९ जना प्रहरीसहित पर्सामा थप ७५ जनामा कोरोना - समाचार - कान्तिपुर समाचार

९ जना प्रहरीसहित पर्सामा थप ७५ जनामा कोरोना 

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको परीक्षणमा ९ जना प्रहरीसहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका हुन् । 

नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षण छन् । ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन् । पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका एकजना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ ।

महानगरपालिका स्वास्थ्य प्रमुख अरुण महतोले यसअघि संक्रमित पुष्टि भइसकेका वीरगन्जका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौलाको निरन्तर सम्पर्कमा रहेर काम गरेका बताए । ‘उहाँहरु पोजिटिभ आएपछि मैले गत साउन २१ मा स्वाब परीक्षणका लागि दिएको थिएँ,’ उनले भने, ‘चिकित्सकको सल्लाहमा औषधि सेवन गरिरहेको छु । बीचमा ३ दिन ज्वारो पनि आएको थियो ।’ नारायणी अस्पतालका तीन जना स्टाफमा पनि संक्रमण देखिएको छ ।

शनिबार राति गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी नायब उपरिक्षक मनोजित कुँवरले बताए । यसैगरि वरुणयन्त्रका दुईजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन् । अन्य संक्रमित वीरगन्जको लिंकरोड, राधेमाई, नगवा, घडीअर्वा, महावीर टोल, कुम्हाल टोल, भिस्वा, पटेलनगर, पावर हाउस, चिनीमिल क्वाटर, पानीट्यांकी, पिपरा, श्रीपुर, मुर्लीका बासिन्दा हुन् । पर्साको पकाहामैनपुर गाउँपालिकाका दुई जनामा पनि कोरोना पुष्टि भएको छ । अमरपट्टीका ३ जना र बहुदरमाई नगरपालिका–७ का एकजनामा कोरोना देखिएको छ । साउनयता पर्सामा ८ सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित : श्रावण २५, २०७७ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु 

कान्तिपुर संवाददाता

भक्तपुर — मिनी भ्यान र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ च्याम्हासिंहबाट जगातीतर्फ आउँदै गरेको बा १९ च ३३८४ नम्बरको मिनिभ्यान र विपरित दिशाबाट आइरहेको बा १६ प २८१० नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक भक्तपुर नगरपालिका–१० कमलविनायकका १९ वर्षीय सुमन श्रेष्ठ कुटवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट सख्त घाइते कुटवालको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगाती प्रमुख डीएसपी चक्रराज जोशीले बताए । मिनिभ्यान चालक रामेछाप सुनपाती गाउँपालिका–७ खनिया घर भइ काठमाडांैं शंखमूल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २५, २०७७ १०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×