प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिको नेकपा नेताहरुबाट आलोचना

वामदेवले प्रधानमन्त्रीलाई दिए आत्मालोचना गर्न सुझाव

काठमाडौँ — नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मको विषयमा सोमबार दिएको अभिव्यक्ति सच्चाउन र जनतासमक्ष आत्मालोचना गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले राम जन्मभूमिबारे दिएको अभिव्यक्तिको नेकपा नेताहरुबाट आलोचना

प्रधानमन्त्री ओलीले राम नेपालमा जन्मेको र भारतले नक्कली अयोध्या खडा गरेको भन्ने अभिव्यक्तिले राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको भन्दै गौतमले ओलीलाई आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्न फेसबुकमा सुझाव दिएका हुन् ।

यस्तो छ गौतमले प्रधानमन्त्रीलाई दिएको सुझाव–

राम जन्मभूमि र विवाद
नेपालका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष क. केपी शर्मा ओलीले हिजो अर्थात असार २९ गते कुनै कार्यक्रममा राम जन्मभूमि नेपालको पर्सा जिल्लामा पर्छ भन्दै दिनुभएको मन्तव्यले नेपाल र भारतमा अत्यन्त तिखो प्रतिक्रिया उत्पन्न गरेको छ । आजभन्दा दुई वर्ष पहिले उहाँलाई भेट्न म बालुवाटार गएका बखत यो विषय बारे चर्चा गर्नुभएको थियो । मैले उहाँलाई यस सम्बन्धमा आफूले अध्ययन गरेका कतिपय सन्दर्भ सामाग्री उल्लेख गर्दै बिना अनुसन्धान, बिना तथ्य प्रमाण यस्तो विषयलाई तपाईंले कहीँ कतै व्यक्त नगर्न भन्दै सल्लाह पनि दिएको थिएँ । मलाई यस विषयमा उहाँले कहीँ न कहीँ सार्वजनिक गरिहाल्नु हुन्छ कि भन्ने शंका पनि लागेको थियो । नभन्दै हिजो तथ्य प्रमाण बिना त्यसलाई सार्वजनिक गरेरै छोड्नुभयो ।

क. केपी ओली अहिले मुलुकको प्रधानमन्त्री हुनुहुन्छ र सत्ताधारी पार्टीको अध्यक्ष पनि हुनुुहुन्छ । अहिले उहाँले चाहँदा सबै पक्षबाट अनुसन्धान गर्न, तथ्यहरु जुटाउन, आएका अनुमानहरुको तथ्यसंगत विश्लेषण गर्न चाहिने साधनस्रोत जुटाउन सक्ने अवस्थामा हुनुहुन्छ । उहाँले उठाउनु भएको विषय सबै पक्षबाट तथ्य र तर्कसंगत सावित भएको अवस्थामा प्रधानमन्त्रीले हैन इतिहासकारहरुले सार्वजनिक गर्नुपर्दथ्यो ।

भगवान रामको जन्म जहाँ भए पनि यथार्थवादी कम्युनिष्टहरुका निम्ति केही फरक पर्दैन । रामका भक्तहरु नेपाल र भारतमा ठूलो संख्यामा रहेका छन् । यथार्थवादी भएका नाताले इतिहास प्रति हामी कम्युनिष्टहरुले अन्याय गर्न सक्दैनौं । नेपालको इतिहास निर्माणमा योगदान गर्ने महापुरुषहरुको नेपाल रहँदासम्म प्रशंसा गरिरहिने छ ।

संसारमा धेरै धर्महरु छन्, धेरै धार्मिक सम्प्रदायहरु छन् र तिनका अनुयायीहरु करोडौंको संख्यामा रहेका छन् । उनीहरुको धार्मिक आस्थामा चोट पुर्‍याउने क्रियाकलाप गर्न कसैले हुँदैन । त्यसैगरी कुनै पनि धार्मिक संरचनालाई प्रयोग गरेर नत राष्ट्रले न समुदायले न कुनै व्यक्तिले आफ्नो स्वार्थ पुरा गर्ने दुश्कर्म गर्न हुन्न । यस अर्थमा हामी कम्युनिष्टहरु धर्म निरपेक्ष हुन चाहन्छौं ।

राम जन्मभूमिका सम्बन्धमा प्रधानमन्त्रीले दिनुभएको मन्तव्यबाट जुन राष्ट्रिय र अन्तर्राष्ट्रिय विवाद उत्पन्न गरेको छ त्यसको व्यापकतालाई ध्यानमा राख्दै उहाँले आफ्नो मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नु म उपयुक्त ठान्दछु । साथै प्राविधिक तथा इतिहासविद्हरुको टोली बनाई तत्सम्बन्धमा अनुसन्धान र तथ्य संकलनमा लाग्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष क.केपी ओलीलाई विनम्र अनुरोध पनि गर्दछु ।

यस्तै नेकपाका प्रवक्ता तथा राष्ट्रिय सभाका सांसद नारायणकाजी श्रेष्ठले पनि ट्वीट गर्दै आलोचनात्मक चेत बिना, तथ्य नहेरी, तात्कालिक क्षणिक स्वार्थमा आधारित भएर जे पनि भन्ने र प्रचार गर्ने प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । उनले ट्वीटमा प्रधानमन्त्री ओलीको नाम भने उल्लेख गरेका छैनन् । तर, यो ट्वीट भने ओलीको विवादास्पद अभिव्यक्ति आएपछि लेखेका हुन् ।

नेकपा नेता भीम रावलले सीमा विवादमा भारतसँग बहस गर्नुपर्ने बेला अयोध्याबारे बहस गरेको भन्दै ओलीको आलोचना गरेका छन् । मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्– 'यो बेला सीमा क्षेत्र मिचिएको, तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने विषय उठाई भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ? विषयान्तर किन ? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो ?’

प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा सोमबार नेपाल सांस्कृतिक हिसाबले थिचिएको र तथ्यहरुमा अतिक्रमण भएको बताएका थिए । उनले भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्‍जदेखि पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर नेपाल र भारतमा चर्को विरोध भएको छ ।

प्रकाशित : असार ३०, २०७७ १६:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?