२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

१६८ जना नेपाली सारजाह विमानस्थलको बोर्डिङ कक्षमा उडान पर्खंदै 

होम कार्की, सुरज कुँवर

काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को सारजाह विमानस्थलको गेट नम्बर ७ मा १६८ जना नेपाली कामदार बोर्डिङ पास लिएर बसिरहेका छन् । उनीहरु अध्यामगन प्रक्रिया पूरा गरी ‘वेटिङ रुम’ मा पुगेका हुन् । जहाजको गेटमै पुगिसक्दा पनि एयर अरेबियाको उडान नम्बर १७५१ ले  नेपाल आउन पाउने कि नपाउने भन्नै अझै निश्चित भइसकेको छैन । यो उडानको स्थानीय समय ११:२० हो ।

१६८ जना नेपाली सारजाह विमानस्थलको बोर्डिङ कक्षमा उडान पर्खंदै 

यो जहाज उड्न अनिश्चित बन्नुको एउटै कारण भनेको नेपाल सरकारले अनुमति दिइएको सर्तभन्दा बाहिर जानु हो । युएईको परराष्ट्र मन्त्रालयले अलपत्र परेका नेपाली कामदारलाई आफ्नै खर्चमा नेपाल पठाइदिने भन्दै उडान तालिकासहितको प्रस्ताव कूटनीतिक नोटमार्फत नेपाली दूतावासलाई पठाएको थियो । युएईले आठ वटासम्म उडानमार्फत नेपाली कामदार ल्याइदिने प्रस्ताव गरेको थियो ।

यसलाई आधार मान्दै नेपाली दूतावासले आपतमा परेका नेपालीलाई पठाउनका लागि भन्दै युएई सरकारको अनुरोधबमोजिम परराष्ट्र मन्त्रालयलाई अनुरोध गऱ्यो । परराष्ट्र मन्त्रालयले सवै खर्च युएईको भन्दै ‘इमरजेन्सी’ उडान दिलाउन लबिङ गर्‍यो । यसमा नेपाल वायु सेवा निगमले एउटा सर्तमा मात्रै उडान दिनको लागि संस्कृति, पर्यटन तथा नागरीक उड्डयनलाई दबाब दियो । निगमको भनाइ थियो, ‘हाम्रो जहाज विमानस्थलमा थन्किएर बसेको छ । सबै खर्च युएई सरकारकै हो भने हामीलाई आपत्ति छैन । तर, रोजगारदाताले टिकटको खर्च बेहोर्ने हो भने हाम्रो जहाजबाटै ल्याउनुपर्छ ।’

परराष्ट्रले नेपाल सरकारको प्राथमिकताको सूचीमा परेका मात्रै ल्याउने र खर्च युएई सरकारकै हुने भन्दै आश्वस्त पारेपछि बिहीबार एयर अरेबियालाई उडान अनुमति दिइएको थियो । त्यसलगत्तै दूतावासलाई अनुमतिको पत्र गयो ।

परराष्ट्रले एयर अरेबियाको १६८ वटा सिट क्षमता पूरै प्रयोग गरी पहिलो प्राथमिकतामा परेकालाई मात्रै उडान गर्नको लागि निर्देशन दिइएको थियो । दूतावासले भने पहिले नै पहिलो उडान आउने सम्भावित यात्रुको सूची परराष्ट्रलाई दिइसकेको थियो ।

दूतावासले उडान पाएको अनुमतिबारे युएईलाई खबर गरेको थियो । तर, युएईका अधिकारीहरुले पहिलो जहाजबाट भने नि:शुल्क नरहेको र त्यसपछि नि:शुल्क हुने खबर दिए । पहिलेकै प्रस्तावअनुसार नभएपछि दूतावास पछाडि हट्यो र शुल्क लिएर अलपत्र नेपालीलाई नपठाउने भनियो । शुक्रबार सरकारी निकाय बन्द भएकोले आइतबार थप छलफल गर्न बसिरहेको थियो ।

तर, शुक्रबार बिहान ६ बजे नै सारजाह विमानस्थलमा ट्रान्सगार्ड र इजादा कम्पनी करारपत्र समाप्त भएका कामदारलाई लिएर पुगे । यी कम्पनीले बिहीबार नै टिकट काटेका थिए । जसमा ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना छन् । उनीहरु सुरक्षागार्ड हुन । त्यसमा अधिकांश चैत ११ गते उडान गर्न सारजाह र दुबई विमानस्थलबाट फर्केका कामदार हुन । ‘हामी आफै अन्योलमा छन् । जहाज उड्छ कि उड्दैन भेऊ नै भएन,’ एक यात्रुले भने ।

अहिले यो उडानलाई आउन दिने कि रोक्ने भन्नेमा सम्बन्धित अधिकारीहरुवीच छलफल भइरहेको छ ।

काठमाडौंस्थित एयर अरेबियाले शुक्रबार दिउँसो हुने चार्टर उडान उडान योजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई बुझाइसकेको छ । उक्त योजना अनुसार उक्त विमानले सारजाहबाट १६८ यात्रु र एक जनाको शव ल्याउँदैछ । जहाज ३:३० देखि ५ बजेभित्र काठमाडौंमा अवतरण गर्ने भनिएको छ ।

त्रिभुवन विमानस्थलस्थित काठमाडौं अध्यागमन कार्यालयलाई कोरोना संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले शुक्रबार आउने भनिएको यात्रुको सूची पठाएको छ । जसअनुसार एयर अरेबियाको बोर्डिङ पास छैन । सीसीएमसीमा प्रतिनिधित्व गर्ने एक सहसचिवका अनुसार भने सीसीएमसीले अनुमोदन गरेको भन्दै फरक यात्रु भएमा छिट्टै निर्णय गर्नु पर्नेछ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?