कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, ओली-दाहालबीच बालुवाटारमा छलफल चल्दै

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाको स्थायी कमिटी बैठक असार २४ गतेसम्मका लागि स्थगित भएको छ । सोमबारका लागि तय भएको बैठक असार २४ गते बिहान ११ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

फाइल तस्बिर

यसअघि शनिबारका लागि तय भएको बैठक सोमबारका लागि सारिएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को अधिवेशन अन्त्य गरेसँगै असार १० गतेदेखि जारी स्थायी कमिटी बैठक पनि प्रभावित भएको थियो ।

यसैबीच नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल जारी छ । सोमबार बिहान साढे ९ बजेदेखि उनीहरुबीच छलफल सुरु भएको हो । स्थायी कमिटी बैठकअघि सहमतिको अधिकतम प्रयास खोज्ने भन्दै बैठक स्थगित गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पद नछाड्ने अडान दोहोर्‍याएपछि विवाद झनै बढेको छ । दाहाल–नेपाल समूह ओलीले एउटा पद छाड्नु पर्ने अडानमा छन् ।

सम्बन्धित समाचार

प्रकाशित : असार २२, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

जाजरकोटको कैनाखोलाले बगाउँदा एक जना बेपत्ता

भीमबहादुर सिंह

जाजरकोट — नलगाड नगरपालिका ४, औलका ५० वर्षीय शान्तबहादुर सार्की कैनाखोलाले बगाएर बेपत्ता भएका छन् ।

आइतबार राति ९ बजे नलगाड–३, कैनाबजारबाट घर फर्कने क्रममा खोलामा बेपत्ता भएका हुन् । ८ वर्षीय छोरासँग घर फर्कंदै गर्दा खोला तर्ने क्रममा सार्की बेपत्ता भएको प्रहरी प्रमुख डीएसपी किशोरकुमार श्रेष्ठले बताए ।

छोरालाई किनारमा राखेर आफू एक्लै खोला तर्न लाग्दा बगेको डीएसपी श्रेष्ठले बताए । बुवालाई खोलाले बगाएको नाबालक छोराले कैनाबजारका स्थानीयलाई जानकारी गराएका थिए । बपत्ता सार्कीको प्रहरी र स्थानीय बासिन्दाले खोजी गरिरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित : असार २२, २०७७ ०९:४२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×