नेकपा विवादकै बीच चिनियाँ राजदूत पुगिन् खनाल निवास
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटेकी छिन् । नेकपाभित्र आन्तरिक विवाद चर्किरहेका बेला राजदूत यान्छी मंगलबार डल्लुस्थित खनाल निवास पुगेकी हुन् । भेटमा समसामयिक विषय र आपसी सम्बन्धका विषयमा कुराकानी भएको स्रोतले बताएको छ ।
सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा राजदूत यान्छीले नेकपाका शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी हुन् । आइतबार मात्रै यान्छीले नेकपाका अर्का वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेकी थिइन् ।
नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेपाललाई कोटेश्वर पुगेर चिनियाँ राजदूतले भेट्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । उक्त भेटघाटलाई दुवै पक्षबाट नियमित भनिए पनि नेकपाभित्रको आन्तरिक विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय रहेको राजनीतिक विश्लेषक बताउँछन् । राजदूत यान्छीले एक हप्ताअघि मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई भेटेकी थिइन् ।
यसअघि राजनीतिक दलविभाजनसम्बन्धी र संवैधानिक नियुक्तिसम्बन्धी अध्यादेश प्रकरणमा नेकपाभित्र विवाद चर्किँदा चिनियाँ राजदूत होउले वैशाख १९ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग उनीहरुकै निवासमा छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेसँगै पार्टीभित्र आन्तरिक कलह उत्कर्षमा पुगेको छ ।
सम्बन्धित समाचार
चिनियाँ राजदूत यान्छीको भेटघाटले दिल्ली तरंगित
होउ-नेपाल भेटघाट, विश्लेषक भन्छन् : ‘असामान्य अवस्थामा सामान्य भेट’