‘संक्रमण बढे पनि नियन्त्रणबाहिर गएको छैन’- कुराकानी - कान्तिपुर समाचार

‘संक्रमण बढे पनि नियन्त्रणबाहिर गएको छैन’

फातिमा बानु

काठमाडौँ — नेपालमा कोरोना संक्रमणको दर बढ्दो छ । अस्पतालका आइसोलेसन शय्या भरिएका छन् । शय्या अभावका कारण संक्रमित घरमै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना अब नियन्त्रणबाहिर जान थाल्यो भनेर विज्ञहरूले भनिरहेका छन् ।

यस्तो अवस्थामा राज्यले कसरी काम गरिरहेको छ भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग फातिमा बानुले गरेको कुराकानी :

नेपालमा कोरोना संक्रमण अब नियन्त्रणबाहिर गएको हो ?

एक महिनाअघि नेपालमा कोरोना संक्रमण वृद्धिदर ८ देखि ९ प्रतिशत थियो । बीचमा घटेर ३ प्रतिशत पनि भयो । अहिले फेरि ५ प्रतिशतमा छ । एक महिनाअघिको दाँजोमा वृद्धिदर कम छ तर ग्राफ उकालो लाग्दै छ । पर्सा, मोरङ, रौतहट र सप्तरीमा संक्रमण धेरै नै छ । भारतको बिहारमा लकडाउन भएपछि त्यहाँका मानिसहरू उपचारका लागि नेपाल आउन थाले । तराईका जिल्लामा जग्गा लिएर काम गर्ने भारतीय पनि आएका छन् । यसरी आउने क्रममा उनीहरूले नेपालीलाई कोरोना सारिरहेका छन् र फैलँदो क्रम बढ्दो छ । उपत्यकामा पनि संक्रमणको वृद्धिदर बढिरहेको छ । हजाम, तरकारी व्यापारी र अन्य व्यवसाय गर्ने व्यक्तिहरू पनि धमाधम काठमाडौं छिरिरहेका छन् । जसले गर्दा संक्रमण दर बढिरहेको छ । संक्रमण बढे पनि नियन्त्रणबाहिर गएको चाहिँ भन्न मिल्दैन ।

अब संक्रमण वृद्धिदर रोक्नै नसकिने अवस्था आएको हो ?

संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड अपनाएका छैनन् । हामीले अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कनु भनेर अनुरोध गर्दै आए पनि यसमा अटेरी भइरहेको छ । घरबाट निस्कनै पर्दा अपनाउनुपर्ने सावधानीमा उस्तै लापरबाही गरिरहेका छन् । अनिवार्य मास्क लगाउने, हात धुने, भेटघाट गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने कुनै पनि नियम सर्वसाधारणले मानिरहेका छैनन् । अर्को कुरा चिकित्सक र स्वास्थ्यकर्मी पनि ठूलो संख्यामा संक्रमित भइरहेका छन् । सावधानी अपनाउने विषयमा उनीहरूको पनि उत्तिकै कमजोरी छ । कोभिडभन्दा गैरकोभिड अस्पतालमा स्वास्थ्यकर्मीले लापरबाही गरिरहेका छन्, त्यसैले पनि संक्रमण नियन्त्रण हुन गाह्रो भइरहेको छ । अब हामीले हरेक व्यक्ति संक्रमित हो र कोरोना सार्न सक्छ भनेर व्यवहार गर्नुपर्छ, सावधानी अपनाउनुपर्छ । कोरोनाको कुनै औषधिउपचार छैन, सावधानी अपनाएर मात्रै यसलाई नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमितलाई गरिरहेको उपचार अहिले सहायक मात्रै हो । ज्वरो आए सिटामोल दिने हो, श्वास फेर्न गाह्रो भए अक्सिजन दिने या भेन्टिलेटरमा राख्ने हो । यो रोग हावाबाट सर्ने होइन, थुकका छिटाबाट सर्ने भएकाले सावधानी नै रोग लाग्न नदिने उपाय हो । सरकारले लाखौं खर्च गरेर संक्रमितको निःशुल्क उपचार गर्नुपर्ने, जनताले चाहिँ मास्क लगाउने र दूरी कायम गर्ने सामान्य जिम्मेवारी पनि पूरा नगर्ने ? हामीले मात्रै प्रयास गरेर कोरोना नियन्त्रण गर्न सम्भव छैन ।

विज्ञहरू समुदायमा संक्रमण फैलिइसक्यो भन्छन् । स्वास्थ्य मन्त्रालय यो स्विकार्न किन तयार छैन ?

जसले समुदायमै संक्रमण फैलिसक्यो भनिरहेका छन्, उनीहरूले थाहा नपाएर भनेका हुन् । समुदायमा संक्रमण छ भन्नका लागि केही आधार र तह हुन्छन् । संक्रमितको सम्पर्कमै नआएका मानिसहरूमा पनि संक्रमण देखियो भने समुदायमा संक्रमण छ भन्न मिल्छ । यस्तो भयो भने घरबाटै बाहिर ननिस्किएका मानिस पनि संक्रमित हुन्छन् । महिला/पुरुषमा हुने संक्रमणको जुन अनुपात अहिले छ, त्यो ठ्याक्कै उल्टिन्छ । जो जहाँबाट पनि संक्रमित हुन्छन् । हाम्रोमा जति पनि संक्रमित छन् उनीहरूको सबैको कि त ट्राभल हिस्ट्री छ कि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । वीरगन्ज, अछाम, डोटी, कैलालीमा ‘आउटब्रेक’ भएको हो तर समुदायमा संक्रमण गएको भन्न मिल्दैन । यसलाई नियन्त्रण गर्न सकिएन भने अब हामी समुदाय संक्रमणको उच्च जोखिममा पुग्छौं । अहिलेसम्म नेपालमा समुदायमा संक्रमण छैन भनेर स्वास्थ्य मन्त्रालयले भनेको पनि होइन, यो विश्व स्वास्थ्य संगठनले नै भनेको हो ।

लकडाउन मोडालिटी नमिलेर संक्रमण बढेको हो कि ?

लकडाउन मोडालीटीसँग संक्रमण वृद्धिदरको केही सम्बन्ध छ तर लकडाउन नगरेकै कारण यो सबै भएको हो भन्न मिल्दैन । लकडाउन खोले पनि भीड गर्दै हिँड, मास्क लगाउनु पर्दैन भनिएको छैन तर सर्वसाधारणले त्यस्तै गरिरहेका छन् । जापानलगायत कति मुलुकमा लकडाउन नगरी सावधानी अपनाएकै भरमा कोरोना संक्रमण नियन्त्रण भएको छ । किनकि त्यहाँका जनताले जनस्वास्थ्यमा चारवटा मापदण्ड पालना गरे । इटली, स्पेन, न्युयोर्क, मुम्बई र नेपालकै वीरगन्जमा सावधानी नअपनाएकै कारण संक्रमण नियन्त्रण बाहिर गयो । संक्रमण नियन्त्रण गर्न लकडाउन मात्रै उपाय होइन, कति दिन लकडाउन गर्ने ? लकडाउन एउटा उपाय थियो । लकडाउन भनेको तयारी गर्न, सावधानीका उपाय सिक्नका लागि थियो । लकडाउन खुल्नेबित्तिकै सिकेको कुरा व्यवहारमा उतार्न छाडेपछि संक्रमण त बढ्ने नै भयो नि !

अस्पतालका आइसोलेसन शय्या भरिइसके, शय्या नपाएर घरमै बस्नुपर्ने अवस्था छ । अब यो समस्याको व्यवस्थापन कसरी हुन्छ ?

कोभिडबाहेक प्रहरी, आर्मी र निजी अस्पतालमा शय्याको व्यवस्था भइसक्यो । नयाँ संक्रमितहरू त्यहीं राख्ने हो । त्यतिले नपुगे अब आइसोलेसन सेन्टरहरू बन्दै छन् । घरमा छुट्टै बस्न सक्नेहरू घरमा बस्नेछन् । लक्षण नभएका र घरमा ठाउँ नहुनेहरू आइसोलेसन सेन्टरमा बस्नेछन् । खाने–पिउने व्यवस्था सरकारले गर्छ र स्वास्थ्यकर्मीको निगरानीमा हुनेछन् ।

दुई साता राखेर परीक्षणपछि घर जान सक्छन् । कीर्तिपुरको आयुर्वेद तालिम केन्द्र, मनमोहन मेडिकल कलेज दहचोक र भक्तपर खरिपाटीमा अहिले यस्ता सेन्टर छन्, अरु पनि बन्छन् । हाम्रो जस्तो राज्यले गर्न सक्ने तयारीमा हामीले कुनै कसर छाडेका छैनौं । सकेको सामान जोहो गरेका छौं तर ‘म्यासिभ आउटब्रेक’ भयो भने हाम्रो स्रोत–साधनले नभ्याउन सक्छ ।

परीक्षणको दायरा बढाउन गर्ने भनिएको दैनिक १० हजार पीसीआर किन भइरहेको छैन ?

विश्व स्वास्थ्य संगठनका अनुसार कुल परीक्षणको २ देखि १० प्रतिशत नतिजा पोजिटिभ आउनुपर्छ । १० प्रतिशतभन्दा बढी पोजिटिभ आयो भने परीक्षण बढाउनुपर्छ । अहिले गरेको परीक्षणमा पाँच प्रतिशत पोजिटिभ आइरहेको छ भने अनावश्यक परीक्षण गरेर स्रोतसाधन किन खर्च गर्ने ? उपत्यका छिर्नेजति सबैलाई नाकामै रोकेर १० हजार जनाको पीसीआर परीक्षण गर्‍यौं । जम्मा ४० जनाको पोजिटिभ आयो । त्यस्तो कम आउने गरी परीक्षण गर्न मिल्दैन । मान्छेले नबुझेर मात्रै, टेस्ट, टेस्ट र टेस्ट भनिरहेका छन् । सरकारसँग दैनिक १८ हजार परीक्षण गर्न सक्ने क्षमता छ । आवश्यक परे हामी परीक्षणको दायरा बढाउँछौं । क्षमता छ भन्दैमा एकै दिन सबै परीक्षण गराउन त मिलेन नि !

संक्रमण नियन्त्रणमा कति खर्च भयो ?

कोरोना संक्रमण नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयलाई २ अर्ब ६० करोड बजेट आएको थियो, त्यो सबै खर्च भइसक्यो । फेरि बजेट आएको छ, त्यसमा पनि केही खर्च भयो । अहिलेसम्म लगभग ३ देखि ४ अर्ब खर्च भयो होला ।

स्वास्थ्य सामग्री कति मौज्दात छ, कति खरिद हुँदै छ ?

अहिले दुई महिनासम्म पुग्ने पीपीई बाँकी छ । एक महिना पुग्ने परीक्षण किट छ । १ लाख ५० हजार किट खरिद प्रक्रिया अघि बढिरहेको छ । अहिलेसम्म ४ लाख पीसीआर परीक्षण गरियो । अर्को ४ लाख गर्नका लागि पूरा तयारी छ । अस्पतालहरूमा एक सय भेन्टिलेटर पनि थपिन्छ ।

कन्ट्याक्ट ट्रेसिङ किन प्रभावकारी छैन ?

कन्ट्याक्ट ट्रेसिङ गाह्रै काम हो । पीसीआर परीक्षण गरेर घर फर्केका व्यक्तिलाई हामीले मोबाइल अफ नगर्नु भनेर पठाएका हुन्छौं तर पोजिटिभ आउने शंका लागेको व्यक्तिले स्वाब दिएर मोबाइल अफ गर्छन् । अनि हामीलाई खोज्नै गाह्रो भइरहेको छ । रोगको फैलावट कम गर्ने जुन काम गरिरहेका छौं, त्यसमा जनताले सहयोग नगर्दा उपयोगी नदेखिएको हो । कतिसम्म गर्छन् भने परीक्षण गर्न दिन्छन् अनि नतिजा नआउँदासम्म होम या सरकारी क्वारेन्टाइनमा बस्दिँदैनन्, लुक्छन् र सम्पर्कमै आउँदैनन् । संक्रमितहरू नियतवश हराइदिन्छन्, भाग्छन् । आफू त रोगी भएका छन् नै अरूलाई पनि सार्दै हिँडिरहेका छन् । राज्यका जिम्मेवार व्यक्तिबाटै यस्तो भएको छ ।

उपत्यका कति जोखिममा छ ?

उपत्यका संक्रमणको उच्च जोखिममा छ । यहाँ ५० लाख हाराहारीको जनघनत्व छ, भीड अनियन्त्रित छ । यहाँ ज्येष्ठ नागरिक र दीर्घरोगी पनि उत्तिकै छन् । वृद्धवृद्धामा संक्रमण भयो भने मृत्युदर १० प्रतिशतसम्म हुन सक्छ । त्यसैले घनाबस्ती भएका सहर उच्च जोखिममा छन् ।

संक्रमण नियन्त्रणबाहिर गए स्वास्थ्य संकटकाल पनि घोषणा हुन सक्छ ?

संक्रमण नियन्त्रणमा समुदायले हामीलाई सघाएनन् भने त्यस्तो पनि हुन सक्छ । काठमाडौंमा १० लाख जनसंख्या संक्रमित भए भने हामी व्यवस्थापन गर्न सक्दैनौं । न्युयोर्कजस्तो सम्पन्न ठाउँमा बिरामी आईसीयू र भेन्टिलेटर नपाएर मरिरहेका छन् । नेपालजस्तो मुलुकले धेरै संक्रमित कसरी थेग्न सक्ला र ? समुदायमा संक्रमण बढ्दै गयो भने स्वास्थ्यकर्मी पनि संक्रमित हुँदै जान्छन्, उनीहरू नै बिरामी परेपछि उपचार कसले गर्ने ? त्यस्तो स्थिति आयो भने सरकारले पनि केही गर्न सक्दैन ।

प्रकाशित : श्रावण २५, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्

७ अस्पताल चहार्दाचहार्दै मृत्यु भएकी युवतीमा कोरोना पुष्टि

भुषण यादव

वीरगन्ज — सातवटा अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए । 

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

शुक्रबार राति एक्कासि श्वासप्रश्वासमा समस्या देखिएपछि परिवारले राति ११ बजे रिक्सामा राखेर उनलाई अस्पताल पुर्‍याएका थिए । वीरगन्जका ७ वटा अस्पताल चहार्दा कुनैले पनि उनलाई भर्ना लिन मानेनन् । दोस्रोपटकमा नारायणी अस्थायी कोरोना अस्पतालले भर्ना गर्न तयार भए पनि रिक्साबाट स्ट्रेचरमा राख्ने बेलामै उनको मृत्यु भइसकेको थियो ।

श्वासप्रश्वासमा समस्या देखिएकी उनलाई अक्सिजन पाइप लगाइदिन अस्पतालसँग अनुरोध गर्दा पनि कसैले नमानेको उनकी भाउजूले गुनासो गरिन् ।

प्रकाशित : श्रावण २५, २०७७ १२:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×