१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतले विवादित अयोध्या खडा गर्‍यो : प्रधानमन्त्री

'अयोध्या भनेको वीरगन्जदेखि अलि पश्‍चिमको गाउँ हो' 

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका छन् । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका छन् ।

भारतले विवादित अयोध्या खडा गर्‍यो : प्रधानमन्त्री

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले राम पनि भारतीय नभएको र अयोध्या पनि भारतको नभएको बताएका हुन् ।

'हामी अहिले पनि ठानिरहेका छौं हामीले सीता भारतका राजकुमार रामलाई दियौं । भारतका होइन अयोध्याकालाई दिएका हौं हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्यामा भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही (नेपालमा) र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका । त्यसकारण सन्तान (राम) पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन,’ उनले भने ।

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधा बिना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।

उनले भने,'यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन । नजिकै पर्थ्‍यो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् ।'

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए ।

प्रकाशित : असार २९, २०७७ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?