडाइँ फेरि पनि खेल्न सकिने भन्दै उनले सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे । सरकारलाई जनताले पाँच वर्षको म्यान्डेट दिएकाले पाँच वर्षपछि नै सत्ताको खेलमा लाग्नसमेत नेताहरुलाई उनको आग्रह थियो । ‘बाँचियो भने सत्ता प्राप्ति गर्ने लडाइँ फेरि पनि खेल्न सकिन्छ । किनभने सत्ताका निमित्त लड्ने यो नै अन्तिम युद्ध होइन । पाँच वर्ष जनताले म्यान्डेट दिएकै छन् । म्यान्डेटपछि त्यो खेलमा लाग्दा पनि केही बिग्रिँदैन,’ मन्त्री ढकालले भने, ‘स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिँड्ने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेलाअनुसार हाम्रा वचन र व्यवहार गरिएन भने जनताले त्यही ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन् । जनताको नजरमा हामी परीक्षामा नै छौं । सबैले जनताबाटै उत्तीर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाइँलाई सहजतापूर्वक समाधान गर्न सक्छौं ।’

सरकार कोरोना नियन्त्रणमा केन्द्रित भइरहेका बेला विभिन्न तरिकाले विरोध भइरहेको उनले बताए । कुनैबेला पीपीई भएन भने सामूहिक राजीनामा दिन्छौं भन्ने स्वास्थ्यकर्मीहरु अहिले चुप लागेको उनले बताए । त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको उनले बताए । अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने उनको भनाइ थियो । जस्तोसुकै गीत आए पनि त्यसको जवाफ सरकारले सिद्धान्तबाट नभई व्यवहारबाट दिने उनले प्रस्ट पारे ।

‘गीतहरु बदलीबदली आउनेछन् । एक जमाना थियो पीपीई भएन भने हामी राजीनामा दिन्छौं भन्ने थियो । अब त्यसको अभाव छैन भनेपछि अहिले त्यसको गीत बजेन, त्यसपछि पीसीआर परीक्षणको गीत आयो । अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरु आउनेछन् । ती गीतका भाकाहरुलाई पनि कसरी समाधान गर्नुपर्छ भन्ने विषयमा सिद्धान्तमा होइन व्यवहारमा जवाफदेहिताका साथ जनताको स्वास्थ्यको सुरक्षा गर्ने जिम्मेवारी अहिले नेपाल सरकारले लिएको छ,’ मन्त्री ढकालले भने ।

मन्त्री ढकालले नेपालमा अहिले पनि कोरोना संक्रमणको स्थिति नियन्त्रणबाहिर नगएको बताए । संक्रमणको अवस्था समुदाय स्तरमा देखिए पनि नियन्त्रणको स्थितिमा नै रहेकोले नआत्तिन उनले सबैलाई आग्रह गरे । अन्य मुलुकहरुको तुलनामा पनि कोरोना नियन्त्रणका लागि नेपाल सरकारले चालेका कदमहरु प्रभावकारी भएको उनले बताए । महामारीको अप्ठेरो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारलाई सकारात्मक र रचनात्मक सहयोग गर्न उनले सबैलाई आग्रहसमेत गरे ।

प्रकाशित : श्रावण २७, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?