बदलियो ‘बादल’ को बोली !

बबिता शर्मा

काठमाडौँ — पार्टीभित्रको झगडाबारे सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’का एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिको सत्तारुढ दल नेकपामा चर्चा परिचर्चा छ । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट केपी शर्मा ओली हटाउन केही दिनदेखि नेकपामा ओलीविरोधी खेमाका बैठक र भेलामा सहभागी थापाले मंगलबार भने ठीकविपरीत अभिव्यक्ति दिएका छन् ।

बदलियो ‘बादल’ को बोली !

गृहमन्त्रीसमेत रहेका थापाका दुई परस्परविरोधी अभिव्यक्तिले नेकपाभित्र चर्किएको सत्ता संघर्षलाई थप रहस्यमयी बनाएको केही नेताहरुको भनाइ छ । तर, मिडिया रिपोर्टमा एक साताको अन्तरमा आएका परस्परविरोधी अभिव्यक्तिबारे थापाको चाहिँ कुनै प्रतिक्रिया आएका छैनन् ।

नेकपाको सत्ता संघर्ष र विवादबारे थापाले असार १७ र २३ मा दिएका अभिव्यक्तिले उनको भनाइमा देखिएको अन्तर दर्शाउँछ । १७ असारमा झम्सिखेलमा नेकपाको ओलीविरोधी समूहको भेलामा थापा सहभागी थिए । उनीबाहेक भेलामा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहित क्रमशः झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । सचिवालयका ६ जना नेताबाहेक स्थायी कमिटीका अरु २४ नेता पनि भेलामा थिए ।

भेलामा गृहमन्त्री थापाले सरकार र पार्टी नेतृत्वबाट ओलीलाई नहटाए देशमा प्रतिक्रान्ति हुने सुनाएका थिए । १० असारबाट सुरु भएको स्थायी कमिटी बैठकमा थापा सरकार बचाउने वा गिराउने कुन पक्षमा लाग्छन् भन्ने चासो भइरहेका बेला झम्सिखेल भेलामार्फत उनले आफ्नो कित्ता स्पष्ट पारेका थिए । त्यस दिन थापाले अब ओलीबाट देश र पार्टी चल्न नसक्ने निष्कर्ष सुनाएका थिए ।

त्यसदिन थापाले भनेका थिए–‘समाजवादी आन्दोलनलाई अगाडि बढाउन र उपलब्धि जोगाउन अहिलेको सरकारको नेतृत्वबाट सम्भव छैन अब बदल्नुपर्छ । अहिले प्रतिक्रान्तिका विरुद्ध क्रान्ति र दलाल पुँजीवादका विरुद्ध समाजवादको लडाइँ चलेको छ । त्यसैले पार्टी र सरकारमा नयाँ नेतृत्व ल्याउनुपर्छ ।’

जबकी असार १६ को स्थायी कमिटी बैठकमा अध्यक्ष दाहाल, वरिष्ठद्वय नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र सचिवालय सदस्य श्रेष्ठसहित १७ जनाले प्रधानमन्त्रीको राजीनामा मागे पनि बादल बोलेका थिएनन् । त्यसको भोलिपल्ट उनी ललितपुरमा भएको दाहाल–नेपाल समूहका नेताको भेलामा सहभागी भएर ओलीको राजीनामा मागेका थिए ।

यहीबीचमा शुक्रबार अर्थात् असार १९ सम्म आउँदा नेकपाको शक्ति संघर्षमा नयाँ मोड आयो । यस दिन प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई बालुवाटार बोलाए । अनि आफूलाई दुवै पदबाट हटाउने र राष्ट्रपतिलाई महाभियोग लगाउने षड्यन्त्र भएको सुनाए । योसँगै प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई सिधासिधा भने–‘गम्भीर षड्यन्त्र भएको छ, तपाईंहरु सरकारको पक्षमा हो वा विपक्षीमा अब कित्ता स्पष्ट पार्नुस् ।’

त्यसपछि पनि दाहाल, खनाल, नेपाल, गौतम, श्रेष्ठ र थापाबीच दाहाल निवासमा पटक–पटक छलफल भए । तर, मंगलबार असार २३ मा आफूलाई भेट्न पुगेका ओली निकट नेताहरुसँग भने थापाले असार १७ को भन्दा विल्कुलै फरक भनाइ राखे । उनले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताए । राष्ट्रिय सभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईसहितका केही सांसदसँगको भेटमा थापाले सरकार र पार्टी दुवैतिर नेतृत्व परिवर्तनले पार्टी एकताको भावना भत्किने र प्रतिक्रान्ति हुने धारणा राखे । भेटपछि प्रमुख सचेतक भट्टराईले थापाले पार्टी र सरकारको नेतृत्व परिवर्तन गर्दा प्रतिक्रान्ति निम्तिने भएकाले सरकार गिराउन नहुने र पार्टी नेतृत्व पनि परिवर्तन गर्न नहुने धारणा राखेको बताए ।

