२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

समुदायमा संक्रमण फैलिएको निष्कर्षसहित गोरखाको भिमसेन थापा गाउँपालिकाको तीन गाउँ सिल

हरिराम उप्रेती

गोरखा — समुदायस्तरमा कोरोना संक्रमण फैलिएको निकर्षसहित भिमसेन थापा गाउपालिकाको तीन गाउँ सिल गरिएको छ । भिमसेन थापा गाउँपालिका–५ को रिठ्ठेपानी, वडा नम्बर ८ को महादेवटार, वडा नम्बर ६ को झिंगटे र मोहरिया पूर्ण रुपमा सिल गरिएको गाउँपालिकाले जनाएको छ । ती गाउँमा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ ।

समुदायमा संक्रमण फैलिएको निष्कर्षसहित गोरखाको भिमसेन थापा गाउँपालिकाको तीन गाउँ सिल

सुरक्षा समितिको शुक्रबार बसेको बैठकले सिल भएका गाउँमा थप सुरक्षाकर्मी खटाइ लकडाउन प्रभावकारी बनाउने निर्णय समेत गरेको छ । कोरोना संक्रमणको जोखिम उच्च रहेको र कोरोनाभाइरस समुदायस्तरमा फैलिएको निष्कर्ष निकाल्दै उच्च सतर्कता अपनाएको गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले बताए ।

कोरोना संक्रमण हुनसक्ने सम्भावित स्थानहरुमा एकसाताका लागी मानिसहरुको आवातजावात पूर्ण रुपमा बन्देज लगाइएको गाउँपालिका अध्यक्षले बताए । ‘पालिका भित्रका एक वडाबाट अर्को वडामा अत्यावश्यक अवस्था बाहेक आउजाउमा रोक लगाएका छौँ,’ उनले भने । एक साताका लागी गाउँपालिका भित्रका स्वास्थ्य सेवा बाहेक सम्पूर्ण सरकारी कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द गरिएको उनले बताए ।

बैंक तथा वित्तिय संस्था उद्योग व्यवसाय र पसल बन्द गर्ने र खाद्यान्न तरकारी फलफुल दुग्ध जन्य पदार्थ विक्रि गर्ने पसल बिहान ६ देखि १० बजेसम्म मात्र संचालन गर्ने गरी समयसिमा तोकिएको छ ।

समाजमा जुवातास खेल्ने हुलहुज्जत तथा समुह बनाइ हिँड्‌डुल गर्ने कार्यलाई पूर्ण रुपमा निषेध गरिएको गाउँपालिकाले जनाएको छ ।

उत्त गाउँपालिकामा कोरोना संक्रमितको संख्या २६ पुगेको छ । ती मध्ये चारजना संक्रमित निको भएर घर फर्किएका छन् । ‘समुदायस्तरका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको काम पनि भइरहेको छ,’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले भने ।

प्रकाशित : असार १२, २०७७ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?