दार्चुलाको नौगाडमा पहिरोमा पुरिएर दुई जना बेपत्ता

श्रावण ५, २०७७

मनोज बडू

दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जना वेपत्ता भएका छन् । स्थानीय फागुनसिंह ठगुन्नाका अनुसार ३५ वर्षीया मानमती ठगुन्ना र उनकी छोरी ६ वर्षीया आरती ठगुन्‍ना बेपत्ता भएका हुन् ।

दुवै जनाको स्थानीयवासीले खोजी गरिरहेका छन् । पहिरोमा परी चार जना घाइते भएका छन् । पहिरोमा परेका चार जनालाई घाइते अवस्थामा गाउँलेले तत्काल उद्धार गरेको उनले बताए । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।

त्यस्तै महाकाली नगरपालिका–५ धौलीगाड खोलामा बाढी आउँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । महाकाली नगरपालिका–४ मा लास्कु खोलामा आएको बाढीले क्षति पुऱ्याउँदा दुहु र व्यास जाने बाटो बन्द भएको छ ।

बाढी-पहिरो

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully