कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'भारतसँग संवाद नै छैन भन्‍नु गलत'

'परिस्थिति संवेदनशील भएकाले सबै कुरा बाहिर नआएको मात्र हो । सम्पर्क र संवाद दुवै जारी छ, यो सामान्य कुराकानीमात्र होइन ।'
सुरेशराज न्यौपाने

नयाँदिल्ली — सीमा विवाद समाधानका लागि सन् २०१४ मा विदेश सचिवस्तरीय संयन्त्र गठन गर्ने सहमति भएको थियो । तर यतिका वर्षसम्म पनि उक्त संयन्त्रको बैठक बसेको छैन । गत भदौमा काठमाडौंमा सम्पन्न नेपाल र भारत विदेशमन्त्रीस्तरीय बैठकमा पनि संयन्त्रको बैठक तत्काल डाक्ने सहमति भएको थियो ।

'भारतसँग संवाद नै छैन भन्‍नु गलत'

गत कात्तिक १९ मा भारतले कालापानी क्षेत्रलाई आफ्नो भूभागमा समावेश गरेर नयाँ नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै तत्काल विदेश सचिवस्तरीय संयन्त्रको बैठक बस्नुपर्ने माग गरेको थियो । त्यतिमात्र होइन, ६ मंसिर र १४ पुसमा गरी दुईपटक नेपालले बैठकको मितिसमेत प्रस्ताव गर्‍यो । तर भारतले भने जवाफ पनि फर्काएन । साथै सीमासम्बन्धी विवादका लागि तत्काल वार्ता थाल्नुपर्ने माग राजनीतिकदेखि जनस्तरबाट समेत भएपछि सरकारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूतका रूपमा दिल्ली पठाउने योजना पनि बनाएको थियो । तर दिल्लीले सकारात्मक संकेत नगरेपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो ।

सीमा विवादसम्बन्धी द्विपक्षीय छलफलका लागि नेपालले गरिरहेको आग्रहलाई बेवास्ता गरिररहेको भारतले उल्टो २६ वैशाखमा एकतर्फी ढंगले पिथौरागढ लिपुलेक ८० किलोमिटर सडक खण्डको उद्घाटन गर्‍यो । उक्त सडकअन्तर्गत १९ किलोमिटर खण्ड आफ्नो भूमिमा पर्ने भन्दै नेपालले भारतको उक्त कदमको पनि तत्कालै विरोध जनायो । तर २९ वैशाखमा भारतलाई पठाएको उक्त कूटनीतिक नोटमा सडक निर्माणको विरोधसँगै फेरि एकपटक वार्ताका लागि तयार हुन भारतलाई आग्रह गरिएको थियो । भारतले त्यसको पनि जवाफ दिएको छैन ।

अनुकूल वातावरण बनेको खण्डमा मात्र वार्तामा बस्ने प्रतिक्रिया भारतबाट व्यक्त भएको छ । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले संयन्त्रको बैठकका सम्बन्धमा अब चाँडै नै क्रमभंग हुने दाबी गरेका छन् । नयाँदिल्लीस्थित कान्तिपुरकर्मी सुरेशराज न्यौपानेले राजदूत आचार्यसँग गरेको कुराकानी ।

सीमा विवादका सम्बन्धमा भारतसँग वार्ताका लागि के–कस्तो पहल भइरहेको छ ?

सम्पर्क र संवादहरू भइरहेका छन् । मैले आफैंले पनि यहाँका राजनीतिक र कूटनीतिक दुवै क्षेत्रका प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क गरिरहेको छु । औपचारिक र अनौपचारिक दुवै माध्यमबाट त्यस्ता सम्पर्क भइरहेका छन् । अन्य माध्यमबाट पनि कुराकानी भइरहेको छ । हामीले माग गरेअनुसार वार्ता (विदेश सचिवस्तरीय) का लागि वातावरण बनाउने काम भइरहेको छ ।

काठमाडौंमा त भारतीय पक्षसँग सम्पर्क नै छैन, पूरै संवादहीनताको अवस्था छ भन्ने बुझाइ त ?

पूरै संवादहीनता छ भन्ने काठमाडौंको बुझाइ सोह्रै आना गलत छ । माथिल्लो तहसँगै सम्पर्क जारी छ । यहाँका औपचारिक तहका व्यक्तिहरू र सरकारमा रहेका र नरहेका प्रभावशाली व्यक्तिहरूसँग पनि सम्पर्क भइरहेको छ । कूटनीतिमा सबै कुरा बाहिर आउँदैनन् । बाहिर नआउँदैमा सम्पर्क नै भएन, संवाद नै भएन भन्ने हुँदैन । अब मैले कुरा गर्ने भनेको त नेपाल–भारत सम्बन्धकै हो, सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने नै हो । मैले व्यक्तिगत कुरा त पक्कै गरिन होला । अहिलेको परिस्थिति अलिकति संवेदनशील भएकाले सबै कुरा बाहिर नआएको मात्र हो । त्यो भन्दैमा सम्पर्क नै भएको छैन, संवाद नै भएको छैन भन्ने गलत हो ।

कुन तहसम्म संवाद र सम्पर्क भइरहेको छ ?

