ओलीको बेलगाम बोली- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलीको बेलगाम बोली

अयोध्याबारे भारतमै समेत चर्को विवाद भइरहने पृष्ठभूमिमा नेपालका प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिको कूटनीतिक अर्थ त हुन्छ नै, ओली एकपछि अर्को विवादित वक्तव्यबाजीमा किन लागिरहेका छन्, प्रश्न पनि उठेको छ ।
विद्या र ज्ञानको कुरा दाबी भन्ने हुँदैन, प्रधानमन्त्रीले बोल्दैमा प्रामाणिक हुने कुरा भएन, अयोध्याबारे प्रधानमन्त्रीले बोलेको कुरा प्रामाणिक होइन । –दिनेशराज पन्त, इतिहासविद्
म सबैभन्दा माथि छु र मैले बोलेको नै अन्तिम सत्य हो भन्ने दम्भ कतिपय शासकलाई हुन सक्छ, प्रधानमन्त्रीमा त्यस्तो खालको समस्या धेरै देखिन्छ ।–शिशिर सुब्बा, मनोविद्
बिनु सुवेदी

काठमाडौँ — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २०७५ वैशाख २८ गते नेपाल भ्रमणका लागि पटनाबाट सिधै जनकपुर उत्रिए । यता काठमाडौंबाट प्रधानमन्त्री केपी शर्मा ओलीले जनकपुर पुगेर मोदीको भव्य स्वागत गरे । नागरिक अभिनन्दन भयो, सम्बोधनका क्रममा मोदीले ‘नेपालबिना हाम्रा धाम अधुरा छन्, हाम्रा राम अधुरा छन्’ भने ।

प्रधानमन्त्री ओलीले उनको भव्य प्रशंसा गरे । राम–सीता, जनकपुरको ऐतिहासिक महत्त्व दर्शाउँदै भारत र नेपालको सांस्कृतिक, धार्मिक सम्बन्धको चर्चा गरे । त्यही समारोहमा प्रधानमन्त्री ओली र समकक्षी मोदीले ‘जनकपुर–अयोध्यामैत्री बस सेवा’ सुरुवात गरे । रामायण सर्किटको घोषणा गरे । राम–सीता, अयोध्या, जनकपुरको सांस्कृतिक र धार्मिक सम्बन्ध दर्शाउनका लागि भएको त्यो भ्रमणका बेला प्रधानमन्त्री ओलीको मन्तव्य विगतका प्रमाण र मान्यतामै आधारित थिए ।

दुई वर्षपछि मंगलबार भानु जयन्तीका अवसरमा भने प्रधानमन्त्री ओलीले राम र अयोध्याबारे अप्रमाणित कुरा बोलिदिए । भारतको अयोध्याको अस्तित्वमाथि प्रश्न उठाइदिए । अयोध्या नेपालमै पर्छ भन्ने अभिव्यक्ति दिए । जुन अभिव्यक्तिले नेपाल र भारतको सांस्कृतिक, धार्मिक सम्बन्धको पुरानो मान्यतालाई नै विवादित बनाइदिएको छ ।

नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरूमा पनि अतिक्रमण भइरहेको भन्दै ओलीले अयोध्याबारे नयाँ तर्क प्रस्तुत गरेका हुन् । ओलीको दाबीअनुसार राम जन्मिएको अयोध्या चितवनको ठोरीमा छ । अयोध्याबारे भारतमै समेत चर्को विवाद भइरहने पृष्ठभूमिमा नेपालका प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिको कूटनीतिक अर्थ त हुन्छ नै, ओली एकपछि अर्को विवादित वक्तव्यबाजीमा किन लागिरहेका छन्, प्रश्न पनि उठेको छ । उनी पक्षीय नेता/कार्यकर्ताले सामाजिक सञ्जालमा ओलीको बचाउ गरेका छन् । अरूले पद र कुर्सीको मर्यादा नराखी जे पनि बोल्न थालेको भन्दै अब ओलीलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् ।

नेकपाका उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री ओलीले दुई वर्षअघि पनि रामको जन्मस्थलबारे चर्चा गरेको र आफूले तथ्य र प्रमाणबिना नबोल्न सुझाव दिएको बताउँछन् । ‘हामी कम्युनिस्टहरू धर्मनिरपेक्ष हुन चाहन्छौं,’ गौतमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिएको मन्तव्यबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न भएको छ, त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिएर जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्छु ।’

