३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बामदेवलाई फकाउन शितल निवासमा वार्ता, भैंसेपाटीमा ओली समूहका नेतासँग ‘डिनर मिटिङ’

शुक्रबार बिहान महासचिव पौडेलसहित राष्ट्रपति निवास पुगेका गौतम निवासमा ओली समूहका ११ नेताको छलफल
बबिता शर्मा

काठमाडौँ — नेकपाभित्रको शक्ति संघर्ष झनझन जटिल हुँदै विभाजनतर्फ बढिरहेका बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूह उपाध्यक्ष बामदेव गौतमलाई आफ्नो कित्तामा ल्याउन सक्रिय भएको छ । यही शिलशिलामा शुक्रबार राति भैंसेपाटीस्थित गौतम निवासमा ओली समूहका एक दर्जन नेता ‘डिनर मिटिङ’मा सहभागी भएका छन् ।

बामदेवलाई फकाउन शितल निवासमा वार्ता, भैंसेपाटीमा ओली समूहका नेतासँग ‘डिनर मिटिङ’

शुक्रबार बिहानै नै महासचिव विष्णु पौडेलले नेता गौतमलाई शितलनिवास लगेर राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गराएका थिए । यी प्रयास गौतमलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालको समूहबाट बाहिर निकाल्ने रणनीति अनुसार भएको गौतम निकट स्रोतले पुष्टि गरेको छ । स्रोतका अनुसार गौतमलाई महाधिवेशनपछि पार्टी र संसदीय दलको नेतृत्व गर्ने गरी तयारीसहित अगाडि बढ्न ओली समूहका नेताहरुले प्रस्ताव गरेका छन् ।

शुक्रबार साँझ गौतम निवासको ‘डिनर मिटिङ्’मा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य किरण गुरुङ र प्रधानमन्त्री केपी ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत ११ जना नेता थिए ।

तर, विगतमा पटक–पटक धोका पाएको भन्दै गौतमले हतारमा कुनै निर्णय नलिने जवाफ दिएका छन् । राष्ट्रपति भण्डारीले समेत भेटमा गौतमलाई जनताको बहुदलीय जनवादको नेतृत्व गर्ने गरी अगाडि बढ्न प्रस्ताव गरेको स्रोतको भनाई छ । शुक्रबार दुई अध्यक्षबीच तित्ततापूर्ण संवाद भएपछि ओली समूह सक्रिय भएको हो ।

नेकपामा पछिल्लोपटक ९ सदस्यीय सचिवालयमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापासहित ६ नेताले राजीनामा मागेपछि दबाबमा आएका प्रधानमन्त्री ओलीले आफ्नो विश्वास पात्र नेतामार्फत गौतमलाई फकाउने प्रयास थालेका हुन् ।

यसैअनुसार गौतम निवासमा शुक्रबार राति एक बजेसम्म छलफल भएको सहभागी एक नेताले पुष्टि गरे । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थालाई लिएर छलफल भएको हो । अध्यक्ष दाहाल निवास खुमलटारमा शनिबार दिउँसो दाहालसहित वरिष्ठ नेता खनाल र नेपाल, उपाध्यक्ष गौतम, प्रवक्ता श्रेष्ठ, सचिवालय सदस्य थापाबीच गौतमले राष्ट्रपतिसँगको भेट र आफ्नो निवासमा भएको ‘डिनर मिटिङ’बारे ब्रिफिङ गरेका थिए ।

‘जनताको बहुदलीय जनवादको नेता तपाईं हो । महाधिवेशनपछि हाम्रो अध्यक्ष पनि तपाईं हो, संसदीय दलको नेता पनि तपाईं नै हो । तपाईंले हामीलाई नेतृत्व गर्दिनुपर्‍यो,’ नेताहरुले आफूलाई गरेको अफरबारे गौतमले सचिवालयका नेताहरुसँगको शनिबारको भेटमा सुनाएका छन् । तर, गौतमले त्यो संभव नभएको र आफूले धेरैपटक धोका खाएको जवाफ दिएको बताएका छन् । उनले ओलीको साथमा आफू हुने नसक्ने बरु उनले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने अडान दोहोर्‍याएपछि राति नेताहरु उनको निवासबाट निस्किएका थिए ।

गौतमले खुमलटार बैठकमा राष्ट्रपतिसँगको भेटबारे पनि सुनाएको एक नेताले बताए । ‘तपाई र केपी ओली नै हो जनताको बहुदलीय जनवादको नेता । अब तपाईंले नेतृत्व गर्नुपर्‍यो । अहिले उहाँलाई सहयोग गर्नुस्,’ राष्ट्रपतिले आफूलाई भनेको कुरा गौतमले खुमलटार छलफलमा सुनाएका थिए । जवाफमा गौतमले ओलीबाट आफूले पटक पटक धोका पाएको स्मरण गराएका थिए । उनले अहिलेको अवस्थामा आफूले ओलीलाई साथ दिन नसक्ने बरु उनले दुई पदमध्ये एक पदबाट राजीनामा दिनुपर्ने अडान दोहोर्‍याएको ब्रिफिङ खुमलटार छलफलमा गरेका थिए ।

गत बैशाखमा नाटकीय रुपमा गौतमले ओलीको समर्थन गरेपछि नेकपाको अन्तरकलह केही समयका लागि शान्त भएको थियो । बैशाख तेस्रो साता सचिवालयका बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा मागेका थिए । तर, पछि प्रधानमन्त्री ओलीले गौतमलाई भावी प्रधानमन्त्रीको प्रस्ताव गरेपछि गौतमले तत्काल प्रधानमन्त्री ओलीले राजीनामा दिन नपर्ने बताएका थिए । त्यसपछि नेकपाको त्यतिबेलाको विवाद शान्त भएको थियो ।

तर, असारको पहिलो सातासम्म आउँदा गौतमले फेरि दाहाल–नेपाल समूहमै रहेको जानकारी गराएका थिए । उनको सचिवालयको तर्फबाट असार ४ गते जारी प्रेस नोटमा गौतमले आफु ओलीसँग नरहेको स्पष्ट सन्देश दिएका थिए ।‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसिसीसहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ गौतमको सचिवालयले जारी गरेको प्रेस नोटमा थियो ।

असार १० बाट सुरु भएको स्थायी कमिटी बैठकमा पनि गौतमले प्रधानमन्त्री ओलीले पार्टी अध्यक्षसहित दुवै पदनबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले राजीनामा मागेपछि ओली समूहले उपाध्यक्ष गौतममाथि नजर लगाएको दाहाल–नेपाल समूहको बुझाई छ । सचिवालयका ६ सदस्यले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा मागेपछि ओली अल्पमतमा छन् ।

यस्तै, खुमलटारमा सचिवालयका बहुमत सदस्यहरुको छलफलले आईतबार ओलीसँग दाहालले भेटेपछि मात्रै थप रणनीति तय गर्ने सहमति भएको छ । शनिबार ओली-दाहाल छलफल हुने भनिए पनि प्रधानमन्त्रीले आइतबार १० बजेलाई सारेका छन् । स्थायी कमिटी बैठक असार २२ गतेसम्म स्थगित भएको छ ।

प्रकाशित : असार २०, २०७७ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?