‘स्वाब व्यवस्थापनको त्रुटिले गलत नतिजा’

कोभिड पोजिटिभ आउनुपर्ने केही नमुनाको नतिजा भीटीएमको सही व्यवस्थापन नहुँदा नेगेटिभ आइरहेको प्रयोगशालाका प्राविधिक बताउँछन् ।

असार ७, २०७७

अतुल मिश्र

काठमाडौँ — नेपालमा कोभिड–१९ को पीसीआर परीक्षणका लागि स्वाब संकलन र प्रयोगशालाको तापक्रम सन्तुलनमा त्रुटि देखिएको छ । जसका कारण नमुनाको सही नतिजा नआएको विज्ञहरूले बताएका छन् । जिल्लामा नमुना संकलन गरेर प्रयोगशालामा परीक्षण गर्ने बेलासम्म सही व्यवस्थापन नभएको उनीहरूको भनाइ छ ।

‘सही तरिकाले स्वाब संकलन गरेर भीटीएम (भाइरल ट्रान्सपोर्ट मिडियम) मा राखेर नमुना परीक्षण गर्दासम्म नियन्त्रित तापक्रममा राख्नैपर्छ,’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका भाइरोलजिस्ट डा. श्रवणकुमार मिश्रले भने, ‘यी प्रक्रियामध्ये कुनै एउटामा त्रुटि भए प्रयोगशालाको नतिजा प्रभावित भई ‘फल्स नेगेटिभ’ आउने सम्भावना बढ्छ ।’

नेपालमा प्रयोग भइरहेको भीटीएमको गुणस्तरबारे सरकारले हालसम्म कुनै गाइडलाइन नै नबनाएको त्रिवि शिक्षण अस्पताल बायोकेमिस्ट्री विभागका डा. विनोद यादव बताउँछन् । सरकारद्वारा मापदण्ड नतोकिएकाले गुणस्तरहीन भीटीएमको उपयोग भइरहेको हुन सक्ने उनले दाबी गरे । ‘भीटीएमको गुणस्तर जाँच गर्ने प्रणाली मुलुकमा नभएसम्म विश्वको प्रतिष्ठित निकायले मान्यता दिएको भीटीएम प्रयोग गर्नुपर्छ,’ उनले भने । बायोटेक्नोलजिस्ट अजयनारायण शर्मा नेपालमा प्रयोग भइरहेको भीटीएम कतै एक मिलिलिटर त कतै तीन मिलिलिटरको प्रयोग भइरहेको बताउँछन् । उनका अनुसार विश्व स्वास्थ्य संगठनको गाइडलाइनअनुसार विश्वव्यापी रूपमा ३ मिलिलिटरको भीटीएम प्रयोग गर्नुपर्छ । कोभिड परीक्षणमा एकरूपता र गुणस्तर नियन्त्रणका लागि सरकारले गाइडलाइन ल्याउनुपर्ने विज्ञहरूको भनाइ छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका एक प्राविधिकका अनुसार कोभिड पोजिटिभ आउनुपर्ने केही नमुनाको नतिजा भीटीएम बिग्रेका कारण नेगेटिभ आइरहेको छ । भीटीएमको बिर्को राम्ररी नलगाउँदा संकलन गरिएको तरल पदार्थ (स्वाब) चुहिएरसमेत समस्या आएको उनले बताए । ‘भीटीएममा व्यक्तिको नाम, लिंग, फोन नम्बरसमेत स्पष्ट नभएका नमुना पनि प्रयोगशालामा आउने गरेका छन्,’ उनले भने, ‘यसले गर्दा एक व्यक्तिको नमुना अर्कोमा पर्ने जोखिम छ । केन्द्रीय प्रयोगशालाले उचित तरिकाले अनुगमन नगर्दा यस्तो भएको हो । प्रयोगशालामा नमुना आउँदासम्म वा परीक्षण गर्नुअघि कोल्ड चेन मेन्टेन भएको छैन । यसले गर्दा नमुनामा भएको न्युक्लियस टुट्छ, खराब हुन्छ र नेगेटिभ परिणाम देखाउँछ ।’

भीटीएमको गुणस्तरसँगै पीसीआर परीक्षणको नतिजा सही हुन स्वाब संकलनमा समेत विशेष ध्यान दिनुपर्ने विज्ञहरूको सुझाव छ । ‘स्वाब लिँदा नाक र घाँटी दुवैबाट लिनुपर्छ,’ बायोटेक्नोलजिस्ट शर्मा भन्छन्, ‘नाक वा मुखबाट मात्र लिइएको छ भने परीक्षणको नतिजा प्रभावित हुन सक्छ ।’ उनका अनुसार नमुना प्रयोगशाला पुर्‍याउँदासम्म आइस बक्सको तापक्रम ४ देखि ८ डिग्री सेन्टिग्रेड हुनुपर्छ । यसरी तापक्रम नियन्त्रित गरेर पठाइएको नमुना ४८ घन्टाभित्र जाँचिसक्नुपर्छ वा पछि गर्नुपरे माइनस २० या माइनस ८० डिग्री सेन्टिग्रेड तापक्रममा फ्रिजमा राखिसक्नुपर्छ । ‘माइनस ८० डिग्री सेन्टिग्रेड तापक्रममा नमुना राख्दा ६ महिनापछि जाँच्दासमेत परिणाम प्रभावित हुँदैन,’ उनले भने, ‘हाल मुलुकमा दुई–तीन ठाउँमा मात्र यस्तो रेफ्रिजेरेटर छ ।’

हाल देशका विभिन्न ठाउँमा रहेका २४ वटा प्रयोगशालाको माध्यमबाट कोरोना भाइरसको परीक्षण भइरहेको छ । ती प्रयोगशालामा धेरै दिनदेखिका नमुना थन्किइरहेका छन् । अधिकांश प्रयोगशालामा माइनस २० डिग्री सेन्टिग्रेड तापक्रम क्षमता भएका रेफ्रिजेरेटर भएको र यस्तोमा नमुना राख्दा एक साताभित्र परीक्षण गरिसक्न शर्माले सुझाए । ‘आरएनए भाइरसका लागि नमुना माइनस २० डिग्री सेन्टिग्रेड तापक्रममा राख्न प्रस्तावित गरिएको छैन,’ उनले भने, ‘आइसबक्समा जेल प्याक ३ वटा भए यो करिब ४८ घण्टासम्म तापक्रम नियन्त्रित रहन्छ भने बरफ उपयोग गरिए १२ घण्टामै पग्लिन्छ ।’

बायोटेक्नोलजिस्ट शर्मा संकलित कतिपय नमुना प्रयोगशाला ल्याउँदासम्म १० लाग्ने गरेको र जसले सही नतिजा दिन नसकेको बताउँछन् । ‘कोल्ड चेन मेन्टेन नहुँदा टाढाबाट आउने गरेको ३० देखि ४० प्रतिशत नमुनाको नतिजा प्रभावित भइरहेको छ,’ उनले दाबी गरे ।

अतुल मिश्र कान्तिपुर दैनिकमा प्रमुख उप-सम्पादकका रुपमा कार्यरत छन् । उनी स्वास्थ्थ तथा विज्ञान विषयमा विगत २५ वर्ष देखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully