चितवन — लगातारको वर्षापछि बाढी उर्लेर आउँदा नारायणी नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । सोमबार मध्यान्ह खतराको तह पार भएसँगै चितवन जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीयलाई सावधानी अपनाउन अपिल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले निरन्तर वर्षा भइरहेका कारण सबैलाई सजग रहन अनुरोध गरेका छन् ।
जलमापन केन्द्र देवघाटबाट प्राप्त विवरणअनुसार देवघाटनजिक नारायणी नदीको सतह आठ दशमलव ५१ मिटर पुगेको छ । सात दशमलब तीन मिटर तह पार गरे चेतावनी तह र आठ मिटर पार भए खतराको तह पार गरेको मानिन्छ । नारायणगढ पुल नजिक भने पानीको सतह चेतावनी विन्दुमा छ । नारायणी पुलनजिक भने नदीको सतह ११ दशमलव ७२ मिटर पुगेको छ । पुल नजिक नारायणी नदीको तह ११ मिटर पार भए चेतावनीको तह नाघेको मानिन्छ ।
