२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लकडाउनको नयाँ मोडालिटी तयार, उच्चस्तरीय समितिमा छलफल हुँदै

मातृका दाहाल

काठमाडौँ — कोरोना भाइरस संक्रमणको कम जोखिम भएका क्षेत्रमा लकडाउन खुकुलो बनाउने गरी कार्ययोजना तयार पारिएको छ । सीसीएमसी सचिवालय र मूख्यसचिव नेतृत्वको एक्सन टिमबाट तयार पारिएको सिफारिसका आधारमा लकडाउन खुकुलो हुने गरी नयाँ कार्ययोजनाको खाका बनेको हो ।

लकडाउनको नयाँ मोडालिटी तयार, उच्चस्तरीय समितिमा छलफल हुँदै

यो खाकाबारे छलफल गर्न अहिले कोभिड रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कायालय स्रोतका अनुसार नयाँ खाका समितिबाट पारित भए यसलाई अनुमोदनका लागि मन्त्रिपरिषद बैठकमा लगिने छ । स्रोतका अनुसार कम जोखिम भएका क्षेत्रमा बिस्तारै जनजीवन सामान्यतर्फ लैजाने गरी कार्ययोजना तयार पारिएको छ । समितिका सदस्यहरु अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्ट लकडाउन खुकुलो बनाउनु पर्ने पक्षमा छन् । तर, प्रधानमन्त्री केपी शर्मा ओली तत्काल खुकुलो बनाउन नहुने पक्षमा उभिएपछि मन्त्रिपरिद्ले जेठ २० मा सकिने लकडाउनलाई जेठ ३२ सम्म लम्ब्याएको हो ।

‘कम जोखिम भएका जिल्ला तथा क्षेत्रमा सञ्चालित उद्योग/कलकारखाना तथा जीवीकोपार्जनसँग जोडिएका क्षेत्र स्वास्थ्य सावधानी अपनाएर सुचारु गर्ने गरी लकडाउनको नयाँ मोडालिटी तयार पारिएको छ, यसलाई आजै बस्ने समिति बैठकमा पेश गरिने छ,’ स्रोतले भन्यो ।

वैशाख १६ गतेको मन्त्रिपरिषद बैठकले ४४ वटा क्षेत्रसँग सम्बन्धित उद्योग/कलकारखाना तथा ढुवानीलाई सुचारु अनुमति दिए पनि बजार कलकारखाना सञ्चालन नहुँदा ती उद्योग पनि आंशिक मात्रै सञ्चालनमा छन् ।

७० दिनसम्म लकडाउन गर्दा पनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । देशमा संक्रमणको दोस्रो केस देखिँदा चैत ११ गतेबाट लकडाउन थालिएको थियो । संक्रमित भएकाको संख्या सोमबार नै १८ सय नाघिसकेको छ । लामो समयको लकडाउनका कारण ठूलो वर्गमा जीविकोपार्जनको समस्या देखिन थालेको छ भने नागरिक समाजबाट पनि यसको मोडालिटी परिवर्तन गरिनुपर्ने आवाज उठिरहेको छ ।

प्रकाशित : जेष्ठ २०, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?