लकडाउन खुल्यो, जोखिम बढ्यो- समाचार - कान्तिपुर समाचार

लकडाउन खुल्यो, जोखिम बढ्यो

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भन्छन्– ‘लकडाउन हटाउनका लागि विश्व स्वास्थ्य संगठनले तोकेका चारवटा मापदण्ड पूरा गरिनुपर्थ्यो, गरिएन । त्यसैले संक्रमित बढेर कुनै पनि बेला लकडाउनमा फर्कनुपर्ने हुन सक्छ ।’
अतुल मिश्र

काठमाडौँ — संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् । लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ ।

लकडाउन हटेपछि बुधबार काठमाडौंको असनमा देखिएको भीडभाड । कोरोना संक्रमणको जोखिम रहेकाले अझै पनि सार्वजनिक स्थलमा भीडभाड नगर्न र सावधानी अपनाउन विज्ञहरुले सुझाएका छन् । तस्बिर : अंगद ढकाल

‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

डा. कार्कीका अनुसार डब्लूएचओले तोकेको आधारअन्तर्गत लकडाउन हटाउन संक्रमितको संख्या अत्यन्तै कम हुनुपर्नेछ । लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ ।

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ । ‘डब्लूएचओले तोकेका चारवटै आधार पूरा भएको सुनिश्चिततापछि मात्र लकडाउन खोल्ने हो,’ डा. कार्कीले भने, ‘अरू त अरू, तर हामीकहाँ लकडाउन हुँदा र खुलेपछि बिरामीको उपचारका लागि अस्पतालको तयारीसमेत खासै फरक छैन ।’

सरकारले डब्लूएचओका कुनै पनि आधार पूरा नगरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, ‘अब कुनै पनि बेला संक्रमित संख्या बढ्न सक्छ र पुनः लकडाउनमा फर्किनुपर्ने हुन सक्छ ।’

विभिन्न मुलुकको अनुभव, अन्तर्राष्ट्रिय मापदण्ड र डब्लूएचओको सुझावअनुसार लकडाउन खोलेपछि संक्रमितको संख्या बढ्ने गरेको छ । ‘संक्रमित बढ्छ भनेर हेक्का राखेर, सबै पूर्वतयारी गरेर मात्र लकडाउन खोल्ने हो, हामीकहाँ लकडाउन सुरु भएका बेला र अहिलेको अवस्था तुलना गरेर हेर्ने हो भनेपछि आईसीयू र भेन्टिलेटर संख्यासमेत बढेको छैन,’ डा. कार्कीले भने ।

नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले पनि जोखिम झनै बढेको बताए । ‘देश काठमाडौं मात्र हैन । हालसम्म समुदायमा संक्रमणको अवस्था जान्न स्क्रिनिङ गर्न सकेका छैनौं । समुदायमा संक्रमण छ/छैन सुनिश्चित गरेपछि मात्र लकडाउन खोलिनुपर्थ्यो । बारा, पर्साकै कुरा गर्ने हो भने पनि एकै दिन ५० जनासम्म संक्रमित देखिने गरेका छन् ।’ सरकारले विज्ञहरूको सहयोग नलिएकाले ‘स्थिति भयावह हुन सक्ने’ उनले भनाइ छ ।

सरकारले अर्थतन्त्र चलायमान बनाउन लकडाउन खोलेको देखिएको स्वास्थ्य मन्त्रालयका पूर्वसचिव डा. प्रवीण मिश्रले बताए । ‘सरकारले योजनाबद्ध रूपमा लकडाउन खोल्नु पर्थ्यो, सायद आर्थिक अवस्था हेरेर खोलियो,’ उनले भने, ‘अब लकडाउन खुलेपछि अपनाइने सरकारी मापदण्ड पूर्ण पालना गर्नुपर्छ, घरबाहिर निस्कँदा स्वास्थ्य सुरक्षाको उपाय नअपनाए स्थिति भयावह हुन सक्छ ।’

गरिब र विकासोन्मुख राष्ट्रलाई निःशुल्क खोप उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन’ (गाभी) र ‘डब्लूएचओ’ का माध्यमबाट सरकारले कोरोनाविरुद्घको खोप मगाउन पहल गर्नुपर्ने औंल्याउँदै डा. मिश्रले भने, ‘र, खोप आउनुअघि स्वास्थ्य सुरक्षाका प्रोटोकल सबैले पालना गर्नुपर्छ/गराउनुपर्छ ।’

सरकारले समयमै पहल गरे कोरोनाको खोप नेपालले समयमै पाउन सक्नेमा उनले जोड दिँदै भने, ‘हाम्रा लागि दुई करोड मात्रा खोप पर्याप्त छ र यो हामी पाउन सक्छौं ।’ हाल बेलायतलगायत देशमा कोरोनाको खोप परीक्षण अन्तिम चरणमा पुगेको छ ।

अर्थ व्यवस्था बचाउन लकडाउन खोलिएको जनाउँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने, ‘सबैले स्वास्थ्य मापदण्ड पालना नगरे संक्रमण व्यापक हुन्छ । समुदायमा फैलियो भने हाम्रो हालत वुहान (चीन) भन्दा पनि खराब हुनेछ ।’

कोरोना मुलुकबाट छिटो नजाने र कुनै न कुनै रूपमा रहिनै रहने औंल्याउँदै वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानीले भने, ‘हरेक नागरिक जिम्मेवार हुनुपर्‍यो । घरबाहिर निस्कँदा, दुई मिटर सामाजिक दूरी कायम गर्नुपर्‍यो । मास्क लगाउनुपर्‍यो । निरन्तर साबुनपानीले हात धुनुपर्‍यो ।’ हेर्दा सामान्य लागे पनि यसो गर्न सके कोरोना फैलिन नदिन ठूलो सघाउ पुग्ने उनले बताए ।

प्रकाशित : श्रावण ८, २०७७ ०६:३३
प्रतिक्रिया
पठाउनुहोस्

मेलम्ची खानेपानी आयोजना : सुरुङको गुणस्तरमाथि छानबिन

–ढोकाको डिजाइन, निर्माण र जडानको जिम्मेवारी पाएको भारती कम्पनीका निर्देशक मेलम्चीमा
–परामर्शदाताका रूपमा काम गरिरहेको इप्टिसाका प्रमुख प्रतिनिधिलाई उपस्थित भएर घटनाको अध्ययन गर्न पत्राचार
ऋषिराम पौड्याल

काठमाडौँ — मेलम्ची आयोजनाको सुरुङको ढोका डिजाइन र जडान गर्ने भारतीय ठेकेदार कम्पनी प्रेसिजन इन्फ्राटेक लिमिटेडका निर्देशकलाई काठमाडौं झिकाइएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयद्वारा गठित प्राविधिक समितिले गरिरहेको छानबिनका क्रममा उनलाई बोलाइएको हो ।

परीक्षणका लागि पानी पठाएको १० दिनमा सुरुङको ढोका भत्केर भौतिक तथा मानवीय क्षति भएको थियो । ढोकाको डिजाइन, निर्माण र जडानसमेतको जिम्मेवारी लिएका कम्पनीका निर्देशक नलिन भिभाकर बुधबार आइपुगेका छन् ।

आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीलाई भेटेर भिभाकर आयोजना स्थल मेलम्ची पुगेका छन् । ‘उनले ढोकाको नटबोल्ट कसरी खुस्कियो भन्दै आश्चर्य प्रकट गरे,’ आयोजनाका एक प्राविधिकले भने, ‘आफूले हेरेर मात्र केही बोल्न सक्ने भन्दै उनी मेलम्ची नै गएका हुन् ।’ समितिका संयोजक तथा सहसचिव रमाकान्त दुवाडीका अनुसार ढोका बनाउने ठेकेदार कम्पनी र परामर्शदाता स्पेनको इप्टिसाले सुरुङमा पानी पठाउनुअघि आयोजनासँग गरेको सम्झौताअनुसारको प्राविधिक प्रक्रिया र जिम्मेवारी पूरा गरे/नगरेको विषयमा अध्ययन भइरहेको छ । इप्टिसा आयोजनाको डिजाइन, गुणस्तरलगायत सबै हेर्ने मुख्य परामर्शदाता हो । आयोजनाले परामर्शदाताकै विश्वासमा प्राविधिक काममा सहमति जनाउँदै आएको छ । कार्यकारी निर्देशक खत्रीका अनुसार परीक्षण गर्दागर्दै ढोका भत्केर प्रश्न खडा भएपछि परामर्शदाताका रूपमा काम गरिरहेको कम्पनी इप्टिसाका प्रमुख प्रतिनिधिलाई उपस्थित भएर घटनाको अध्ययन गर्न र ढोका खुल्नुको कारण पत्ता लगाउन पत्राचार गरिएको छ । यद्यपि त्यसको लिखित ‘रेस्पोन्स’ आएको छैन । सुरुङ परीक्षण हुने समयमा इप्टिसाका मुख्य जिम्मेवार प्रतिनिधि थिएनन् । परामर्शदाताको कर्मचारीको भरमा परीक्षण अनुमति दिएको आयोजनाका प्राविधिक बताउँछन् ।

