अम्कोट,बाजुरा — बाजुराको साँफे-मार्तडी सडकअन्तर्गत बुढीगंगा नगरपालिका १ मा पर्ने अम्कोट-द्वारी खण्ड बाढीले बगाउँदा सयौं यात्रु अलपत्र परेका छन् ।
पहिरोसँगै बुढीगंगा नदीमा आएको बाढीले सडकको दुवैतिरबाट कटान गरेपछि सडक खण्ड बाढीले बगाएको छ । घटनास्थल साँफे बगरबाट ४० किलोमिटर माथि र सदरमुकाम मार्तडीबाट १३ किलोमिटर तल पर्छ ।
३ दिनअघि खसेको पहिरोले बुढीगंगा नदी थुनिएको थियो । दुवैतर्फबाट नदी कटान हुन थालेपछि सडक बगाएको बाजुरका प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताए । अविरल वर्षासँगै आएको बाढीका कारण ताप्रीसेरामा रहेको झोलुंगे पुल पनि नदीले डुबाएको छ । बाढीले एउटा घर बगाएको प्रजिअ गैरेले बताए ।
