७५ दिनपछि खुल्यो सुनचाँदी बजार

एकै दिन १० हजार ४ सय बढ्यो सुनको मूल्य

जेष्ठ २६, २०७७

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड–१९ को जोखिमबाट बच्न गरिएको लकडाउनका कारण चैत ११ देखि बन्द भएको घरेलु सुनचाँदी बजार आइतबार खुलेको छ । साढे दुई महिना (७५ दिन) पछि बजारमा एकै दिन प्रतितोलामा १० हजार ४ सय रुपैयाँ मूल्य बढेर कारोबार भएको छ । ०७६ चैत १० गतेको तुलनामा आइतबार करिब साढे १० हजारले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बजारमा आइतबार सुन प्रतितोला ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । सो दिन चाँदीको मूल्य पनि २ सय ५ रुपैयाँ बढेर प्रतितोला ९ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुनको मूल्य प्रतिऔंस १ हजार ६ सय ८५ डलर पुगेको छ ।

त्यही मूल्यका आधारमा महासंघले आइतबारका लागि घरेलु बजारमा सुनको मूल्य तय गरेको हो । आइतबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा भने ०७० भदौ १२ मा प्रतिऔंस सुनको मूल्य १ हजार ९ सय २४ अमेरिकी डलर पुगेको थियो । त्यति बेला नेपाली बजारमा प्रतितोला सुनको मूल्य ६३ हजार ३ सय रुपैयाँ थियो । ०७० को तुलनामा अहिले अमेरिकी डलरको मूल्य धेरै बढेकाले सुनको मूल्य पनि अकासिएको हो ।

बजार खुले पनि कारोबार निकै कम रहेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘लामो समयपछि खुलेको बजारमा मूल्य पनि धेरैले बढ्यो,’ उनले भने, ‘ग्राहक छैनन्, आक्कलझुक्कल मात्र कारोबार भएको छ ।’ बजार सामान्य अवस्थामा फर्किन अझै केही समय लाग्ने उनको भनाइ छ । ‘बिहेको सिजन आउन लागेको छ,’ उनले भने, ‘यसले केही माग बढाउन सक्छ, अन्यथा धेरै कारोबारको अपेक्षा गर्न सकिन्न ।’

लकडाउनका कारण बैंकहरूमा रहेको सुन पनि बिक्री भएको छैन । अहिले व्यापारीहरूले स्टकमा रहेको सुन बिक्री गरिरहेका छन् । बजारमा माग बढ्न थालेपछि मात्र बैंकहरूको सुन खरिद गरिने महासंघले जनाएको छ ।

कान्तिपुर

Link copied successfully