हेटौंडा बजार :  प्रहरी बन्द गराउने, व्यवसायी खुलाउने

जेष्ठ २१, २०७७

सुवास विडारी

मकवानपुर — लकडाउनको उल्लंघन गर्दै हेटौंडा बजारका अधिकांश पसलहरु बुधबार बिहानबाट खुलेका छन् । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा हेटौंडाका अधिकांश पसलहरु बिहान ६ बजेबाट ९ बजेसम्म खोलिएको हो ।

पसलहरु बिहान बिना सूचना खुलेपछि स्थानीय प्रशासनले प्रहरी परिचालन गराएर बन्द गराउनुपर्ने अवस्था सिर्जना भएको थियो । व्यवसायीले प्रशासनको अनुमती बिनै पसल खोलेपछि मकवानपुरका प्रहरी जिल्ला अधिकारी दीपकराज नेपालले प्रहरी खटाएर बन्द गराउन लगाएपनि व्यवसायीले टेरेनन् । पसल बन्द गराउँदै हिँडेको प्रहरीसँग व्यवसायीको विवाद भएको थियो ।

मकवानपुर उद्योग वाणिज्य संघका सदस्य राजकुमार न्यौपाने, संघका अध्यक्ष कृष्ण कटुवाल, वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेलगायतले व्यवसायीहरुको नेतृत्व गर्दै प्रहरीसँग विवादमा उत्रिएका थिए । प्रहरी पसल बन्द गराउने व्यवसायीको नेतृत्व खोल्दै गर्दा केहीबेर दुवैपक्षबीच विवाद समेत भएको थियो । लकडाउन जारी रहेको अवस्थामा पसल खोल्ने अनुमति व्यवसायीलाई नभएको भन्दै प्रहरीले बन्द गर्न आग्रह गरेको थियो ।

व्यवसायी नेतृत्वले अब पसल बन्द गरेर बस्ने अवस्था नरहेको र राज्यले कर, घरभाडा, व्याजलगायत विषयमा सम्बोधन नगरेको भन्दै अब नियमित पसल खोल्ने बताइरहेका थिए । प्रहरी र व्यवसायीहरुबीच बिहान लामो समय विवाद समेत सिर्जना भएको थियो । व्यवसायीले लकडाउनहुँदा आफूहरु मर्कामा परेको भन्दै पसल खोल्न पाउनुपर्ने धारणा पटक/पटक दोहोर्‍याएका थिए ।

हेटौंडाका मुख्य बजारमा केही बेर पसल खोल्न र बन्द गराउन व्यवसायी र प्रहरीबीच होडबाजी नै चलेको थियो । मेनरोड, राप्तीरोड, स्कुलरोड, कान्तिराजपथ, पारिजातपथ, टीसीएन रोड, बसपार्कलगायतका बजारमा कपडा, जुत्ता पसलदेखि साना होटल र मदिरा पसल पनि खुलेका थिए ।

मकवानपुर प्रशासनले बिहान ६ बजेदेखि ९ बजेसम्म अत्यावश्यक सेवाका पसलहरुमात्रै खुल्ने अनुमति दिएको थियो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले अनुमती बिना अत्यावश्यक सेवा बाहेकका पसलहरु खोल्न नपाइने र खोलिए कारबाही गर्ने समेत बताएका छन् ।

उद्योग वाणिज्य संघको संस्थागत सहमतिका आधारमा हेटौंडाका पसलहरु खोलिएको संघका अध्यक्ष कृष्ण कटुवालले बताए । व्यावसायीलाई करको ताकेता, भोकभोकै बस्नु पर्ने बाध्यता भएपछि पसल खोल्न बाध्य भएको उनको भनाइ छ । ‘अब विहानको समयमा सधैं पसल खुल्नेछ । व्यवसायी जसरी पनि पसल खोल्ने पक्षमा छन्’, उनले थपे ।

बजार

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully