कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

संक्रमित बसेकै क्वारेन्टाइनमा छैन परीक्षण

कपिलवस्तु, रुपन्देही — कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा संयोजक उमेश गुप्ता केही दिनदेखि सदरमुकामस्थित बुद्धपद्म माविको क्वारेन्टाइनमा जानै छाडेका छन् । ‘कोरोना संक्रमण होला भनेर नगएको होइन,’ उनले भने, ‘स्वाब परीक्षण नगरेको भन्दै ढुंगा नै हिर्काउन खोज्छन् । झगडा गर्नुभन्दा नजानु नै ठीक लाग्यो ।’

संक्रमित बसेकै क्वारेन्टाइनमा छैन परीक्षण

५८ जना रहेको उक्त क्वारेन्टाइनमा अधिकांशको बसाइ २१ दिन पुगिसकेको छ । पीसीआर परीक्षण नहुँदा घर जान पाएका छैनन् । उनीहरूले छिटो परीक्षण गर्न दबाब दिइरहेका छन् । तर, स्वाब संकलन गर्न भीटीएम अभाव छ । आरडीटी किट पनि छैन । ‘स्वास्थ्य कार्यालयलाई भन्दाभन्दै थाकिसक्यौं,’ गुप्ताले भने, ‘हाम्रो कुरा सुनुवाइ नै हुँदैन ।’

सदरमुकामकै महेन्द्र प्राविमा २६ जना थिए । तीमध्ये एक जनामा संक्रमण पुष्टि भइसकेको छ । संक्रमितको कन्ट्याक्ट ट्रेसिङबाट क्वारेन्टाइनमा रहेका ६ जना हेलमेल भएको खुलेको छ । उक्त विद्यालयमा बसिरहेकाले २० दिन पूरा गरिसकेका छन् । त्यहाँ पहिलोपटक स्वाब परीक्षण भएको १० दिन भइसक्यो । त्यसपछि स्वाब संकलन गरिएको छैन ।

कपिलवस्तु नगरपालिकाका विभिन्न वडाका ९ जना संक्रमित छन् । ‘मेरो पीसीआर रिपोर्ट नेगेटिभ आए पनि क्वारेन्टाइनमै राखिएको छ,’ उक्त क्वारेन्टाइनमा रहेका कपिलवस्तु–२, रमतलहाका पुजारी रैदासले भने, ‘फेरि परीक्षण गर्नुपर्छ भन्छन् ।’ दुई साता बितिसके पनि परीक्षण नभएपछि उनी आक्रोशित छन् । ‘कहिले घर जान पाइने हो, टुंगो छैन,’ उनले भने, ‘परीक्षणमा चरम लापरबाही छ ।’

भारतसित सीमा जोडिएको यशोधरा गाउँपालिकामा यस्तै समस्या छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ज्योतिप्रकाश दुबेले स्वाब संकलन र पीसीआर परीक्षणका लागि दबाब दिँदादिँदै थाकिसकेको बताए । यशोधराका २७ वटा क्वारेन्टाइनमा १ हजार २ सय ४५ जना छन् । अहिलेसम्म ५२ जनाको स्वाब संकलन गरेर परीक्षण गरियो । त्यसबाट १२ जनामा संक्रमण पुष्टि भएको छ । ती संक्रमितसित घुलमिल भएका ११ जनाको स्वाब संकलनका लागि जिल्ला स्वास्थ्य कार्यालयलाई आग्रह गरेको एक साता बिते पनि सुनुवाइ भएको छैन ।

