होउ-नेपाल भेटघाट, विश्‍लेषक भन्छन् : ‘असामान्य अवस्थामा सामान्य भेट’

आफू–आफू मिल्नु छैन । पार्टीका शीर्ष नेताहरु नै विदेशलाई खुला रुपमा हस्तक्षेप गर्न निम्त्याइरहेका छन् । – पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य 

असार २२, २०७७

जगदीश्वर पाण्डे

काठमाडौँ — सत्तारुढ दल नेकपाभित्र शक्ति संघर्षका लागि विवाद चर्किरहँदा नेपालका लागि चीनकी राजदूत होउ यान्छीले शीर्ष नेताहरुसँगको भेटघाटलाई तीव्रता दिएकी छिन् । होउले आइतबार बेलुकी नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग कोटेश्वर पुगेर सुटुक्क भेटवार्ता गरेकी हुन् ।

नेकपाको विदेश विभागका प्रमुख समेत रहेका नेपालसँगको उक्त भेट नियमित भएको नेपालको सचिवालयका सदस्य नितेश पौडेलले जानकारी दिए । ‘उहाँहरुबीचको उक्त भेट नियमित हो । उहाँहरु बीचमा सामान्य कुराकानी भयो,’ उनले भने ।

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपालबीच शक्ति संघर्ष चलिरहेका बेला होउ र नेपालबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राजनीतिक विश्लेषक कृष्ण खनाल उक्त भेटलाई ‘असामान्य अवस्थामा सामान्य भेट’को संज्ञा दिन्छन् । ‘दुई मुलुकका पार्टीहरु (नेकपा र चिनियाँ कम्युनिष्ट पार्टी) बीच भाइचाराको सम्बन्ध छ । यो भेट त्यही भाइचाराको निरन्तरता हो । भेटमा यस्तो (विवाद) नगर्न भनेको होला,’ उनले भने,‘तर राजदूतको भेटले केही काम गर्दैन भन्ने सन्देश दिइसकेको छ । दुई महिनाअघि पनि यस्तै विवाद भएको बेलामा उनी सक्रिय भएकी थिइन् । तर विवाद त फेरि आइहाल्यो नि ।’

यसअघि नेकपामा यसरी नै विवाद हुँदा राजदूत होउले वैशाख १९ गते दाहाल र नेपालसँग उनीहरुकै निवासमा छुट्टा–छुट्टै भेटवार्ता गरेकी थिइन् । संयोगवश लगत्तै नेकपाको आन्तरिक विवाद मिलेको थियो । तर त्यसलाई चिनियाँ राजदूतले नै मिलाइदिएको भन्ने अवस्था नरहेको खनाल बताउँछन् । ‘चिनियाँ राजदूतको पछिल्लो समयमा भएको भेटले काम गरेको भए, अहिले फेरि यसरी विवाद आउँदैन थियो,’ खनालले भने । 

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्य यसरी राजदूत नेताको घर–घरमा खुला रुपमा गएर भेट्नुले कूटनीतिक मान्यता नै नरहेको जस्तो देखिने बताउँछन् ।

आचार्य अहिले नेपालमा दुई तिहाईको सरकार रहेको तर पार्टीको आन्तरिक विवादलाई बढाएर शीर्ष नेताहरु नै बाह्य शक्ति बोलाउन उद्यत हुनु गलत भएको बताउँछन् । ‘आफू–आफू मिल्नु छैन । पार्टीका शीर्ष नेताहरु नै विदेशीलाई खुला रुपमा हस्तक्षेप गर्न निम्त्याइरहेका छन्,’ उनले भने ।

नेपालमा सन् २०१५ मा नयाँ संविधान जारी गर्नु अघि भारतीय राजदूत यसरी नै विभिन्न पार्टीका नेताहरुको घर–घरमै गएर भेटवार्ता गर्ने गर्थें । अहिले उक्त शैलीलाई नेपालस्थित चिनियाँ राजदूतले पछ्याएका छन् । 

चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले राजदूत होउ र नेकपा वरिष्ठ नेता नेपालबीच नियमित भेटघाट भएको बताए । उनले भने, ‘दूतावास र राजदूत नेपाली नेताहरुसाग राम्रो सम्बन्ध राख्नका लागि निरन्तर लागिरहन्छन् । उचित समयमा साझा चासोलाई एकापसमा साट्ने काम भइरहनेछ ।’

जगदीश्वर एक दशकभन्दा लामाे समयदेखि पत्रकारितामा क्रियाशिल पाण्डे परराष्ट्र, सुरक्षा र राजनीतिसम्बन्धी समाचार लेखनमा सक्रिय छन् ।

Link copied successfully