त्रिवि शिक्षण अस्पतालमा पीसीआर ल्याब सञ्‍चालन

कान्तिपुर संवाददाता

काठमाडौँ — त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर परीक्षण ल्याब स्थापना गरिएको छ ।  शिक्षण अस्पतालमा सोमबार कोरोना संक्रमित भए नभएको छुट्याउनका लागि पीसीआर ल्याब स्थापना गरिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोशालाका निर्देशक डा. रुना झाले ल्याब पूर्ण क्षमतामा सञ्चालन गर्न आग्रह गरेकी छिन् ।

नेपालमा कोरोना संक्रमणको दर बढ्दो क्रममा रहेकाले परीक्षणको दायरा पनि बढाउन पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्न उनले आग्रह गरिन् । अस्पतालका कर्मचारीलाई तत्काल तालिम दिएर परिचालन गरिने उनले बताइन् ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले एक ‘सिफ्ट’मा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमताको ल्याब स्थापना भएको जानकारी दिए । अहिले पूरा क्षमतामा ल्याब सञ्चालन गरेर परीक्षणको दायरा बढाउनुपर्ने दायित्व भएको उनले बताए ।

योसँगै देशभरि पीसीआर परीक्षणका लागि १७ वटा ल्याबहरु सञ्चालनमा आएका छन् । संक्रमितको संख्या बढिरहेको अवस्थामा परीक्षणको दायरा बढाउन यसले अझ सहयोग पुग्नेछ । त्रिविसँग तीन वटा पीसीआर मेसिन रहेका छन् । त्रिविले देशभरि रहेका आफ्ना भौतिक संरचनाहरु आवश्यक परे प्रयोग गर्न पनि ३ वटै तहका सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित : जेष्ठ १२, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्

इटहरीमा अत्यावश्यक वस्तुका पसल खोल्ने निर्णय

सुम्निमा चाम्लिङ

इटहरी — पाँच दिनदेखि बन्द रहेका इटहरी उपमहानगरका अत्यावश्यक वस्तुका पसल सोमबारबाट खुला गरिएको छ । जेठ ६ गते इटहरी–२ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता बढाइएको थियो ।

त्यस क्रममा औषधिबाहेक अन्यका पसल बन्द गरिएको थियो । ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका २० जनाको पीसीआर रिपोर्ट शनिबार नेगेटिभ आएपछि नगरक्षेत्र केही खुला गरिएको हो ।

उक्त वडा र आसपासका पसलहरु सञ्चालनमा आएका छन् । नगरका जनप्रतिनिधि, प्रहरी र उद्योग वाणिज्य संघको सहभागितामा बसेको बैठकले पसल खोल्ने निर्णय गरेको हो ।

तोकिएको समयमा खरिदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने गरी बिहान ६ देखि १० बजेसम्म पसल खोल्न पाइने जनाइएको छ । साथै, नगरस्तरीय सुरक्षा बैठकले वडा २ र ३ मा सिल गरेर आउजाउमा प्रतिबन्ध लगाइएकामा सोमबारबाट केही खुला गरिएको २ नम्बर वडाध्यक्ष हर्कबहादुर मगरले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १३:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×