समुदायमा संक्रमण बुझ्न सर्वेक्षण कहिले ?

सेरो प्रिभिलेन्स सर्वेक्षणबाट कोरोना भाइरसको सम्पर्कमा मानिस कुन हदसम्म आइसकेका छन् भनेर जान्न सहयोग पुग्छ ।

श्रावण ४, २०७७

अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले समुदायमा कोभिड–१९ को संक्रमणको अवस्था पत्ता लगाउन चाहिने ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण अझै सुरु गरेको छैन । यो सर्वेक्षणबाट समाजमा संक्रमण विस्तारबारे आकलन गर्न सकिन्छ । तर सर्वेक्षण कहिले गर्ने भनेर मन्त्रालयले समयसमेत तय गरेको छैन ।

स्वास्थ्य मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का निर्देशक एवं भाइरोलजिस्ट डा. वासुदेव पाण्डेका अनुसार सेरो प्रिभिलेन्स सर्वेक्षणबाट कोरोना भाइरसको सम्पर्कमा मानिस कुन हदसम्म आइसकेका छन् भनेर जान्न सहयोग पुग्छ । यो सर्वेक्षणमा सेरोलजी वा एन्टिबडी परीक्षण गरिन्छ । संक्रमण भएपछि सामान्यतया एक सातादेखि तीन साताभित्र व्यक्ति विशेषमा कोरोनाविरुद्घको एन्टिबडी पत्ता लगाउन सकिन्छ । ‘तर केही व्यक्तिमा एन्टिबडी विकास गर्न तीन साताभन्दा बढी समय लाग्न सक्छ,’ डा. पाण्डेले भने, ‘केही व्यक्तिले त शरीरमा एन्टिबडी विकास गर्न सक्दैनन् । हालसम्म संक्रमणपछि एन्टिबडी कति समयसम्ममा पत्ता लगाउन सकिन्छ भन्ने यकिन छैन ।’

कोभिडविरुद्ध एन्टिबडी भएको व्यक्तिको प्रतिशत अनुमान लगाउन एन्टिबडी परीक्षणको सहयोग लिइन्छ । सर्वेक्षणमा भाग लिने व्यक्तिको सानो संख्याको नमुनाले ठूलो जनसंख्याको प्रतिनिधित्व गर्नेसमेत डा. पाण्डेले बताए । यस्तो सर्वेक्षण हिमाल, पहाड, तराई–मधेसमा समानुपातिक प्रतिनिधित्व हुने गरी सातवटै प्रदेशमा गरिन्छ । ‘सेरो प्रिभिलेन्स सर्वेक्षणबाट समुदाय आधारित समग्र संक्रमणको अवस्था थाहा पाइन्छ,’ ईडीसीडीका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले भने ।

महतोका अनुसार समुदायमा ५–१० प्रतिशत कोभिड संक्रमित छन् भने आगामी दिनमा संक्रमण निरन्तर बढ्दै जान्छ भनेर बुझ्नुपर्छ । संक्रमण ४०–५० प्रतिशतमा गएको छ भने यो उत्कर्षमा जाँदै छ भन्ने बुझिन्छ । ‘संक्रमण ६०–७० प्रतिशतमा पुगेपछि घट्ने अवस्थामा हुन्छ,’ महतोले भने । डा. पाण्डेले तीन वर्षसम्म कोभिड–१९ को नियमित निगरानी गर्ने योजना ईडीसीडीसँग रहेको बताए ।

६६ प्रतिशत संक्रमित निको

मुलुकका संक्रमितमध्ये ६६ दशमलव ५ प्रतिशत निको भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म ११ हजार ६ सय ३७ जना संक्रमित उपचारपछि घर फर्किएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा मात्र १ सय ३ जना निको भएर फर्किएका छन् । हालसम्म १७ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमितमध्ये १४ प्रतिशत महिला र ८६ प्रतिशत पुरुष छन् ।

देशभरिका क्वारेन्टाइनमा २३ हजार २ सय ७५ जना छन् । आइसोलेसनमा ५ हजार ८ सय २५ जना संक्रमितलाई राखिएको छ । संक्रमित शून्य रहेका जिल्ला पाँचथर, धनकुटा, भोजपुर, रसुवा, मनाङ, मुस्ताङ र हुम्ला हुन् ।

कोरोना भाइरस

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully