कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

फुटको जोखिममा नेकपा

नेताहरूले अडान नबदले नेकपा विभाजित हुन सक्ने
दुवै पक्ष एकअर्काको सेखी झार्ने योजनाबाट केही कदम चालिरहेका थिए । तर अहिले यस्तो विन्दुमा आइपुग्यो कि एकअर्काले राखेको अडानबाट पछि हट्दा कमजोर भएको वा झुकेको जस्तो देखिने भयो ।
दुर्गा खनाल

काठमाडौँ — २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा गठबन्धन बनाएर होमिएका तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा दुई वर्षमै फुटको संघारमा पुगेको छ । विशेष गरी तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल
र माधव नेपालको शक्ति संघर्षका कारण पार्टी फुटको जोखिममा आइपुगेको हो ।

फुटको जोखिममा नेकपा

दोस्रो र तेस्रो तहका नेताहरूको पहलका बाबजुद पनि प्रधानमन्त्री ओली र दाहाल–नेपाल पक्ष आ–आफ्नो अडानबाट पछि हटेका छैनन् । ‘आम कार्यकर्ता र समर्थक पार्टी एकताको पक्षमा छन्, यसका लागि जोडबल गरिरहेका छौं,’ प्रधानमन्त्री ओलीसँगको बैठकपछि बालुवाटारबाट बाहिर निस्केका मन्त्री घनश्याम भुसालले भने, ‘सकेसम्म मिलाउने प्रयास हो तर पार्टी फुटाउने प्रयत्न भइरहेको छ र यो काम हामीभित्रैबाट भइरहेको छ, जुन दु:खद छ ।’

विगतमा कम्युनिस्ट पार्टीहरू फुट्दा एकले अर्कालाई लगाउने गरेजस्तै ‘देशी–विदेशी षड्यन्त्र’ को आरोप यस पटक पनि लागिसकेको छ । प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमै आफूलाई हटाउन भारतीय चलखेल भएको र त्यस्तो चलखेल गर्ने आफ्नै पार्टीका नेताहरूसमेत रहेको सार्वजनिक रूपमा भनिसकेका छन् । त्यही पृष्ठभूमिमा नेताहरूबीच चुलिएको तिक्तता विभाजनको दिशातर्फ उन्मुख छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्रीहरूसँगको छलफलमा राष्ट्रपति विद्यादेवी भण्डारी र आफूलाई हटाउने षड्यन्त्र भइरहेको उल्लेख गर्दै यो काममा आफ्नै पार्टीका नेताहरू संलग्न रहेको संकेत गरिसकेका छन् । जुनसुकै स्टेप सामना गर्न आफू तयार रहेको जनाउँदै उनले मन्त्रीहरूलाई अबको आफ्नो बाटो पनि स्पष्ट पार्न सुझाएका छन् ।

दुई वर्षअघि राजनीतिक स्थिरता र समृद्धिको नारा लगाउँदै जनमतको बलमा शासन सत्तामा पुगेको नेकपा आफैंले निर्धारण गरेको कार्यभारलाई लत्याउँदै यतिबेर नेताहरूको अविश्वास र कार्यशैलीगत कमजोरीको दोसाँधमा आइपुगेको हो । शनिबार साँझसम्मको नेकपा नेताहरूको पोजिसन एकले अर्कालाई नस्विकार्ने खालको छ । दाहाल–नेपाल समूह कुनै पनि हालतमा प्रधानमन्त्री ओलीलाई दुईमध्ये एउटा पदबाट हटाउन चाहन्छ । ओलीलाई अहिले पनि ठेगान लगाउन सकिएन भने ज्यादती अझै आफूहरूले खेपिरहनुपर्ने सोचाइ उक्त समूहको छ ।

त्यसैले दाहाल–नेपाल समूह कुनै पनि हालतमा आफ्नो पोजिसन नबदल्ने अडानमा छ । यो अडानलाई ओलीले आफूविरुद्धको षड्यन्त्रका रूपमा लिएका छन् । उनले बेलाबेखत राष्ट्रपतिका विषयमा समेत असन्तुष्ट नेताहरूले दिइरहेका अभिव्यक्तिलाई लिएर उनलाई समेत हटाउने षड्यन्त्रका रूपमा बुझेका छन् । ओलीलाई यतिबेला यो सबै काममा भारतीयहरूको हात छ भन्ने ‘भ्रम’ परेको छ । नेपालको नक्सा जारी गरेपछि चिढिएको भारतले सत्ताबाट हटाउन षड्यन्त्र गरेको र त्यसको गोटी दाहाल र नेपाल बनिरहेको ओलीको बुझाइले अहिले नेकपालाई फुटको संघारमा पुर्‍याएको हो ।

राष्ट्रपति र मविरुद्ध षड्यन्त्र भयो : ओली

नेकपाको यो संकट टार्न भन्दै जारी स्थायी कमिटी बैठक रोकिएको थियो । तर यही रोकिएको समयमा दाहाल–नेपाल र ओली दुवै पक्षले एकताको प्रयासभन्दा शक्ति सञ्चय गर्ने र आ–आफ्नो पक्षको मत निर्माण गर्ने काममा समय खर्चिइरहेका छन् । यी सबै घटनाक्रमलाई नजिकबाट नियाल्ने नेताहरू शीर्ष नेताहरूले आ–आफ्नो पोजिसन बदल्नुपर्ने बताउँछन् । ‘पार्टी एकता गर्दा दुई अध्यक्षका निर्णय लागू हुन्छन् भनियो तर अहिले सचिवालय र स्थायी कमिटीको गणित हेरेर अघि बढ्ने काम भएको छ,’ साँझको बालुवाटार बैठकपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले भने, ‘यस्तो संकटका बेला नेताहरूले मुलुकको आवश्यकताभन्दा अन्यत्र ध्यान दिनुभयो, यसले पार्टीभित्र दुर्घटनाको जोखिम बढाएको छ ।’

नेताहरूका कुरा सुन्दा अहिले दुवै पक्ष एकअर्काको सेखी झार्ने योजनाबाट केही कदम चालिरहेका थिए । तर अहिले यस्तो विन्दुमा आइपुग्यो कि एकअर्काले राखेको अडानबाट पछि हट्दा कमजोर भएको वा झुकेको जस्तो देखिने भयो । त्यही कारण उनीहरूले जुनसुकै स्टेपका लागि पनि अघि बढ्ने मनस्थिति निर्माण गरेका छन् ।

तर एकताका पक्षमा लबिइङ गरिरहेका नेताहरूले दुवै पक्षलाई अडानबाट केही लचिलो भएर जान सुझाव दिइरहेका छन् । अब दुई पक्ष आ–आफ्नो अडानबाट लचक हुन तयार भए मात्र नेकपाको दुर्घटनाको जोखिम टर्छ । नत्र केही दिनभित्रै कम्युनिस्ट पार्टीको इतिहासमा फेरि एउटा नयाँ घटना लेखिए कुनै अनौठो हुनेछैन ।

प्रकाशित : असार २१, २०७७ ०६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?