कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

निजी अस्पतालले पनि पाए परीक्षण अनुमति

फातिमा बानु

काठमाडौँ — काठमाडौंमा रहेका २ निजी र एक प्रहरी अस्पतालले पीसीआर परीक्षण गर्ने अनुमति पाएका छन् । अनुमति पाउनेमा ललितपुर सानेपास्थित स्टार अस्पताल, महाराजगञ्जको प्रहरी अस्पताल र सिनामगंलस्थित काठमाडौं मेडिकल कलेज हुन् ।

निजी अस्पतालले पनि पाए परीक्षण अनुमति

अस्पतालहरुको अनुगमन गर्दा मापदण्ड पूरा भएकाले निजी प्रयोगशालालाई कोभिड १९ को मोलिक्यूलर परीक्षण गर्ने अनुमति दिइएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाले बताइन् ।

निजी प्रयोगशालालाई कोभिड–१९ को मोलिक्यूलर परीक्षण गर्न अनुमति दिने सम्बन्धी निर्देशिका, २०७७ अनुसार यी अस्पतालबाट दैनिक दुई सय परीक्षण गर्ने क्षमता हुनुपर्नेछ । निर्देशिकाले प्रतिनमुना शुल्क ५ हजार ५ सय रुपैयाँ तोकेको छ ।

दैनिक एक हजार वटासम्म पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएका स्टार अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रूपाखेतीले बताए । ‘हामीसँग दुईवटा पीसीआर उपकरण छ । यस्तै, आफ्नै ल्याब र पर्याप्त प्रयोगशालाकर्मी छन्,’ उनले भने, ‘रोटरी क्लबले अझै एउटा उपकरण सहयोग गर्दैछ, हाम्रो परीक्षण क्षमता बढ्छ ।’

निर्देशिका अनुसार यी अस्पतालमा परीक्षण हुने नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाटै पठाइनेछ । अस्पताललाई नमुना संकलन गरेर परीक्षण गर्ने अनुमति भने छैन । पठाउने नमुना परीक्षणबाहेक आफ्नै अस्पतालमा आएका बिरामीको पनि नमुना परीक्षण गर्न पाउनुपर्ने डा. रुपाखेतीले बताए ।

‘आफ्नो अस्पतालमा आएका बिरामीको परीक्षण आफै गर्न पाए सेवा छिटो छरितो हुन्थ्यो,’ उनले भने, ‘उपचार पाउन बिरामीले आइसोलेसनमा बसेर धेरै दिन कुर्नुपर्थेन ।’

प्रकाशित : असार १५, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?