सम्बन्धित निकायले भीटीएम अभाव देखाएर स्वाब संकलन रोकेपछि पालिकाहरूले धमाधाम कोरोना परीक्षण किट खरिद गर्न थालेका छन् ।
बुटवल — कोरोना परीक्षण ढिलाइले संक्रमण आशंका गरिएका व्यक्तिलाई तीन साताभन्दा बढी क्वारेन्टाइनमा राख्नुपरेपछि प्रदेश ५ का पालिकाहरूले पीसीआर र आरडीटी किट खरिद गर्न थालेका छन् ।
क्वारेन्टाइनको बसाइ लम्बिँदा पालिकाको खर्च बढेको छ भने क्वारेन्टाइनमा बस्नेमा मानसिक समस्या देखिन थालेको छ । मापदण्डअनुसार दुई साता क्वारेन्टाइन अवधि तोकिएको छ । उक्त अवधिभित्र त्यहाँ बसेकाको पीसीआर वा आरडीटी परीक्षण गरिनुपर्छ । परीक्षणमा संक्रमण पुष्टि भएकालाई आइसोलेसन र नभएकालाई घर पठाउने प्रावधान छ ।
रूपन्देहीको सैनामैना नगरपालिकामा ६ सय १० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । तर, परीक्षण नभएपछि नगरपालिकाले अहिले १ हजार पीसीआर किट र ५ सय भीटीएम (स्वाब राख्ने भाँडो) किनेको छ । ‘प्रदेशको आसमा तीन साता क्वारेन्टाइनमा बसेका व्यक्तिले पनि परीक्षणको अवसर पाएनन् । आइसोलेसन सेन्टरमा रहेका संक्रमितको अवस्था पनि त्यस्तै भयो,’ नगर प्रमुख चित्रबहादुर कार्कीले भने, ‘यो अवस्था रोक्न आफैंले किट किनेका हौं ।’ नगरपालिकामा अहिलेसम्म ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुटवल उपमहानगरले पनि आफैंले ४ सय पीसीआर किट किनेको छ । ‘कम्तीमा १४ हजार व्यक्ति तेस्रो मुलुकबाट आउने आँकडा निकालेका छौं,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहले भने, ‘त्यसका लागि थप पीसीआर र भीटीएम किन्ने प्रक्रिया थाल्दै छौं ।’
एक सातायता तिलोत्तमा नगरपालिकाले पनि आफ्नै आरडीटी र पीसीआर किटमा स्वाब संकलन थालेको छ । नगरपालिकाले ६ सय भीटीएम र ४ सय ७५ आरडीटी किट किनेको नगर प्रमुख वासुदेव घिमिरेले बताए ।
कोरोना संक्रमण पत्ता लगाउन पीसीआर र भीटीएम किन्ने जिम्मा संघीय सरकारको हो । सम्बन्धित निकायले भीटीएम अभाव देखाएर स्वाब संकलन रोकेपछि स्थानीय तहले खरिद गर्न थालेका हुन् । स्थानीय तहले स्वाब संकलन गरेर प्रयोगशालामा पुर्याउन थालेपछि पीसीआर परीक्षण भइरहेको छ । कपिलवस्तु नगरपालिकाले एक हजार भीटीएम खरिद गरेको छ । ‘अधिकांश भीटीएम प्रयोग भइसके,’ नगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले भने, ‘इमर्जेन्सीका लागि राखेका छौं ।’ यशोधरा गाउँपालिकाले १ हजार २ सय भीटीएम खरिद गरेको थियो । शिवराज नगरपालिकाले पनि १ हजार भीटीएम खरिद गरेको छ । त्यही पनि सकिन लागेको स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले बताए ।
कृष्णनगर नगरपालिकाले २ हजार भीटीएम खरिद गरेको थियो । अझ एक हजार बाँकी छ । एक सातायता परीक्षण अति न्यून भएकाले भीटीएम प्रयोग हुन नसकेको कृष्णनगर नगरपालिका स्वास्थ्य शाखा प्रमुख अनिल विश्वकर्माले बताए । महाराजगन्ज नगरपालिकाले १ हजार २ सय ८० भीटीएम खरिद गरेको थियो । शुद्धोदन गाउँपालिका, मायादेवी गाउँपालिकाले पनि भीटीएम खरिद गरेका छन् । ‘जिल्लामा दैनिक एक/डेढ सयको हाराहारीमा परीक्षण भइरहेको छ,’ उनले भने । अहिले कन्ट्याक्ट ट्रेसिङ पनि भइरहेको छैन । क्वारेन्टाइन पनि रित्तिँदै गएकाले परीक्षण न्यून हँुदै गएको हो ।’ अहिलेसम्म जिल्लामा ७ हजार ५३ जनाको स्वाब संकलन गरिएको छ । ५ सय ६९ जनाको रिपोर्ट आउन बाँकी छ । बुधबारसम्म रूपन्देहीमा ६ सय ५७ जना संक्रमित भएका छन् । यहाँका ३ साझेदारी वन व्यवस्थापन समितिले १५ लाखको भीटीएम किट वितरण गरेका छन् । गौतम बुद्ध डिभिजन वन कार्यालयअन्तर्गत पर्ने पाँच स्थानीय तहलाई किट वितरण गरिएको हो । शिवराज, कृष्णनगर, महाराजगन्ज नगरपालिका र विजयनगर गाउँपालिकालाई ८ सय ५० का दरले वितरण गरेको छ । बुद्धभूमि नगरपालिकालाई ४ सय २५ किट प्रदान गरिएको कपिलवस्तु साझेदारी वन समिति अध्यक्ष गंगेशनाथ तिवारीले बताए ।
पाल्पाका १० वटै स्थानीय तहले भीटीएम खरिद गरेर पीसीआर विधिबाट परीक्षणका लागि स्वाब पठाएका छन् । स्वास्थ्य कार्यालयले कतिपय स्थानमा कन्ट्याक्ट ट्रेसिङ गरेका छन् भने क्वारेन्टाइनमा बसेकाका लागि स्थानीय तह आफैंले पीसीआर प्रविधिबाट जाँचका लागि भीटीएम किट खरिद गरेका हुन् । स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म पाल्पा अस्पतालले २६, मिसन अस्पतालले २२, लुम्बिनी मेडिकल कलेजले ३९ जनाको स्वाब परीक्षणका लागि पठाएका छन् । जिल्लामा अहिलेसम्म पठाएका स्वाबमध्ये ८ सय बढीको रिपोर्ट आउन बाँकी छ । जिल्लामा ५६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ भने एक जनाको मृत्यु भइसकेको छ । जिल्लाबाट अहिलेसम्म १ हजार ७ सय ३३ स्वाब परीक्षणका लागि पठाइसकेको छ । प्रभासले २ र मिसन अस्पतालले ५ वटा गरी ७ वटा फलोअप पठाएको सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । अहिलेसम्म स्वास्थ्य कार्यालयलाई ९ सय १८ भीटीएम किट आएका छन् ।
पश्चिम नवलपरासीस्थित सुनवल नगरपालिका र सुस्ता गाउँपालिकाले परीक्षण बढाउन भीटीएम खरिद गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयमा किट अभाव भएपछि क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन रोकिएको थियो । त्यसपछि आफैंले खरिद गरेका हुन् । भारतसँग सीमा जोडिएकाले दैनिक आएर लामो अवधि क्वारेन्टाइनमा बस्नेको पनि परीक्षण हुन सकेको छैन । ‘जिल्लामा भीटीएम अभाव भएका कारणले परीक्षण रोकिन थाल्यो, केन्द्र र प्रदेशमा माग गरेको पनि कहिले आउने निधो भएन,’ सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भने, ‘अब स्थानीय तह आफंैले भारत वा निजी क्षेत्रसँग भीटीएम खरिद गरेर परीक्षण गरेका छौं ।’
सुनवल नगरपालिकाले सामुदायिक क्वारेन्टाइन निर्माण गरेको छ । आरडीटी प्रभावकारी नभएकाले क्वारेन्टाइनमा बस्ने सबैको पीसीआर परीक्षण गरेर मात्र घर पठाउने नीतिअनुरूप नगरपालिकाले ५ सयवटा भीटीएम खरिद गरेको हो । प्रदेश सरकारले उपलब्ध गराएको भीटीएम सकिएपछि स्वाब संकलन र परीक्षण नरोक्न स्थानीय तहले खरिद गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले बताए । सीमावर्ती नाका भएकाले करिब ५ हजारभन्दा बढी मानिस भारतबाट जिल्ला भित्रिएका छन् । जिल्लामा अहिलेसम्म १ हजार ४ सय ९ जनको स्वाब परीक्षण गरिएको छ । जसमा ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
-बुटवलबाट अमृता अनमोल, पाल्पाबाट माधव अर्याल, कपिलवस्तुबाट मनोज पौडेल र नवलपरासी पश्चिमबाट नवीन पौडेल
