विवाद समाधानको जिम्मा अध्यक्षद्वयलाई

अध्यक्षद्वयको छलफलमा कोही पनि साक्षी र सल्लाहकार नराख्ने, आवश्यक परे वरिष्ठ नेताहरूलाई सहभागी गराउने सहमति
बिनु सुवेदी

काठमाडौँ — दोस्रो तहका नेताहरू सम्मिलित छलफलले ठोस निचोड निकाल्न नसकेपछि पार्टीभित्रको विवाद समाधानका लागि अब नेकपा अध्यक्षद्वयले नै संवाद गर्ने भएका छन् । पहिलो चरणमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान करिब डेढ घण्टा छलफल भएको थियो ।

विवाद समाधानको जिम्मा अध्यक्षद्वयलाई

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सहमतिका लागि अध्यक्षद्वयले निरन्तर छलफल गर्ने र आवश्यक परे वरिष्ठ नेताहरूलाई पनि छलफलमा सहभागी गराउने सहमति दुई अध्यक्षबीच भएको छ । ‘बल्ल आजदेखि छलफलको क्रम सुरु भयो, तिक्तता र असहमति मेटाउनका लागि सघन कुराकानी गर्न दुवै अध्यक्ष सहमत देखिनुभएको छ,’ सापकोटाले कान्तिपुरसँग भने, ‘अब कोही पनि साक्षी र सल्लाहकार नराख्ने, आवश्यक परे वरिष्ठ नेताहरूलाई सहभागी गराउने विषयमा उहाँहरूबीच सहमति बनेको छ ।’

बैठकमा अध्यक्षद्वयले छलफलको निचोड निकाल्न अनौपचारिक कार्यदल गठन गरिएको र उक्त कार्यदलले सहमतिको पाँचबुँदे ड्राफ्ट तयार पारेको भनेर आएका हल्लाका कारण स्थिति झन् बिग्रिनेतर्फ गएको भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘सहमतिको पाँचबुँदे ड्राफ्ट र सहमति खोज्न कार्यदल गठन गरेको कुरा नियोजित ढंगले प्रचार गरियो, यसले अध्यक्षद्वयलाई गम्भीर बनाएको छ,’ उनले भने ।

नेकपा स्थायी कमिटी सदस्य सुवास नेम्वाङले पनि अध्यक्षद्वयले थालेको वान टु वान छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी आफूले पाएको बताए । ‘अनौपचारिक रूपमा अरू छलफल पनि भइरहेका छन्, दुवै अध्यक्ष पनि छलफलमा हुनुहुन्छ,’ उनले कान्तिपुरसँग भने, ‘मैले बुझेसम्म छलफल सकारात्मक रूपमा अघि बढेको छ ।’

नेकपा अध्यक्षद्वयबीच आइतबार पनि करिब २ घण्टा छलफल भएको थियो । दोस्रो तहका केही नेताहरूसहित भएको छलफलमा उनीहरूले आ–आफ्नो बटमलाइन राखेका थिए । उक्त छलफलमा अध्यक्ष दाहालले ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका थिए । ‘स्थायी कमिटीको छलफलको सेन्टिमेन्ट तपाईंले बुझिहाल्नुभएको छ, साथीहरूको अडान त्यही हो तर पार्टीमा भन्दा पनि सरकारमा पर्फमेन्स राम्रो भएन भन्ने छ,’ अध्यक्ष दाहालले ओलीसँग भनेका थिए, ‘तपाईंले सरकारबाट राजीनामा दिएर निकास दिनुपर्‍यो ।’

ओलीले आफूले दुवै पद नछोड्ने र त्यसबाहेक अरू जुनसुकै एजेन्डामा छलफल गर्न तयार रहेको दाहालसँग बताएका थिए । ‘आज (सोमबार) को वार्ता यो अर्थमा पनि सकारात्मक छ कि उहाँहरूले सर्तरहित छलफल सुरु गर्नुभएको छ,’ ओलीनिकट एक नेताले कान्तिपुरसँग भने, ‘गतिरोध छिट्टै अन्त्य हुने आशा गरौं न !’ अध्यक्षद्वयकै शक्ति सन्तुलनमा कुरा नमिलेपछि नेकपा स्थायी कमिटी बैठक लगातार तेस्रो पटक स्थगित भएको छ । सोमबारका लागि डाकिएको बैठक संवादबाटै निकास खोज्ने भन्दै दुई दिन पर धकेलिएको छ । यो दुई दिनमा सहमतिको बिन्दु फेला पर्ने संकेत मिलेको नेता नेम्वाङले बताए ।

