बाँकेमा आलोपालो बजार खोल्ने निर्णय रद्द

जेष्ठ २३, २०७७

रूपा गहतराज

नेपालगन्ज — जिल्ला प्रशासन बाँकेले जिल्लामा निषेधाज्ञा र लकडाउन पुन: कडाइ गर्ने भएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गरी आलोपालो पसल व्यवसाय सञ्‍चालन गर्न पाउने गरी जारी गरेको निर्णय रद्द गरेको हो । 

गत मंगलबार उद्योगी, व्यवसायी एवं सर्वपक्षीय बैठकका आधारमा प्रशासनले आलोपालो पसल व्यवसाय सञ्‍चालन गर्न दिने गरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । निर्णयपछि बिहीबार र बिहान बाँकेमा पसल, व्यवसाय खुले । तर आलोपालो पसल सञ्‍चालन गर्नेमात्र होइन सर्वसाधारणले भीडलाई व्यवस्थापन गर्न नसकेपछि प्रशासनले उक्त निर्णय रद्द गरेको जनाएको छ ।   

प्रशासनले बुधबारको निर्णय खारेज गरी जेठ २१ गतेभन्दा अघिकै अवस्थामा अत्यावश्यक सेवा सूविधाबाहेक अन्य क्षेत्र बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बजार, पसलमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल कार्यान्वयन नभएपछि पूर्व निर्णय खारेज गर्नुपरेको बताए ।

अझ लकडाउन खुकुलो पारेकै दिन बिहीबार नेपालगन्जमा २ र नेपालगन्जसँगै जोडिएको जानकी गाउँपालिकामा ४० जना नयाँ संक्रमित फेला परे भने बाँके जिल्लामा कोरोनाबाट १ जनाको मृत्यु भइसकेको छ ।

रूपा

Link copied successfully