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने काल्पनिक कथाका पात्रबारे कुरा गरेर ओलीले विवाद मात्रै खडा गरेको बताउँछन् । ‘पहिलेदेखि नै यस्तै–यस्तै गफ गर्ने बानीको हुनुहुन्थ्यो, अहिले झन् बढेछ,’ न्यौपानेले भने, ‘तर चिया खाँदा हुने गफ गम्भीर नहोलान्, साथीभाइसँग हँस्यौली ठट्यौली पनि हुन सक्छ, तर मञ्चबाट बोल्ने कुरा के हो, म कहाँ बोल्दै छु भन्ने त हेक्का राख्नुपर्छ नि ।’ उनले यस्तो प्रवृत्तिले नेतालाई मात्रै नभएर सिंगो पार्टी, सरकार र देशलाई नै हानि गर्ने बताए ।

०७२ सालमा संविधान जारी हुने बेलादेखि नै ओलीको भारतीय संस्थापनसँगको सम्बन्ध तीतो भएको थियो । उनको पहिलो शासनकाल भारतले नेपालविरुद्ध नाकाबन्दी लगाएकै बेला सुरु भएको थियो । यसै पनि भूकम्पले थिलथिलो भएका बेला छिमेकी मुलुकप्रति भारतले गरेको उक्त व्यवहार नेपाली कसैले पनि बिर्सिन सक्दैनन् । दक्षिणी सीमानाकामा नागरिकले भारतीय पक्षबाट बेहोर्ने दु:ख र हप्कीदप्कीको सीमा छैन । कालापानीमा बसेको भारतीय फौज वर्षौंदेखि हटेको छैन । सुस्तादेखि लिम्पियाधुरासम्म भारतले मिचेको नेपाली भूमि फिर्ताका लागि उल्लेख्य कूटनीतिक पहल भएकै छैन । यस्तो बेला भारतीय प्रवृत्तिविरुद्ध बोल्न ओलीसित जति पनि विषय थिए । तर कम्युनिस्ट पार्टीका प्रधानमन्त्री ओलीले रामको काल्पनिक चरित्रबारे बोलेर विवाद मात्रै सिर्जना गर्न खोजेको नेताहरूको भनाइ छ । तत्कालीन एमालेका पुराना नेता मोदनाथ प्रश्रित ओलीले प्रधानमन्त्रीको कुर्सीमा बसेर यस्ता भनाइ राख्दा विचार पुर्‍याउनुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य प्रदीप नेपाल भने ओलीले अध्ययन गरेरै पुराना पौराणिक तर्क र तथ्यका आधारमा उक्त धारणा राखेको हुन सक्ने तर्क गर्छन् । ‘हुन त केपी धेरै उडन्ते गफ गर्ने मान्छे हुन्,’ नेपालले कान्तिपुरसँग भने, ‘तर अयोध्या ठोरीकै आसपास छ भन्ने कुरा उनले कतै अध्ययन गरेकै आधारमा भनेको हुनुपर्छ ।’ केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ पनि नेपालमै जन्मिएका रामलाई नेपाली भन्दा केही नेपाली बरबराएको टिप्पणी गर्छन् ।

नेकपा विदेश विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य विष्णु रिजाल भने प्रधानमन्त्रीको टिप्पणीलाई परिपक्व मान्दैनन् । ‘दुई खालका विश्व दृष्टिकोण छन्– पहिलो, ऐतिहासिक, भौतिक र अर्काे अध्यात्मवादी दृष्टिकोण । कम्युनिस्ट पार्टीहरू पहिलो दृष्टिकोणमा विश्वास गर्छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले बोलेको कुरा पार्टीको नीति र ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार मिल्दैन । उहाँले कुन खोज र अनुसन्धानबाट त्यस्तो नयाँ कुरा पत्ता लगाउनुभयो, थाहा छैन ।’

इतिहासविद् एवं प्रज्ञा प्रतिष्ठानका सदस्य दिनेशराज पन्त प्रधानमन्त्री ओलीले अप्रामाणिक विषयमा अभिव्यक्ति दिएको बताउँछन् । ‘विद्या र ज्ञानको कुरा दाबी भन्ने हुँदैन, प्रधानमन्त्रीले बोल्दैमा प्रामाणिक हुने कुरा भएन, अयोध्याबारे प्रधानमन्त्रीले बोलेको कुरा प्रामाणिक होइन,’ पन्तले कान्तिपुरसँग भने ।

राजनीतिमा ४२ वर्षको जीवन गुजारेपछि ओलीले पहिलोपटक ०७१ मा पार्टीको नेतृत्व पाएका थिए । तत्कालीन एमालेमा उनी लामो समय पार्टीभित्रैको ‘प्रतिपक्षी’ का रूपमा रहे । त्यसैले ओलीमा समकालीन अरू नेताभन्दा अलि चर्को मत राख्ने बानी विकास भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् । पार्टी नेतृत्वमै आएको सात वर्षमा दुईपटकसम्म प्रधानमन्त्री भएका ओलीले त्यो शैली सुधारेनन् । सरकारमा बसेर पनि उनी सरकारको नेतृत्वकर्ता कम, प्रतिपक्षीजस्तो बढी देखिएको टिप्पणी उनकै पार्टीभित्र छ ।

गत असार १४ गते मदन जयन्तीका अवसरमा ओलीले भारतले आफूलाई सत्ताच्युत गर्न लागेको र त्यसमा नेपालकै नेताहरूको समेत संलग्नता रहेको बताएपछि ओली स्वयंलाई अप्ठ्यारो भयो । उनले कुनै तथ्य प्रस्तुत नगरी अप्रमाणित कुरा फ्याट्ट बोलिदिएका थिए । गत जेठ ६ गते संसद्को रोस्ट्रमबाटै प्रधानमन्त्री ओलीले भारतीय नीति ‘सत्यमेव जयते हो कि सिंहमेव जयते हो ?’ भनेर प्रश्न गरेका थिए । यस्ता कुरा बोल्दा त्यसको संवेदनशीलता के हुन्छ, प्रधानमन्त्रीको कुर्सीबाट बोल्न मिल्छ कि मिल्दैन भन्ने ओलीले ख्याल गरेनन् ।

पूर्वपरराष्ट्र सचिव एवं कूटनीतिज्ञ मदन भट्टराई परराष्ट्र मामिलामा शान्त कूटनीति अपनाउँदा नै देशलाई फाइदा हुने बताउँछन् । ‘कतिपय परराष्ट्र मामिलामा कि शान्त कूटनीति अपनाउनुपर्छ, नत्र एकदम कम मात्रै बोल्नुपर्छ,’ उनले भने, ‘हाम्रोमा चाहिँ ठीक फरक छ, पुतला जलाउने, नारा लगाउने, होहल्ला गर्ने कुरामा विश्वास गर्छौं ।’

प्रधानमन्त्री ओली के बोल्ने, नबोल्ने ख्याल गर्दैनन् । जस्तो– यो बीचमा उनले राष्ट्रपतिमाथि महाअभियोग लगाउने तयारी भइरहेको बताए । संसद्बाट कोरोना संक्रमणबारे जोगिन बेसारको उपयोगिताबारे बोले । बेसार भाषणले कूटनीतिमा त खास असर पार्ने कुरा भएन, तर मेडिकल क्षेत्रमा चर्काे आलोचना भएको थियो । ओलीका यस्ता विवादास्पद अभिव्यक्तिलाई सिलसिलेवार रूपमा उल्लेख गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘अब ओलीलाई छाडा छोड्नु खतरनाक’ हुने टिप्पणी गरेका छन् ।

ओलीको अभिव्यक्तिलाई सुरु–सुरुमा नागरिकले मजाकका रूपमा लिन्थे, बिस्तारै गम्भीर रूपमा लिएर त्यसबारे प्रतिक्रिया जनाउन थाले । पार्टीभित्रैका नेताहरू उनको बोल्ने शैलीबाट पहिलेदेखि नै हायलकायल छन् । यतिसम्म कि उपचारका लागि पोहोर भदौमा सिंगापुर जाँदै गर्दा आफ्नै पार्टीका वरिष्ठ नेता माधव नेपालले दिएको शुभकामनासमेत उनले लिएनन् । नेपाललाई फ्याट्ट जवाफ फर्काए, ‘बरु तपाईं मलाई मरोस् भनेर कामना गरिरहनुभएको छ ।’ यस्तै बोलीसमेतका कारण हाल ओलीको नेपालसँग सम्बन्ध राम्रो छैन । वचन लगाएका कारण आफ्नै क्याविनेटका कतिपय मन्त्रीहरू उनीसँग बोल्नै सक्दैनन् ।

ओलीको बोली किन यस्तो त ? मनोविद् शिशिर सुब्बाको अनुभवमा दुई कारणले मान्छे जथाभावी बोल्न थाल्छ– पहिलो, ऊ एकदम धेरै दबाबमा परेपछि जे पनि बोल्न थाल्छ, दोस्रो, दम्भ हुन्छ । ‘प्रधानमन्त्रीजीलाई सरकार र पार्टीमा पनि दबाब होला, राजीनामा मागिरेहका हुन्छन्, आलोचना भइरहेको हुन्छ, मिडियाबाट उस्तै आलोचना हुन्छ, त्यो सबै कुराले स्ट्रेस भएपछि त्यसरी बोल्नुभएको होला,’ सुब्बाले कान्तिपुरसँग भने, ‘अर्को म सबैभन्दा माथि छु र मैले बोलेको नै अन्तिम सत्य हो भन्ने दम्भ पनि कतिपय शासकमा हुन सक्छ, प्रधानमन्त्रीमा त्यस्तो खालको समस्या धेरै देखिन्छ ।’