यद्यपि दाहालले आफूनिकट नेताहरूलाई भने अहिले छलफलको क्रम सुरु भए तापनि कुरा भने मिलिनसकेको बताएका छन् । ‘प्रधानमन्त्रीले तपाईंहरूको सबैतिर बहुमत छ, त्यसैलाई आफ्नो दम्भ बनाउनुभएको छ, सबैको कुरा बहुमतका आधारमा त हुन्न नि भन्नुभएछ,’ दाहालको ब्रिफिङ सुनेका एक नेताले कान्तिपुरसँग भने, ‘अहिलेसम्म परिस्थिति उस्ताको उस्तै छ । हुन त रातारात मान्छेको दिमाग परिवर्तन हुन्छ । होइदिओस् भन्ने कामना गरौं, अब बैठक धेरै लम्ब्याएर अस्थिरता कायम राख्नु हुँदैन ।’

नेपाल भन्छन् : ओलीबाट बेवास्ता भइरहेको छ

६०/४० प्रतिशतको अनुपातमा एकीकरण भएको नेकपाको शक्ति सन्तुलनमा दाहाल पक्षसँग ४० र ओली तथा नेपाल पक्षका ३०/३० प्रतिशत नेताहरू छन् । पार्टीको शक्ति मिलाउन नेपाल पक्ष दाहाल वा ओली जुन पक्षसँग निकट भयो, उही बलियो हुने हिसाब नेकपाको छ । तर पार्टी एकीकरणयता पूर्वएमाले भए पनि ओली र नेपाल पक्षीय नेताहरूका बीचमा मिल्ती भएको उदाहरण खासै छैन । अहिले पनि नेपालको साथ दाहाललाई नै छ, त्यही आधारमा यो पक्षको बहुमत पार्टी कमिटीमा छ ।

स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग गरिरहेका ३० नेतामध्ये नेपाल पक्षीय नेताहरू उक्त मागमा शतप्रतिशत सहभागी छन् । यसअघि शक्ति समीकरणका यस्ताखाले थुप्रै छलफलहरूमा नेपाल तथा उनी पक्षीय नेताहरूको सहभागिता हुने गरेको भए पनि यसपालिचाहिँ नेपाल र उनी पक्षीय नेताहरू माहोल मिलाउने छलफलमा सहभागी छैनन् ।

कान्तिपुरसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले आफूहरूसँगकै छलफल र परामर्शका आधारमा दाहाल बैठकमा सहभागी भइरहेको बताए । ‘केपी ओलीबाट बेवास्ता भइरहेको छ, उहाँ हामीसँग छलफल गर्न पनि चाहनुुहुन्न, प्रचण्डजीले राम्रै गरिरहनुभएको छ । अहिलेसम्म उहाँसँग विश्वासको वातावरण टुटिसकेको छैन ।’ प्रधानमन्त्री ओलीले दाहालसँगको भेटमा नेपाल पक्षीय टिम छोडेर आफूसँग मिल्न प्रस्ताव गरेका थिए । ‘ओलीजीले प्रचण्डजीसँग माधव नेपाललाई विश्वास नगर्नुस्, विश्वास गर्नुभयो भने धोका खानुुहुन्छ भनेर सोमबार पनि भन्नुभएछ, अध्यक्षले यसरी एकअर्कालाई लडाउन त भएन नि,’ नेपालले भने ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि अध्यक्ष दाहालले भेटमा भएको कुराकानीबारे वरिष्ठ नेता नेपालसहित केही नेताहरूलाई छुट्टाछुट्टै ब्रिफिङ गरेका थिए । दाहाल पक्षीय नेताहरूले दाहालले मंगलबार बिहान प्रधानमन्त्री ओलीसँग छलफल गरेपछि एक पटक आफूहरू बसेर रणनीति तय गर्ने तयारी गरेका छन् ।

प्रकाशित : असार २३, २०७७ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?