सुरुङमा परीक्षणका लागि पानी पठाएको १० दिनपछि असार ३० मा सुरुङभित्रको ढोका भत्केर एक इन्जिनियरको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन् । घाइते इन्जिनियरसहित दुई जनाको उपचार भइरहेको छ । परीक्षणकै क्रममा ढोकाका नटबोल्ट खुस्केपछि आयोजनाको निर्माण संरचनाको डिजाइन र गुणस्तरमा प्रश्न उठेको छ । डिजाइन क्षमताभन्दा कम परिमाणमा पानी पठाउँदा सुरुङको ढोकाको ३२ वटा नटबोल्ट खुस्केपछि आयोजनाका अन्य संरचनाको गुणस्तरको पनि जाँच गर्नुपर्ने धारणा प्राविधिकहरूको छ ।

आयोजनाका अनुसार पानीको उचाइ ५० मिटर थेग्ने गरी डिजाइन गरिएको भनिएको ढोकाको नटबोल्ट १६ मिटर पानीको प्रेसरमै खुस्किएपछि सुरुङको समग्र गुणस्तरमाथि प्रश्न उठेको हो । यसबाट चार वटा अडिट र सुरुङको विभिन्न भागमा रहेका ३८ वटा ढोका प्रेसिजन इन्फ्राटेक लिमिटेडले नै डिजाइन, निर्माण र जडान गरेको हो । ‘हामी ढोका खुल्नुको कारण पत्ता लगाउने प्रयत्न गर्दै छौं,’ दुवाडीले भने, ‘त्यसका लागि परामर्शदाता र ठेकेदारसँग भएका सम्झौता विवरण अध्ययन गरिरहेका छौं ।’ प्राविधिक समितिका विशेषज्ञहरूले आयोजनासँग गरिएको लिखित सम्झौताअनुसार प्रक्रिया पुगे/नपुगेको अध्ययन गरिरहेका छन् । छानबिन समितिमा स्वतन्त्र विशेषज्ञसहित ६ जना छन् । कार्यकारी निर्देशक खत्रीले बुधबार आयोजनाको सुरुङ र हेलम्बु मुहान निरीक्षण गरेर घटनाको थप जानकारी लिएको बताए ।

‘नीतिगत रूपमा सबै काममा ठेकेदारको प्रस्ताव परामर्शदाताको अनुमोदनमा आयोजनाले स्वीकृत प्रदान गर्ने हो । ठेकेदारले गरेको कामको भुक्तानी पनि परामर्शदाताको सिफारिसमा हुने गर्छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘विदेशी परामर्शदाता राख्ने कारण नै विशेषज्ञता प्राप्त गर्न हो । हामी निर्भर रहने पनि उनीहरूसँगै हो ।’

आयोजनाका प्रवक्ता तथा सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तका अनुसार हाइड्रो मेकानिकलको सबै जिम्मेवारी इन्फ्राटेकलाई दिइएको थियो । सुरुङ निर्माण गर्दागर्दै एकलौटी रूपमा सम्झौता तोडेर जाने इटालियन कम्पनी सीएमसीले नै सब–कन्ट्र्याक्टरका रूपमा इन्फ्राटेकलाई ल्याएको हो । इप्टिसा र ठेकेदारका प्रतिनिधि आएपछि धेरै विषयमा जानकारी हुने दाबी पन्तको छ । दुई दशक अघिदेखि निर्माण भइरहेको आयोजनाका लागि करिब २९ अर्ब खर्च भइसकेको छ ।

यो पनि

प्रकाशित : श्रावण ७, २०७७ २२:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×