बाँकेमा ३० प्रहरीसहित ४८ जनामा संक्रमण पुष्टि 

श्रावण २५, २०७७

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा थप ४८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका २९ जना र बागेश्वरी मन्दिरमा कार्यरत एक प्रहरीमा कोरोना देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालयबाट ४७ जनाको स्वाब लिइएको थियो । 

आइतबार  दिउँसो भेरी अस्पतालमा गरिएको परीक्षणमा बाँकेका ४८ जनामा संक्रमण देखा परेको हो । बाँकेमा शनिबार २० जनामा कोरोना पुष्टि भएको थियो भने शुक्रबार ४९ जनामा कोरोना देखिएको थियो ।

जिल्लामा कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । चोकचोकमा सिल गरेर काँडेतार राखिएको छ भने सेना पनि परिचालन गरिएको छ । समुदाय स्तरमा कोरोना संक्रमण बढदै गएकाले शनिबारसम्म जारी  निषेधाज्ञा तीन दिन थप गरिएको थियो । 

कोरोना भाइरस

रुपा गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully