कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट [पूर्णपाठ]

अर्जुन शाह

धनगढी — केही पुराना र केही नयाँ कार्यक्रमहरुसहित सुदूरपश्चिम प्रदेश सरकारले ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट ल्याएको छ । कूल बजेटमध्ये १६ अर्ब ७५ करोड ८४ लाख ८८ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ ।

सुदूरपश्चिममा ३३ अर्ब ३८ करोडको बजेट [पूर्णपाठ]

सरकारले स्वास्थ्य क्षेत्रको बजेटमा उल्लेख्य वृद्धि गरेको छ । समग्र स्वास्थ्य क्षेत्रको सुधारको लागि आगमी आर्थिक वर्षमा स्वास्थ्य सुधार वर्षको नाम दिएर ३ अर्ब २६ करोड ६६ लाख विनियोजन गरेको छ । चालू आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा एक अर्ब ७८ करोड विनियोजित थियो । कोरोना महामारीको रोकथाम तथा नियन्त्रण प्राथमिकतामा राखेको आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले बताएका छन् ।

टीकापुरसहितका ७ वटा जिल्लामा १० शैय्याको कोभिड उपचार भवन निर्माण गर्ने तथा सबै जिल्ला अस्पतालहरुमा आइसोलेसन भवनहरु निर्माण गर्ने कार्यक्रम बजेटमा उल्लेख छ । सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग उपचार केन्द्र स्थापना गर्ने योजनामा पनि बजेट विनियोजन गरिएको छ । केही सामूदायिक अस्पतालहरुमा अनुदान उपलब्ध गर्ने कार्यक्रमलाई बजेटमा समेटिएको छ ।

मेरो विशेषज्ञता मेरै प्रदेशका लागि नामक छात्रवृत्ति कार्यक्रमका लागि ४ करोड ९३ लाख विनियोजन गरिएको छ । म सानै छु बढ्न देऊ, बालविवाह हैन पढ्न देऊ कार्यक्रमका लागि एक करोड ६० लाख, एउटे श्रृष्टि, समदृष्टि कार्यक्रमका लागि २ करोड ५७ लाख विनियोजन गरेको छ ।

६० करोड विनियोजन गरेर सरकारले नमूना कृषि गाउँ, आफै बनाऔं कार्यक्रम नयाँ ल्याएको छ । एक स्थानीय तह एक कृषि उपज उत्पादन पुरानै स्वरुपको कार्यक्रमलाई निरन्तरता दिएको छ । सिंचाईतर्फ एक अर्ब ४१ करोड विनियोजन गरिएको छ ।

पूर्वाधार विकासका कार्यक्रमहरुलाई पनि सरकारले प्राथमिकतामै राखेको छ । सडक निर्माणका लागि ४ अर्ब ७२ करोड विनियोजन गरिएको छ । यसबाट ५२८ किलोमिटर सड निर्माण गर्ने सरकारी योजना छ ।

भारतद्वारा अतिक्रमित दार्चुलाको ब्यासमा प्रदेश सरकारको उपस्थिती जनाउन सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्यका पूर्वाधार निर्माण गर्न ५ करोड विनियोजन गरेको छ । हेलो सीएम लगायत सुरुदेखि नै विफल हुँदै आएका कार्यक्रमहरुसमेत आगामी आर्थिक वर्षमा दोहोर्याइएको छ । कर्मचारीहरुको अतिरिक्त भत्ताहरु भने साउनदेखि लागू हुनेगरी कटौती गरिएको मन्त्री बोहराले बताए ।

बजेटलाई प्रमुख प्रतिपक्षी दलका सांसदहरुले पुरानै ढर्राको भएको बताएका छन् । कोरोना महामारीको रोकथाम तथा व्यवस्थापनप्रति उदासिन बजेट रहेको कांग्रेस सांसद कर्णबहादुर मल्लले बताए । ‘खर्च नहुने परम्परागत बजेट हो यो,’ उनले भने, ‘नयाँ चुनौतीहरुलाई खासै ख्याल गर्न नसकेको देखियो ।’

बजेटको पूर्णपाठ :

प्रकाशित : असार १, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?