कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेपाल प्रवेश गरेका सलहका झुन्डको 'ट्रेसिङ' गरिँदै

गोविन्द पोखरेल

काठमाडौँ — सलहको झुन्डहरु देखिने र हराउने गर्न थालेपछि किट वैज्ञानिकहरु झुन्डको ट्रेसिङ गर्न थालेका छन् । आइतबार अचानक कपिलवस्तुको तैलिहावामा देखिएको सलहको झुन्ड कता गयो भन्‍ने विषयमा खोजी गर्न किट विज्ञहरु लागेका छन् ।

नेपाल प्रवेश गरेका सलहका झुन्डको 'ट्रेसिङ' गरिँदै

आइतबार साँझ कपिलवस्तुमा पनि नयाँ झुन्ड देखिएसँगै भारतबाट नेपालमा प्रवेश गरेको सलहको झुन्डको संख्या ५ पुगेको छ ।

शनिबार साँझ सिन्धुलीमा बसेको हुल आइतबार सिन्धुलको पश्चिमतिर ठूलो झुन्डमा देखिएको थियो । तर त्यो झुन्ड कता गयो भन्‍ने निर्क्यौल गर्न नसकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह नियन्त्रणका लागि गठन गरेको प्राविधिक समितिका संयोजक सहदेव हुमागाईंले कान्तिपुरलाई बताए ।' हिजो देखिएको झुन्ड कहाँ गयो भन्‍ने थाहा पाउन सकिरहेका छैनौं अहिले हामीले ट्रेसिङ गर्ने काम गरिरहेका छौं । '

कपिलवस्तुमा देखिएको झुन्ड उत्तरपश्चिमतिर उत्तरपश्चिमतिर गएको विज्ञहरुले बताए पनि कहाँ पुग्यो भनेर उनीहरुले ट्रेस गर्न सकेका छैनन् ।

प्राविधिक समितिले देशैभरी रिपोर्टहरु संकलन गरिरहेको छ । टुक्रिएका झुन्डहरु कहाँ-कहाँ पुगे भन्‍ने जानकारी लिने काम भइरहेको हुमागाईंले बताएन । प्राविधिक समितिले झुन्डहरुको अवस्था अध्ययन गर्न तथ्यांक संकलन गर्ने काम गरिरहेको छ ।

'भारतबाट अर्को झुन्ड आउने सम्भावना पनि उत्तिकै'

किट विज्ञहरुले भारतबाट सलहको अर्को झुन्ड आउने सक्ने सम्भावना पनि उत्तिकै रहेको बताएका छन् । नेपाल कृषि अनुसन्धान परिषद्का किट वैज्ञानिक सुदिप उपाध्यायले भने,'

अहिले राजस्थानबाट दिल्लीतिर सलहको ठूलो झुन्ड सरेको छ । नेपाल आउन सक्‍ने अवस्थाबारे हामीले अध्ययन गिररहेका छौं ।' कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलहबारे सोमबार एड्भाइजरी नोट पनि निकाल्ने तयारी गरिरहेको हुमागाईंले बताए ।

सलह नेपालमा आउन सक्‍ने सम्भावना हावा कतातिर गइरहेको छ भन्‍नेमा निर्भर रहने विज्ञहरुले बताएका छन् । भारतबाट उत्तरपश्चितिर हावा बहे नेपालमा प्रवेश गर्न सक्‍ने उपाध्यायले बताए । प्राविधिक टोलीले जल तथा मौसम पूर्वनामुन महाशाखासँग समन्वय गरेर काम गरिरहेको छ ।

किट विज्ञ उपाध्याय भन्छन्,'आइहाल्छ भन्‍न पनि गाह्रो छ । आउँदैन भन्‍न पनि गाह्रो छ । तर पनि बालीको निगरानी गर्न कृषकहरुलाई आग्रह गर्छौं ।'

'नेपालमा छैनन् सलह विज्ञ'

नेपालमा सलहकै विषयमा काम गर्ने वा अध्ययन गर्ने विज्ञहरु छैनन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको प्राविधिक समितिमा नार्कका किट विज्ञ छन् । तर, सलहमा विशेषज्ञता हासिल गरेका वैज्ञानिकहरु नेपालमा छैनन् ।

प्राविधिक समितिका संयोजक हुमागईं भन्छन्, 'नेपालमा पहिलोपटक अहिलेको पुस्ताहरुले सलह देख्दै छन् । अध्ययन अनुसन्धान हुने कुरै भएन । अब बल्ल यसबारे तथ्य र जानकारी संकलन गर्न थालिएको छ । अब यसको पनि वैज्ञानिक अध्ययन हुन्छ । '

मन्त्रालय र प्राविधिक समितिले सलह नियन्त्रणको सवालमा विभिन्‍न देशहरुका विज्ञहरुसँग अनुभव आदानप्रदान गरिरहेको छ । समितिले भारत,पाकिस्तान र अफ्रिका सलह विज्ञहरुसँग निरन्तर रुपमा परामर्श गरिरहेको छ । समितिले विश्‍व खाद्य संगठन(एफएओ)का विज्ञहरुसँग पनि छलफल र परामर्शमा रहेको हुमागाईंले जानकारी दिए ।

प्रकाशित : असार १५, २०७७ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?