कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

कन्काईको बाढीले बाँध फुटायो, १०५ घर डुबानमा

अर्जुन राजवंशी

बिर्तामोड — लगातारको वर्षापछि कन्काई नदीमा आएको बाढीले झापा गाउँपालिकास्थित जनताको तटबन्ध भत्काएको छ । तटबन्ध भत्काएर गाउँ पसेको बाढीले गाउँपालिकाको दुई वटा बस्ती डुबानमा पारेको छ । 

कन्काईको बाढीले बाँध फुटायो, १०५ घर डुबानमा

गाउँपालिकाको वडा नम्बर १ स्थित मिलनबस्तीका ८३ घर र २ नम्बर वडास्थित सडकबारीका २२ घर डुबानमा परेका हुन् । सोमबार दिउँसोदेखि डुबानमा परेका १०५ घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । मिलनबस्तीका ८३ परिवारलाई स्थानीय सितुमारी प्राथिमा तथा सडकबारीका २२ परिवारलाई स्थानीय लक्ष्मी प्राविमा राखिएको थियो ।

बस्तीमा पानीको मात्रा केही घटेकाले मिलनबस्तीका ६० परिवार भने मंगलबार बिहान घर फर्किएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए । मिलनबस्तीका २१ परिवार भने घर फर्किन सक्ने अवस्था नरहेको उनले बताए ।

बाढीले कन्काई नदी किनारको ३ सय मिटर बाँध भत्काएको हो । नदीमा आएको बाढीले चार दिनदेखि लगातार कटान गरेको थियो । बाँध भत्काएर बस्तीतर्फ सोझिएको बाढीले करिब एक हजार बिघा धान खेतसमेत डुबाएको छ ।

‘बाढीले कटान सुरु गरेपछि हामीले तत्काल रोक्ने प्रयास गर्‍यौं । तर, त्यो सम्भव भएन,’ वडा नम्बर २ का अध्यक्ष नेत्रबहादुर खड्काले भने । त्यस्तै सडकबारीका ५५ घर डुबानको उच्च जोखिममा छन् । भत्किएको बाँध तत्काल निर्माण गर्न नसके मिलनबस्ती, सडकबारी, सालमारा, लसुनगञ्जलगायतका बस्तीका सयौं घरपरिवार डुबानमा पर्ने अध्यक्ष साहले बताए ।


प्रकाशित : श्रावण ६, २०७७ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?