काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले ऐतिहासिक तथ्य स्वीकार गरेमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा नेपालसँगको सीमा विवाद समाधान हुने बताएका छन् । उनले भारतले नेपालसँग सीमालाई लिएर वार्ता गर्न नचाहेकोमा र चीनसँग वार्ता गरिरहेकोमा आफू अचम्मित भएको पनि बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसद नारायण खड्काले भारतले नेपालसँग सीमा विवादबारे छलफल गर्न कोरोना भाइरसको संक्रमण अन्त्य भएपछि गर्ने भनेको तर सैन्य तनाव भएसँगै चीनसँग भने वार्ता गरिरहेको बारे जिज्ञासा राखेका थिए । उनले नेपालले यस्तो अवस्थामा सरकार कोरोना उन्मुलन कुर्छ कि वार्ता अगाडि बढाउन वा अन्य विकल्पबारे केही तयारी गरिरहेको छ ? भनेर प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री ज्ञवालीले लिम्पियाधुराबाट बग्ने नदी काली नदी हो र काली नदी सीमा नदी हो भन्ने ऐतिहासिक तथ्य भारतले स्वीकार गर्दा समस्या समाधान हुने बताए । 'ऐतिहासिक तथ्यहरूलाई उहाँहरूले स्वीकार गर्नुभए यो समस्या समाधानमा कुनै गाह्रो छैन,' उनले भने ।
नेपालले अरुको भूमि आफ्नो नक्सामा नराखेको र राख्ने चाहना पनि व्यक्त नगरेको ज्ञवालीको भनाइ थियो । उनले भने, 'हामीले अतिरिक्त भौगोलिक आकांक्षा पालेका होइनौं । हामी पराजित भएर खुम्चिएको सुगौली सन्धीको सीमाको भूभागमा हाम्रो हक कायम गर्न खोजेका हौं । सबै तथ्यहरूले त्यहि कुरा भन्छन् । नोभेम्बर २ सम्म छापिएको भारतको नक्सामा लिम्पियाधुराबाट आउने नदीको नाम काली थियो । हामीले त्यहि काली हो सीमा नदी भनेको । उहाँहरूका केही अप्ठेराहरू होलान् । इतिहासका तथ्य भारतले नमान्नुपर्ने कारण छैनन् ।'
भारतले भने नेपालसँग सीमा विवादबारे छलफल गर्नका लागि कोरोना भाइरसको संक्रमण अन्त्य हुनुपर्ने सर्त अगाडि सारेको छ । भारतीय विदेशमन्त्रालयका प्रवक्ताले लिपुलेकमा सडक निर्माण गरेको विषयमा नेपालले कूटनीतिक नोट पठाएपछि कोरोना भाइरस अन्त्य भएपछि छलफल गर्ने जवाफ दिएका थिए ।
केही समययता भारत र चीनबीच सैनिक तनाव बढिरहेको छ । विवादित क्षेत्र लद्दाखलाई लिएर दुवै देशका सेना आमनेसामने हुने गरेका छन् । उक्त विवाद हल गर्नका लागि शनिबार पनि दुवै देशका सैन्य अधिकारीबीच वार्ता भएको थियो ।
परराष्ट्रमन्त्री ज्ञवालीले नेपाललाई कोरोना भाइरसको संक्रमण सकिएपछि वार्ता गर्ने जवाफ दिएको भारतले चीनसँग वार्ता गरेको विषयले आफूलाई अचम्मित बनाएको बताए । 'हामी अलिअलि अचम्मित पनि भएका छौं । त्यस्तो तनावको बीचमा झन्डैझन्डै धकेलाधकेलको स्थितिमा वार्ता हुनसक्छ भने नेपालसँग नहुनुपर्ने कारण छैन,' उनले भने, 'हामी निरन्तर ताकेता गरिरहेका छौं । हामीलाई विश्वास छ, वार्ता हुन्छ ।'
सीमा विवाद वार्ताबाटै समाधान हुने विश्वासका साथ सरकारले अरु विकल्पबारे नसोचेको मन्त्री ज्ञवालीले बताए । उनले भने, 'वार्ताबाटै समस्या समाधान हुन्छ भन्ने विश्वास भएकाले अहिले हामी अरु विकल्पहरूमा सोच बनाइरहेका छैनौं ।'
