कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कतै नगएका बालकमा कोरोना

अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको अपिल
‘यही एउटा घटनाका आधारमा कोरोना समुदायमा गएको भन्न मिल्दैन तर यसको आधारमा हाल समाजमा जोखिमपूर्ण स्थिति रहेको भन्न सकिन्छ : डा.वासुदेव पाण्डे
अतुल मिश्र

काठमाडौँ — स्वास्थ्य मन्त्रालयले काठमाडौंलगायत घनाबस्ती भएका सहरहरूमा कोभिड–१९ संक्रमण बढिरहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ । मन्त्रालयले घरबाहिर निस्कनैपरे दुई मिटरको दूरी कायम राख्न, साबुनपानीले हात धुन र अनिवार्य मास्क लगाउन भनेको छ ।

कतै नगएका बालकमा कोरोना

कुनै यात्रा इतिहास नभएका राजधानीका दुईवर्षे बालकमा कोरोना संक्रमण देखिएपछि सरकारले यस्तो आग्रह गरेको हो । ‘ती बालक मात्र नभई बुबाआमाको समेत कुनै भ्रमण इतिहास छैन,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कान्तिपुरसँगको संक्षिप्त कुराकानीमा भने, ‘यसले कोरोना कहीं अन्त पनि फैलिएको छ कि भन्ने संकेत गर्छ ।’

यो संक्रमणपछि डा. गौतमले स्वास्थ्य मन्त्रालयको नियमित भर्चुअल कोरोना अपडेटका क्रममा सोमबार सुरुमै अनावश्यक घरबाहिर ननिस्कन अपिल गरेका थिए । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेका अनुसार ती बालकको टाउकोमा भएको ‘ट्युमर’ को पुन: शल्यक्रिया गराउन मेडिसिटी अस्पतालमा जाँच गरिएको थियो । यसै क्रममा पीसीआर परीक्षण गर्दा बालकमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘अहिले बिनाकारण, अनावश्यक, सुरक्षाका उपाय नअपनाई राजधानीलगायत सहरहरूमा घरबाहिर निस्किनु जोखिमपूर्ण छ,’ उनले भने, ‘यो एउटा घटनाकै आधारमा कोरोना समुदायमा गएको भन्न मिल्दैन तर यसको आधारमा हाल समाजमा जोखिमपूर्ण स्थिति रहेको भन्न सकिन्छ ।’

केही दिनयता बहुसंख्यक व्यक्तिमा कोरोनाको डर हराएको अवस्थासमेत देखिन थालेको औंल्याउँदै डा.गौतमले भने, ‘काठमाडौंमा ५०–६० लाख जनसंख्या छ, हामीले होसियारी नगरे पछि गाह्रो पर्छ ।’

डा.पाण्डेका अनुसार आमनेपालीले कोरोनाविरुद्घ सतर्कता अपनाउन छाडेमा हाल दिल्लीमा देखिएको जस्तै भयावह स्थिति आउन बेर छैन । ‘अहिले सबैले लकडाउन खुलेको महसुुस गरेझैं देखिन्छ, बाहिर भीडभाड छ, अनावश्यक जमघट भइरहेको छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.गौतमले भने, ‘धेरैजसोमा कोरोना सर्ने डर हराउँदै जानुका साथै जनजीवन सामान्य भएको ठानेका जस्ता छन् ।’

कोरोनाको संक्रमण बढ्दै गए पनि आमव्यक्तिले हाल घरबाहिर निस्किँदा अपनाउनुपर्ने न्यूनतम मापदण्डसमेत पालना गरेको नदेखिएको उनले बताए ।

थप ४ सय ७६ संक्रमित, एकको मृत्यु

मुलुकमा सोमबार कोरोनाले थप ४ सय ७६ जना संक्रमित भएका छन् । संक्रमितको जम्मा संख्या १३ हजार २ सय ४८ पुगेको छ । काठमाडौंमा उपचार गराइरहेका रौतहटका ३० वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

तीन महिनादेखि फोक्सोसम्बन्धी समस्याका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेका ती युवक असार १३ गते श्वासप्रश्वासमा समस्या भएपछि सानेपास्थित स्टार हस्पिटलमा भर्ना भएका थिए । त्यही राति उनको मृत्यु भएको थियो । भोलिपल्ट (आइतबार) कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणपछि अस्पतालमा रहेका १ सय २१ जना सोमबार डिस्चार्ज भएका छन् । अस्पतालबाट निको भएर फर्किनेको संख्या ३ हजार १ सय ३४ पुगेको छ ।

प्रकाशित : असार १६, २०७७ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?