२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बजार खुल्यो, छैन सुरक्षा

प्रशान्त माली

काठमाडौँ — हात्तीसारका प्रतिमा बानु र प्रमिला बानु जग्गा नामसारी गर्न आइतबार मालपोत कार्यालय डिल्लीबजारमा पुगे । तर काम नभएपछि फर्किए । सरकारले आइतबारबाट आन्तरिक प्रशासनको काम गर्ने गरी मालपोत कार्यालय सञ्चालनमा ल्याएको थियो । सर्वसाधारणको सेवा भने सुचारु भएको छैन ।

बजार खुल्यो, छैन सुरक्षा

डिल्लीबजारकै राम कार्कीको परिवार पनि घरायसी जग्गा कारोबार गर्न पुगेका थिए । चाँगुनारायणकी सविता बस्नेत पनि जग्गा नामसारीसम्बन्धी बुझ्न मालपोत कार्यालय भक्तपुरमा पुगिन् । ललितपुर मालपोत कार्यालयमा पनि जग्गा कारोकारसम्बन्धी बुझ्न आउने सर्वसाधारणको संख्या बढेको मालपोत अधिकृत सुबोध खनालले बताए ।

सवारी साधनको चाप बढेसँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र निजी कम्पनीमा आउने सर्वसाधारणको भीड लाग्न थालेको छ । तर त्यहीअनुसार सुरक्षाको सतर्कता भने अपनाइएको छैन । सरकारी कार्यालय खुले पनि हात धुने व्यवस्था गरिएको छैन । लकडाउनअघि चोकचोकमा ट्यांकीसहित पानी र साबुनको व्यवस्था गरे पनि अहिले त्यहाँ पानी नै छैन । पसल खुले पनि सामाजिक दूरी कायम गरिएको पाइँदैन । अत्यधिक भीडभाड हुने कार्यालयमा कोरोना फैलिन नदिन अपनाउनुपर्ने सावधानीबारेमा सूचनासमेत टाँस नगरेको प्रतिमाले बताइन् । ‘आफैं सचेत भएर मास्क र सेनिटाइजर बोकेका थियौं,’ उनले भनिन् ।

मालपोत कार्यालय डिल्लीबजारका प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद अधिकारीले कोरोना रोकथामका लागि अपनाउनुपर्ने सबै व्यवस्था कर्मचारीले गर्ने बताए । तर बल्ल उपस्थित भएकाले काम भइनसकेको उनको भनाइ छ । ‘महामारी फैलिन नदिन आफैंले पनि सावधानी अपनाउनेबारेमा सूचना टाँस गर्ने तयारीमा छौं,’ उनले भने, ‘कर्मचारीलाई सामाजिक दूरी कायम गरेर काम गर्न र सेनिटाइजर आफैंले बोक्न निर्देशन दिइसकेको छु ।’

उनका अनुसार कार्यालय खुले पनि सर्वसाधारणको काम भने हुँदैन । ‘जग्गा रोक्का, फुकुवा, विभिन्न निकायबाट आउने पत्रको जवाफ पठाउने, सार्वजनिक सरकारी तथा गुठी जग्गा संरक्षण जाँचबुझ आयोगबाट मागेको जवाफ, कागजपत्र उपलब्ध गराउनेमात्र काम हुन्छ,’ उनले भने, ‘आगामी वर्षको जग्गाको न्यूनतम मूल्य निधारण, मुआब्जा निर्धारण, तलब भत्ताजस्ता आन्तरिक प्रशासनको मात्र काम हुन्छ ।’

ललितपुरका मालपोत अधिकृत खनालले सर्वसाधारण नआउने सोचले साबुन पानीको व्यवस्था नगरेको बताए । ‘असार १ गतेबाट पूर्ण रूपमा कार्यालय सञ्चालनमा आउने सम्भावना रहेकाले त्यसअनुसार तयारी थालिरहेका छौं,’ उनले भने । बजारमा भीडभाड हुँदा सामाजिक दूरी कायम नगर्दा रोग सर्ने सम्भावना रहेको टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाले बताए ।

‘रोग फैलिन नदिन कार्यालयमा पनि साबुन पानी, सेनिटाइजरजस्ता पूर्वाधारको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘भीडभाड हुने स्थानमा सामाजिक दूरी कायम गराउनुपर्छ ।’ त्यसका लागि स्वयंसेवक खटाउनुपर्ने उनको सुझाव छ । घरबाहिर आउँदा मास्क, पन्जा र चस्मा अनिवार्य लगाउनुपर्ने उनले बताए । ‘घर पुगेपछि बाहिर लगाएको लुगा फेर्ने, नुहाउने, साबुन पानीले हातखुट्टा धुने, गर्नुपर्छ,’ उनले भने ।

प्रकाशित : जेष्ठ २६, २०७७ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?