नेपालको नयाँ नक्सा मान्य छैन : भारत- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपालको नयाँ नक्सा मान्य छैन : भारत

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले नेपालले एकतर्फी रुपमा भारतीय भूमि आफ्नो नयाँ नक्सा समेटेको आरोप लगाए ।

उनले भनेका छन्, ‘नेपालले आज एक संशोधित नक्सा सार्वजनिक गरेको छ । जसमा केही भारतीय भूमि पनि समेटिएको छ । यो एकतर्फी कदम हो र यो ऐतिहासिक तत्थ्य र प्रमाणमा आधारित पनि छैन ।’ प्रवक्ता श्रीवास्तवले नेपाल–भारत सीमा विवाद कूटनीतिक वार्तामार्फत समाधान गर्ने द्विपक्षीय समझदारीभन्दा बाहिर गएर नेपालले कदम चालेको पनि बताएका छन् । उनले नेपालको कदमलाई ‘कृत्रिम विस्तार’ को संज्ञा दिँदै भारतलाई मान्य नहुने बताएका छन् ।

त्यस्तै प्रवक्ता श्रीवास्तवले यस विषयमा भारतको धारणाका बारेमा नेपाल राम्रोसँग परिचित भएको भन्दै ‘अनुचित कार्टोग्राफिक’ दाबीबाट टाढा राख्दै भारतीय सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्न नेपाललाई आग्रह गरेका छन् । उनी भन्छन्, ‘हामीलाई आशा छ कि नेपाली नेतृत्वले सीमा विवाद समाधानका लागि कूटनीतिक वार्ताका लागि सकारात्मक वातावरण बनाउनेछ ।’ नेपालले औपचारिक रुपमा बुधबार नक्सा सार्वजनिक गरेसँग भारतले प्रतिक्रिया दिएको हो । भारतीय सञ्‍चारमाध्यमहरुमा नेपालको नयाँ नक्साबारे चर्चा भए पनि भारतीय विदेश मन्त्रालयका तर्फबाट पहिलो पटक प्रतिक्रिया आएको हो ।

सरकारले बुधबार दिउँसो नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल ३३५ वर्गकिलोमिटर छ । अतिक्रमित भूभागबाहेकको नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ ।

सम्बन्धित समाचार

नेपालको नयाँ नक्सा औपचारिक रुपमा सार्वजनिक

प्रकाशित : जेष्ठ ७, २०७७ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्

टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृतविरुद्ध १७ करोडको भ्रष्टाचार मुद्दा 

कृष्ण ज्ञवाली

काठमाडौँ — गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका पूर्वकार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले अर्यालविरुद्ध १७ करोड ८३ लाख ४१ हजार ५७९ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको हो । 


२०३९ साल साउन १ गते जिल्ला विकास समिति स्याङ्जामा गाविस सचिवको रुपमा सुब्बाबाट सेवा प्रवेश गरेका अर्याल अधिकृत भएर अवकाश भएका थिए । अवकाशअघि उनी भीमढुंगा गाविस, टोखा नगरपालिका लगायतका स्थानीय तहमा प्रशासनिक प्रमुखको रुपमा काम गरेका थिए ।

अख्तियारको दाबीअनुसार, उनी जहाँ गाविस सचिव वा नगरपालिकामा काम गरेका थिए, त्यही नै जग्गा जमिन जोडेका थिए । उनी धापासी, टोखा, भिमढुंगा गाविसमा सचिवको रुपमा काम गरेका थिए । अख्तियारले उनीसहित श्रीमती लक्ष्मीदेवी उपाध्याय, छोराहरु सुशील अर्याल, सुनिल अर्याललाई पनि प्रतिवादी बनाएको छ ।

उनले आफ्नो र श्रीमतीको खातामा अनि शेयरमा मात्रै ९ करोड १३ लाख रुपैयाँ जोडेको भेटिएको छ । छोराछोरीको पढाईमा २० लाख खर्च गरेका उनले विवाहमा २८ लाख खर्च गरेको स्वीकारेका छन् । दुईवटा फर्ममा उनको ४ करोड ४२ लाख रुपैयाँ लगानी भेटिएको छ । करिब साढे ४ करोड रुपैयाँ सापटी दिएको भेटिएको छ । करिब २६ करोड ६० लाख आर्जन गरेका उनको १७ करोड ८३ लाख रुपैयाँ बाहेकको ८ करोड ७७ लाख आम्दानी भने स्रोत खुलेको मानिएको अख्तियारले जनाएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७७ २१:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×