सरिता गिरीलाई स्पष्टीकरण सोध्ने समाजवादी पार्टीको निर्णय, चित्तबुझ्दो नभए संसद र पार्टीबाट कारबाही- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सरिता गिरीलाई स्पष्टीकरण सोध्ने समाजवादी पार्टीको निर्णय, चित्तबुझ्दो नभए संसद र पार्टीबाट कारबाही

बबिता शर्मा

काठमाडौँ — नेपालले आफ्नो भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नक्सा सार्वजनिक गरेकोमा लगातार विरोधमा अभिव्यक्ति दिएर विवादमा आएकी सांसद सरिता गिरीसँग उनको पार्टी समाजवादीले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । 

सोमबार बसेको पार्टी पदाधिकारी बैठकले सांसद गिरीसँग उनका अभिव्यक्तिबारे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनले पार्टी नीतिविरुद्ध अभिव्यक्ति दिएको र कमद चालेको समाजवादी पार्टीको बुझाई छ । नक्सासम्बन्धि संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी गिरीलाई पार्टीको ह्विप उल्लंघन गरेका कारण स्ष्पष्टीकरण सोध्ने निर्णय भएको पार्टीका नेता गंगानारायण श्रेष्ठले बताए । संविधान संशोधनमा मतदानका दिन उनले संसद बैठक बहिष्कार गरेकी थिइन् ।

राष्ट्रिय महत्वको विषयमा लगातार विवादित र आपत्तिजनक अभिव्यक्ति दिएको, पार्टी संसदीय दलले निर्देशन दिँदा पनि नयाँ नक्सालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ का विरुद्ध दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिएको, पार्टीले संशोधन प्रस्तावको पक्षमा मतदान गर्न ह्विप लगाउँदा पनि अवज्ञा गरेको कारणमा सांसद गिरीसँग स्पष्टीकरण सोध्न थालिएको हो ।

सरकारले भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटेर जारी गरेको नेपालको नयाँ राजनीतिक नक्सा संविधानको अनुसूचीमा समावेश गर्न संसदमा पेश गरेको संविधान संशोधन विद्येयकविरुद्ध गिरीले संशोधन दर्ता गराएकी थिइन् । त्यसलगत्तै समाजवादीको संसदीय दलको बैठकले उनलाई संसोधन फिर्ता लिन निर्देशन दिएको थियो तर उनले आफ्नो संसोधन फिर्ता लिएकी थिइनन् । र, संसद बैठक बहिष्कार गरेकी थिइन् ।

‘हामीले उहाँलाई बोलाएर पार्टीको निर्णय मान्न सुझायौं । तर, उहाँले पार्टीको निर्णय र निर्देशन मान्नुभएन । त्यसकारण स्पष्टीकरण सोध्ने निर्णय गरेका हौं,’नेता श्रेष्ठले भने । गिरीले दर्ता गरेको संशोधन ‘विधेयकको निहित सिद्धान्तको विपरीत’रहेको भन्दै सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका थिए ।

समाजवादी पार्टी स्रोतका अनुसार स्पष्टीकरण चिक्तबुझ्दो नआए उनलाई संसदबाट कारबाही गर्ने निर्णय छ । गिरी समानुपातिक सांसद हुन् । पार्टीले चाहेको अवस्थामा प्रक्रिया पुर्‍याएर उनलाई फिर्ता बोलाउन सक्छ ।

प्रकाशित : असार ८, २०७७ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्

चन्दा उठाएर पीसीआर मेसिन

सरकारले पीसीआर मेसिन थप्न ढिलाइ गरेपछि स्थानीय स्तरबाट चन्दा संकलन गरी मेसिन खरिद गर्न थालिएको छ ।
डीआर पन्त

डडेलधुरा — ह्युमनिटी फाउन्डेसनले चन्दा संकलन गरी डडेलधुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ । विदेशबाट समेत दाताहरूले रकम उपलब्ध गराएपछि पीसीआर मेसिनलगायत सामग्री खरिद गरिएको हो ।

धनगढीमा रहेको फाउन्डेसन र सुदूरपश्चिम अमेरिकी समाजले सामाजिक सञ्जालबाट अभियान सुरु गरेका थिए । गत जेठ २ गतेदेखि भारतबाट फर्किरहेका नेपालीलाई सीमामा निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका धनगढीका व्यवसायी श्याम तायल, पुष्कर ओझा, मानसिंह साउँद, पत्रकार दीर्घराज उपाध्यायलगायतको नेतृत्वमा चन्दा संकलन अभियान सुरु भएको थियो ।

पीसीआर मेसिन र अन्य सामानसहित ९६ लाख लागतमा प्रयोगशाला स्थापना हुने फाउन्डेसनका अध्यक्ष श्याम तायलले बताए । ‘मेसिन मात्र ३५/४० लाखमा आउँदो रहेछ,’ उनले भने, ‘यसमा चाहिने अन्य सामग्रीसहित ९६ लाख खर्च लाग्ने भएको हो ।’ मंगलबार इन्जिनियर र प्राविधिकको टोली आएपछि मेसिन जडान सुरु गरिने डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सुदूरपश्चिमको सेती प्रादेशिक प्रयोगशाला धनगढीमा एकमात्र पीसीआर मेसिन छ । त्यहाँ दैनिक २ सयदेखि २ सय ५० स्वाब परीक्षण भइरहेको छ । परीक्षण क्षमता कम हुँदा थन्किएका स्वाब पछिल्लो साता केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाइएको छ । प्रदेश सरकारले पीसीआर मेसिन थप्न ढिलाइ गरेपछि स्थानीयको पहलमा चन्दा संकलन गरी मेसिन खरिद गरिएको हो ।

प्रकाशित : असार ८, २०७७ १९:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×