कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिन्धुपाल्चोकमा बाढीको वितण्डा

भोटेकोसीमा २० जना बेपत्ता, २ को शव भेटियो, बाढीले ३६ घर बगायो
अनिश तिवारी

काठमाडौँ — भोटेकोसी नदीमा बुधबार राति आएको बाढीले बगाउँदा बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकाका दुई जनाको मृत्यु भएको छ । भारी वर्षासँगै उर्लिएका काभ्रे र एल्मो ठाडो खोलाको भेल मिसिएपछि भोटेकोसीले ३६ वटा घर बगाएको छ । घटनामा २० जना बेपत्ता र ७ जना घाइते छन् ।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा

भोटेकोसीको बाढीले बाह्रबिसे–५ गातीको जम्बु बजारका १४ र खाग्दलका २० वटा घर बगाएको हो । घरसँगै बगेका जम्बुका १६ जना बेपत्ता छन् । ठाडो बल्कुर्टे खोलाले भोटेकोसी–५ बल्कुर्टेका दुईवटा घर बगाउँदा एकै परिवारका चार जना बेपत्ता छन् । जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरी निहाना बस्नेतको शव फेला परेको छ । अझै २० जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी माधवप्रसाद काफ्लेले बताए । बेपत्ताको सेना, प्रहरी र स्थानीयले खोजी गरिरहेका छन् ।

जम्बुका ३ र बल्कुर्टेका २ जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । जम्बुकै अन्य दुई घाइतेको अवस्था सामान्य रहेको काफ्लेले बताए । काठमाडौं लगिएका घाइतेहरूको टाउको, खुट्टा र हातमा चोट लागेको र दुई जनाको अवस्था गम्भीर रहेको काफ्लेले बताए ।

वर्षासँगै बढेको भोटेकोसीले तटीय क्षेत्रमा रहेका जम्बु र शिरीषे खाग्दल बजारमा कटान गरेको थियो । घर, सम्पत्तिसँगै आफन्तसमेत बगेपछि स्थानीय विह्वल भएका छन् । जम्बुका प्रकाश तामाङका श्रीमती र छोरा घरसँगै बाढीमा बेपत्ता भएका छन् । ‘अब के गर्ने र नगर्ने सोच्नै सकेको छैन, न आफ्ना रहे न सम्पत्ति,’ उनले भने, ‘खोलाले हाम्रो सर्वस्व लुट्यो, अब कहाँ जाने ?’

बाढीले घर बगेका परिवारको बिहीबार साँझसम्म बिचल्ली छ । सुरक्षा निकायलगायतका संयन्त्र उद्धारमा जुटे पनि राहत तथा अन्य व्यवस्थापन हुन सकेको छैन । अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मका सबै सडक र पुल बाढीले बगाएकाले जनजीवन अस्तव्यस्त बनेको छ । ‘सबै कुरा बगायो, हामी त बेसहाराजस्तै भएका छौं, यहाँबाट न बाह्रबिसे जान सकिन्छ न जम्बुपारि,’ खाग्दल बजारका सुवास श्रेष्ठले भने ।

यातायात सम्पर्क टुटेपछि माथिल्लो गाउँको बाटो हुँदै स्थानीय र अन्य सहयोगीले खाद्यान्न सामग्री पुर्‍याइरहेको इलाका प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए । ‘जम्बुलगायतका तातोपानी क्षेत्र पुग्न मानेश्वाराको बाटो जानुपर्ने हुन्छ, त्यहाँबाट आउजाउमा ३ घण्टा लाग्छ,’ उनले भने । त्यहाँ पुग्न सडक सहज नभएसम्म स्थानीयले कष्ट भोग्नुपर्ने अवस्था रहेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले विस्थापितलाई सुरक्षित स्थानमा लगिएको र जनप्रतिनिधिले खाद्यान्नलगायतको व्यवस्थापन गरिरहेको बताए । घटनास्थलमा बिहीबार सभामुख अग्नि सापकोटा, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलाल, पर्यटन तथा वनमन्त्री अरुण नेपाललगायत हेलिकप्टरमा पुगेका थिए ।

‘आँखै अगाडि परिवार गुमाएँ’

–फुर्पा तामाङ, भोटेकोसी–५ बर्कुटे

बल्कुर्टेमा दुई घर मात्रै छन् । त्यसमध्येको एउटामा बुधबार राति म सुतिरहेको थिएँ तर निद्रा परेको थिएन । बेलाबेला उठ्दै, बाहिर हेर्दै गरिरहेको थिएँ । परिवारका सबै जना एउटै कोठामा सुतिरहेका थियौं । राति साढे २ बजे एक्कासि घर र कोठा हल्लिन थाल्यो ।

म आत्तिएर अलमलमा परें । यताउता हेर्न थालें । ७४ वर्षका मेरा बुबा निमा दोर्जेसँगै १२ वर्षको छोरो पनि सुतेको थियो । श्रीमती मञ्जु छेउमै थिइन् । सँगै दाइको छोरो पासाङ थियो । हेर्दाहेर्दै घरको छाना र दलिन भत्कियो र हामीलाई थिच्यो । म निसास्सिएर चिच्याएँ । ईश्वरलाई पुकारें । हेर्दाहेर्दै जताततै पानीले ढाक्यो । त्यतिबेलासम्म श्रीमती, बुबा र छोरा कोही थिएनन् । मलाई बाढीले छेउमा लगेर अड्काएपछि बलियो गरी घरको काठ समातें र बिस्तारै निस्किएँ । अरूलाई गुहारेर बोलाएँ । आँखै अगाडि परिवारलाई गुमाएँ ।

प्रकाशित : असार २६, २०७७ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?