सबै तह र तप्कामा कुराकानी भइरहेको छ । आजै पनि भारतका एक जना मन्त्रीसँग छलफल गरेको थिएँ । विदेश मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल गरेको छु । अरू महत्त्वपूर्ण व्यक्तिसँग पनि कुरा भएको छ । मुख्य कुरा उच्च तहमा कसरी आफ्नो पक्ष राख्ने र कुरा पुर्‍याउने भन्ने हो । र, त्यसका लागि सम्पर्क र संवाद दुवै जारी छ । यो सामान्य कुराकानीमात्र होइन, निश्चित उद्देश्यका लागि भइरहेको छ ।

तपाईंको भनाइमा भारतसँग पहिलेकै जस्तो सम्पर्क जारी छ ?

मित्रहरूबीचमा जस्तोसुकै परिस्थितिमा पनि संवाद टुट्नु हुँदैन, कुराकानी हुनुपर्छ भन्ने भारतीय पक्षमा पनि छ । टाढिएका छन् भने पनि वार्ताद्वारा नै सँगै बस्ने वातावरण बनाउने हो । हो, विदेश सचिवस्तरीय वार्ताचाहिँ नभएको साँचो हो । हामीले कूटनीतिक नोटमार्फत पनि त्यो वार्ताका लागि जोड दिएका थियौं । त्यो वार्ताका लागि वातावरण बनाउन पनि आखिर संवाद र छलफल त गर्नै पर्‍यो नि । भारतसँग त सीमाबाहेक अन्य विषयमा पनि छलफल चलिनै रहन्छन् । भारतसँग सीमाबाहेक अन्य समस्याहरू जस्तै– मलको आपूर्ति, सीमामा रहेका नेपालीहरूका विषयमा पनि छलफल भइरहेको छ । त्यसैले नेपाल र भारतबीच बोलचाल नै बन्द भन्ने किसिमको धारणा बन्नु गलत हो ।

सम्पर्क र छलफलमा भारतीय पक्षको धारणा कस्तो पाउनुभएको छ ?

भारतको सद्भाव नै रहेको पाएको छु । अन्तिम निर्णय उच्च राजनीतिक नेतृत्वले लिने हुँदा अब ठ्याक्कै के छ भन्न त नसकिएला । तर मैले गरेका छलफल र कुराकानीमा भारतीय पक्षमा पनि वार्ता चाँडै गर्नुपर्छ, धेरै ढिलो गर्नु राम्रो हुँदैन भन्ने बुझाइ रहेको पाएँ । अब कुराकानीका क्रममा उनीहरूले आफ्नो देशको पोजिसन राख्नु त गलत भएन । हामीले हाम्रो पोजिसन राख्ने हो, उनीहरूले आफ्नो पोजिसन राख्छन् । यो नौलो कुरा भएन । सबैको भनाइ नेपाल र भारतबीच यस किसिमको असमझदारी हुनु हुँदैनथ्यो, अब यसलाई जतिसक्दो चाँडो समाधान गर्नुपर्छ र त्यसका लागि वार्ता नै उत्तम विकल्प हो भन्ने नै छ ।

पछिल्लो समय भारतको राजनीतिका प्रभावशाली व्यक्तिहरूबाटै नेपाललाई लिएर आलोचना, टिप्पणी भइरहेको छ नि त ? त्यसलाई कसरी हेर्नुभएको छ ?

त्यसमा मेरो भनाइ केही छैन । सार्वजनिक खपतका लागि आफ्नो धारणा राख्नु नौलो कुरा होइन । उनीहरूले गरेका सकारात्मक टिप्पणीलाई समातेर अगाडि बढ्नुपर्छ । हामीले सकेसम्म दुवै देशबीच सद्भाव बढाउनेतिर प्रयास गर्नुपर्छ । हामीलाई आपत्ति हुने कुरा कसैले गर्छ वा भन्छ भने उसलाई मित्रवत् ढंगले तिमीबाट गलत भयो भन्ने हो ।

कहिलेसम्म होला वार्ता ?

समयचाहिँ ठ्याक्कै भन्न सक्दिनँ । तर एउटा कुरा पक्का के हो भने अब पहिलेको जस्तो ढिलाइ हुँदैन । सचिवस्तरीय संयन्त्रको बैठक ६ वर्षदेखि बस्न सकेको छैन । ढुक्क भए हुन्छ, अब चाँडै नै यसमा क्रमभंग हुन्छ र बैठक बस्छ ।

प्रकाशित : जेष्ठ २७, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?