सेती नदीको बाढीले ४२ घरका १६२ जना विस्थापित

असार २६, २०७७

सम्झना रसाइली

तनहुँ — बिहीबार रातिदेखि परेको वर्षासँगै सेती नदीमा आएको बाढीले जिल्लाको शुक्लागण्डकी नगरपालिकाका ४२ घर विस्थापित भएका छन् । शुक्लागण्डकी–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार वडा ४ का १४ र वडा ८ का २८ घर जोखिममा परेपछि उनीहरुलाई सुरक्षितस्थलमा सारिएको छ ।

‘बाढीबाट प्रभावित ४२ घरधुरीका १ सय ६२ जनालाई उद्धार गरिएको छ’, उनले भने, ‘बाढीले बस्तीमा क्षति पुऱ्याउने देखिएकाले स्थानीयलाई सुरक्षित रुपमा स्थानीय आदर्श समाजको भवन तथा अन्य स्थानमा व्यवस्थापन गरेका छौं ।’

दुवै वडाको यो क्षेत्र पुर्जा नभएको जमिन रहेको र धेरै वर्षअगाडिदेखि नै जोखिमयुक्त ठाउँ घोषणा गरिएको नगरप्रमुख किसान गुरुङले बताए । ‘जोखिमयुक्त क्षेत्र भनिए पनि स्थानीय बसोबास गर्दै आएको र बर्सेनि यो समस्याबाट गुज्रिनु परेको छ’, उनले भने, ‘अहिले उहाँहरुलाई सुरक्षित स्थानमा व्यवस्थापन गरेका छौं ।’ 

यस्तै, बाढीले मानवीय क्षति नभए पनि कुखुरा, पशुचौपाया भने बगाएको छ । यस क्षेत्रको सेती नदी किनारमा बसोवास गर्दै आएकाहरु शुक्रबार बिहान करिब ४ बजेको समय तिर सेती नदीमा अचानक बाढी आउन थालेपछि घर छाडेर भागेका थिए । यहाँका केही बाढी प्रभावितहरुले घरमा रहेका सामाग्री निकाले पनि अधिकांशले घरबाट कुनै पनि सामाग्री निकाल्न नसकेका बताएका छन् । 


बाढी-पहिरो

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully