भारतसँग वार्ताका लागि हामी तयार भएर बसेका छौं : परराष्ट्रमन्त्री ज्ञवाली 

जेष्ठ ८, २०७७

देवेन्द्र भट्टराई

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भूमि अतिक्रमण र सीमावर्ती मुद्दामा भारतसँग कूटनीतिक संवाद गर्नका लागि नेपाल तत्पर भएर बसेको बताएका छन् । 

बिहीबार नेपालको नयाँ राजनीतिक–प्रशासनिक नक्सा सार्वजनिक हुनासाथै भारतले यो नक्सालाई ‘अमान्य’ भनेको सन्दर्भमा प्रतिक्रिया जनाउँदै मन्त्री ज्ञवालीले कान्तिपुरसँग भने, ‘हामी वार्ता र संवादको उपायबाट अहिले उब्जिएका समस्या निरुपणमा तत्पर छौं, हामीसँग रहेका सम्पूर्ण प्रमाण र वैज्ञानिक आधारसमेत जुटाएर नयाँ नक्सा प्रकाशित गरिएको हो । भारतसँग द्विपक्षीय संवाद गर्नका लागि प्रत्यक्ष–परोक्ष आग्रह गरिरहेका छौं ।’

‘वार्ताका लागि हामी धेरै अघिदेखि तयार छौं, आग्रहअनुसार भारतसँग वार्ता सुरु भइदिएको भए अहिले अर्कै चरणमा पुगिने थियो होला । वार्ताका लागि मिति पनि प्रस्ताव गरिएकै हो,’ मन्त्री ज्ञवालीले भने, ‘सीमा विवादको पछिल्लो चरणमा भारतले अहिलेको कोरोना संकट हटेपछि वार्तामा बस्ने भनेर जवाफ दिएको हो, तर हामी तत्कालै पनि वार्ताको पक्षमा छौं, हामी तयार भएर बसेका छौं । यो समस्या सुल्झाउनमा संवादभन्दा पर्तिर अर्को उपाय छैन भन्ने मलाई लाग्छ ।’

सम्बन्धित समाचार

नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

नेपालको नयाँ नक्सा मान्य छैन : भारत

देवेन्द्र भट्टराई विगत २५ वर्षदेखि पत्रकारितामा सक्रिय छन् । उनी कान्तिपुर पब्लिकेसन्समा सहायक सम्पादकको रुपमा कार्यरत छन् । उनी परराष्ट्र, शिक्षा, श्रम, कला, साहित्य,फिचर लगायतका विषयमा कलम चलाउँदै आइरहेका छन् । साथै उनी रेगिस्तान डायरी, स्रष्टा र समय पुस्तकका लेखक हुन् ।

Link copied successfully