तर व्यक्तिगत जीवन र सार्वजनिक पदलाई एकै ठाउँमा राख्न नहुने भनाइ उनको छ । ‘चिन्ता हुँदा सबै मान्छेको सोच्ने र बोल्ने तरिकामा फरक आउने गर्दछ,’ सुब्बाले भने, ‘तर त्यो पोस्टमा बसेको मान्छे नियन्त्रित हुनैपर्छ । व्यक्तिगत रूपमा सोचेको कुरा सार्वजनिक रूपमा बोल्दा कस्तो असर पर्छ भनेर सोच्नै पर्छ ।’

प्रकाशित : असार ३१, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्

म्याग्दीको पहिरो प्रभावित क्षेत्रमा न फोन  न बिजुली

घनश्याम खड्का

म्याग्दी — बाढीपहिरोबाट स्थलमार्गको सम्पर्क टुटेको धौलागिरि र मालिका गाउँपालिकामा सञ्चारसम्पर्क पनि विच्छेद भएको छ । पहिरोको कारण विद्युत् सेवा बन्द भएको र खराब मौसमले सोलार ब्याट्री पनि चार्ज नहुँदा टेलिकमका रिपिटर स्टेसनमा ‘पावर ब्याकअप’ सकिएर सञ्चारसम्पर्क टुटेको हो ।

नेपाल टेलिकम बेनी कार्यालयका अनुसार शुक्रबारदेखि मंगला गाउँपालिकाको बाबियाचौर, मालिकाको रुन्मा, धौलागिरिको ताकम र मुनास्थित रिपिटर स्टेसनमा विद्युत् आपूर्ति बन्द छ । ‘ब्याकअप पावरले केही समय त काम गर्‍यो तर बादल लागेकोले सोलार ब्याट्री पनि चार्ज हुन नपाएकाले सञ्चार विच्छेद भएको हो,’ टेलिकम प्रमुख विष्णुदेव साहले भने, ‘घाम राम्रो लागेर सोलार चार्ज भए केही समय चल्छ । तर मोबाइल टावरलाई बढी विद्युत् चाहिने भएकोले लामो समय थेग्न सक्दैन ।’

बेनीदेखि पश्चिम दरवाङ हुँदै बिम, ताकम, मुना क्षेत्रमा वितरित केन्द्रीय प्रसारण लाइनमा समस्या आएपछि शुक्रबारदेखि मालिका र धौलागिरि गाउँपालिकाभरि विद्युत् सेवा अवरुद्ध छ । मर्मतपछि मंगलबार दिउँसो ३ बजेतिर मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरसम्म भने विद्युत् आपूर्ति भएको छ । त्यस स्थानमाथि दरवाङसम्म सेवा सञ्चालन गर्न ‘ठाउँठाउँमा जम्पर काट्दै विद्युत् पठाएर खराबी खोजिरहेको’ बेनीस्थित विद्युत् प्राधिकरणको कार्यालयले जनाएको छ । सडक सहज नहुँदा ‘विद्युत् फल्ट (खराबी)’ खोज्नै समस्या भइरहेको प्राविधिकहरु बताउँछन् । दरवाङमाथिको सडक पूर्णरूपमा अवरुद्ध भएकोले सेवा सुचारु गर्न समस्या थपिएको प्राधिकरणको भनाइ छ ।

यसैबीच, पहिरो प्रभावित क्षेत्रमा सडक र पैदलमार्गसमेत अवरुद्ध भएपछि सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिकाको पाखापानी, भेडीखाल्टा, मल्कवाङ, मलम्पार हुँदै लेकको बाटो मराङसम्म राहत पुर्‍याउने प्रयास भइरहेको छ । पहिरोबाट विस्थापितहरु दुई दिन लाग्ने सोही घुमाउरो बाटो हिँड्दै आफन्त खोज्दै सदरमुकाम क्षेत्र आउन थालेका छन् ।

गत बिहीबार रातिको बाढीपहिरोका कारण दुर्गम धौलागिरि गाउँपालिकामा १९ र मालिका गाउँपालिकामा ८ जनाको मृत्यु भएको थियो । दुवै पालिकाका २/२ जना बेपत्ता छन् । ७ सय ५० जनाभन्दा बढी विस्थापित भएका छन् । सडक क्षतविक्षत भएका कारण पीडितहरु समक्षा अझै राहत पुर्‍याउन सकिएको छैन । उनीहरुलाई गुम्बा, विद्यालय, सामाजिक भवन, आफन्त र छिमेकीकहाँ राखिएको छ । पीडितहरुलाई पहिरोबाट जोगिएका स्थानीय पसल र छिमेकबाट खाद्यान्न जुटाइरहेको मालिका गाउँपालिकाकी उपाध्यक्ष थरमाया बिडालुले बताइन् ।

प्रकाशित : असार ३१, २०७७ ०७:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×