कन्ट्याक्ट ट्रेसिङबाट संक्रमितको २६ जनासित घुलमिल भएको पाइएको थियो । ती कसैको अहिलेसम्म स्वाब परीक्षण भएको छैन । ती २६ जना समुदायमा बसिरहेका छन् । ‘परीक्षण नहुँदा समस्या झन् जटिल बन्यो,’ यशोधरा गाउँपालिका अध्यक्ष गिरजेश पाण्डेले बताए । ‘समुदायमा संक्रमण नसरोस् भनेर खटिएका छौं,’ उनले भने, ‘सरकारले परीक्षण नबढाउँदा ठूलो जोखिममा पर्‍यौं ।’ उनका अनुसार क्वारेन्टाइनमा १४ दिन बिताएका पाँच सय जनाभन्दा बढी छन् । उक्त अवधि पूरा गरेकाले घर जानका लागि दबाब दिइरहेका छन् । ‘तर, कसरी पठाउने ?,’ उनले भने, ‘दबाब थेग्न गाह्रो छ । परीक्षणबिना पठाउन पनि मिलेन ।’

शिवराज नगरपालिकाका आठ वटा क्वारेन्टाइनमा ४ सय ५० जना छन् । अहिलेसम्म १ सय ३ जनाको स्वाब संकलन भएको छ । ‘स्वास्थ्य कार्यालयमा अनुरोध गर्दागर्दै थाक्यौं,’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चूडामणि भट्टराईले भने, ‘तनावमा छौं ।’ नगरपालिकामा तीन जनामा संक्रमण देखिएको छ । ‘संक्रमितसित हेलमेल भएकाको परीक्षण गर्न सकेका छैनौं,’ उनले भने, ‘क्वारेन्टाइन अवधि पूरा गरेकालाई घर पठाउन पाएका छैनौं ।’

जिल्ला प्रशासनले संक्रमण परीक्षणका लागि आवश्यक किट अभाव रहेको जनाएको छ । जसले गर्दा क्वारेन्टाइनमा बसेका अधिकांशको परीक्षण हुन सकेको छैन । जिल्लाका लागि तत्काल १० हजार किट माग गरिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । स्वाब संकलनका लागि तीनपटकमा १ हजार ५ सय भीटीएम आएको थियो । १ हजार ५ सय आरडीटी किट प्राप्त भएकामा सकिएको छ । क्वारेन्टाइनमा बसिरहेका ८० प्रतिशतभन्दा बढीको परीक्षण हुन नसकेको प्रजिअ पौडेलले बताए । जिल्लाका १० स्थानीय तहका क्वारेन्टाइनमा ७ हजार जनाभन्दा बढी छन् ।

थपिए चार संक्रमित

मायादेवी गाउँपालिकामा मंगलबार चार संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणबाट संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । उक्त गाउँपालिकामा संक्रमितको संख्या आठ पुगेको छ । मायादेवी–४, सानो गौरास्थित क्वारेन्टाइनमा रहेका ४०, ४२ र ४५ वर्षीयमा संक्रमण देखिएको हेल्थ असिस्टेन्ट रनकुमार श्रेष्ठले बताए । चार दिनअघि क्वारेन्टाइनमा बसेका ३८ जनाको आरडीटी गरिएकामा चार जनाको पोजिटिभ आएको थियो । त्यसपछि उनीहरूको स्वाब संकलन गरेर पीसीआर विधिबाट परीक्षण गरिएको हो । त्यसमध्ये तीन जनामा संक्रमण देखिएको छ । अर्का एकको रिपोर्ट आउन बाँकी छ । त्यस्तै पकडीस्थित क्वारेन्टाइनमा बसेका एक जनाको आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनको पनि पीसीआर विधिबाट परीक्षण गर्दा पोजिटिभ देखिएको हो । उनीहरू भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

नर्सको रिपोर्ट नेगेटिभ

कोरोना संक्रमण भएको भनिएकी कपिलवस्तु अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्सको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य कार्यालयले जेठ १ र ४ गते संकलन गरी पठाएको स्वाब परीक्षणको दुवै रिपोर्ट नेगेटिभ आएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बन्जाडेले सूचना प्रकाशित गरी जनाएका छन् । सबैको परीक्षण प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको हो ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?