‘कुनै नेतालाई निषेध गरेर जानु हुँदैन । अहिले पार्टी नेतृत्वलाई विस्थापित गर्दा प्रतिक्रान्तिकारीहरु अगाडि आउँछन्, उनीहरुले जित्ने स्थिति हुन्छ । त्यसकारण पार्टी एकतालाई थप सुदृढ गरेर जाने हो, समस्या पैदा गर्ने हैन । मंसीर ४ मा जे समझदारी भएको थियो, त्यो समझदारीलाई थप व्याख्या गरेर अगाडि बढ्दा भइहाल्छ । अहिलेको समाधान त्यही हो भनेर उहाँले स्पष्ट रुपमा भन्नु भयो,’ भट्टराईले भने ।

सचेतक भट्टराईका अनुसार थापाले असार १७ को ललितपुर भेलामा थापाले बोलेका कुरा गुटले कुप्रचार गरेको बताएका थिए । ‘ललितपुरको अगेनो रेस्टुरेन्टमा भएको भेलाको विषयमा मैले बोलेका कुरा गुटभित्रबाट कुप्रचार गर्न खोजियो । मेरो दृष्टिकोण त्यस्तो हैन,’ थापाको भनाई उद्धृत गर्दै भट्टराईले भने ।

यसअघि गत वैशाख १७ मा नेकपाका सचिवालय बैठकमा अध्यक्ष दाहाल, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । यो बैठकमा थापा ओलीले राजीनामा दिनुनपर्ने पक्षमा उभिएका थिए । त्यो दिनपछि वैशाख २० मा बसेको सचिवालय बैठकमा नेकपामा ‘युद्धविराम’ भएको थियो । बैठकमा ओली र दाहालसहितका नेताहरूले आत्मालोचना गरेका थिए । त्यसदिन विधि, पद्धति र कम्युनिस्ट मूल्य–मान्यतामा पार्टी चलाउने र पार्टीको मार्गनिर्देशनमा सरकार सञ्चालन गर्ने निर्णय भएको थियो ।

तर, पनि ओली र दाहाल–नेपाल समूहबीच विवाद र टकराव रोकिएन । र, असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा ओलीको राजीनामा फेरि उठ्यो । यही श्रृंखलाबद्ध विवादमा थापाले आन्तरिक छलफल र भेटमा भिन्दाभिन्दै अभिव्यक्ति दिएको प्रचार भयो । तर, विगतमा जस्तै पार्टी विवादमा सार्वजनिक अभिव्यक्ति दिनबाट भने उनी बचेका छन् । थापा निकट नेकपाका एक केन्द्रीय सदस्यले सुनाए, ‘पार्टीभित्र विकसित र फेरबदल भइरहने शक्ति सन्तुलनमा तराजु कता ढल्किएको छ र कता बस्दा सुरक्षित भइन्छ भन्ने हिसाबमै बोल्नु भएको होला नि !’

थापाको कुरा मिडियामा आएपछि अर्का अध्यक्ष दाहालले चासो राखेका थिए । खुमलटार स्रोतका अनुसार बुधबार दाहाल र थापाबीच यस विषयमा कुराकानी भएको थियो । ‘उहाँहरुसँग सामान्य रुपमा सैद्धान्तिक कुरा गरेको हो । तर, त्यहाँ भएका कुरा तोडमोड गरेर, बनाएर बाहिर आएछ । म आफ्नो अडानमा स्पष्ट छु,’ बादलले दाहाललाई भनेको भनाइ उद्धृत गर्दै सचिवालयका एक नेताले भने ।

दाहालसँग यस्तो भने पनि मंगलबार दुई अध्यक्षबीचको छलफलपछि सचिवालयका पाँच नेताबीच दाहाल निवास खुमलटारमा भएको छलफलमा भने थापा सहभागि थिएनन् । वरिष्ठ नेताद्वय खनाल र नेपाल, उपाध्यक्ष गौतम र प्रवक्ता श्रेष्ठ साँझ ५ बजे खुमलटार पुगेका थिए । मन्त्रिपरिषद्को बैठक भएको भन्दै थापा यो बैठकमा उपस्थित भएनन् । लागतार परस्पर विरोध अभिव्यक्ति दिएका थापाले आउने दिनमा केकस्तो कदम चाल्ने हुन्, त्यसले नै बादलको स्थीरता र अस्थीरता दर्शाउनेछ ।

प्रकाशित : असार २४, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?