सिन्धुपाल्चोक — अविरल वर्षापछि भोटेकोसी गाउँपालिका वडा नम्बर–३ स्थित लार्चामा खोलाले एक स्थानीयलाई बगाएको छ । शुक्रबार बिहान ८ बजेतिर एक जना युवकलाई लाचाए खोलाले बगाएको गाउँपालिका अध्यक्ष राजकुमार पौडलले जानकारी दिए । उनको पहिचान खुलेको छैन ।
बाढीपहिरोले सिन्धुपाल्चोकको नदीकिनारमा रहेका बस्तीहरुमा ठूलो क्षति पुऱ्याएको छ । भोटेकोसी गाउँपालिकाको लिस्तीकोटको सबैभन्दा पुरानो पाउँगुम्बा र दर्जनौं सडक पुरिएको अध्यक्ष पौडेलले बताए ।
भोटेकोसी नदीमा पानीको बहाव उच्च भएपछि बाह्रबिसे बजारका बासिन्दा सडकभन्दा माथि सुरक्षित स्थानमा बसिरहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानले जानकारी दिए । ‘बाह्रबिसे इलाका प्रहरी कार्यालयको शौचालय, भान्छालगायतका र घरको केही भागमा क्षति पुऱ्याएकाले हामी पनि सुरक्षित स्थानमा सरिरहेका छौं,’ प्रहरी निरीक्षक न्यौपानले भने । बुधबार राति बेपत्ता भएका २० जनाको खोजी भइरहेको पनि उनले बताए ।
यसैबीच बेपत्ता २० जना र दुई जना मृतकका परिवारलाई बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाले प्रतिपरिवार एक लाख दिने निर्णय गरेका छन् ।
