हवाई मार्गबाट पनि सेनाले ल्यायो स्वास्थ्य सामग्री 

जगदीश्वर पाण्डे

काठमाडौँ — नेपाली सेनाले चीनबाट खरिद गरेको स्वास्थ्य सामग्री हवाई मार्गबाट पनि ल्याएको छ । सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार कोरोना भाइरसको लागि अतिआवश्यक सामग्रीहरु व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), एन–९५ मास्क, पीसीआर परीक्षण गर्दा चाहिने सामग्री, ग्लोब्ससहित अन्य सामग्री ल्याइएको हो । सेनाले हवाईजहाजको प्रयोग गरेर दुई लटमा सामग्री ल्याउने योजना गरे अनुसार मंगलबार पहिलो लट आइपुगेको हो । 

हवाई मार्गबाट पनि सेनाले ल्यायो स्वास्थ्य सामग्री 

हवाईजहाजबाट ल्याइएको पहिलो लटको सामग्री करिब १८.८४ टन रहेको प्रवक्ता पाण्डेले बताए । उनले हवाईजहाजमार्फत दोस्रो लटमा केही दिनमै सामग्री काठमाडौं आउने जानकारी दिए । ‘गोन्जाउ विमानस्थलमा भन्सार जाँचको लागि काम सुरु भइसकेको छ, त्यो सकिने बित्तिकै हामीले विमान पठाएर ल्याउने छौं,’ उनले भने ।

यसले स्थलमार्ग मार्फत भने यसअघि नै स्वास्थ्य सामग्री ल्याउन थालिसकेको छ । चीनबाट सेनाले खरिद गरेको सामग्रीको पहिलो लट स्थलमार्ग मार्फत शनिबार (जेठ ३ गते) तातोपानी नाका हुँदै काठमाडौं आइपुगेको थियो ।

उनका अनुसार पहिलो लटमा आएका सामग्री करिब साढे आठ टन १० वटा गाडीमा ल्याइएको जनाए ।

मन्त्रीपरिषद्को चैत १६ को निर्णय अनुसार सेनाले चीनबाट सरकार–सरकार (जीटुजी) प्रक्रियामार्फत कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि ६७ प्रकारका स्वास्थ्य सामग्री खरिद गरेको थियो । उक्त सामग्री करिब तीन सय ४ टन भएको सेनाले जनाएको छ ।

सेनाले ल्याएका सामग्री आवश्यकता अनुसार कोभिड–१९ आपतकालिन केन्द्रले कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि वितरण गर्ने छ ।

प्रवक्ता पाण्डेका अनुसार सडकमार्फत दोस्रो लट ल्याउन लागेको सामग्री पनि गोन्जाउबाट हिँडिसकेको बताए । नेपालले करिब २ अर्ब २६ करोड रुपैयाँमा करिब तीन सय ४३ टनको स्वास्थ्य सामग्री ल्याउन लागेको हो ।

सेनाले यसअघि नै वैशाख ८ गते चिनियाँ कम्पनीलाई ६७ स्वास्थ्य सामग्रीको लागि करिब २ अर्ब २६ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।

सेनाले ढुवानी कम्पनी फ्ल्यास फ्रेट नेपाल कार्गो कम्पनीसँग वैशाख १६ गते सम्झौता गरेको थियो ।

सेनाले स्थलमार्गबाट अन्य सामग्री ल्याउनको लागि ढुवानी कम्पनीसँग दुई करोड ८६ लाख ७६ हजार चार सय रुपैयाँको सम्झौता गरेको थियो ।

सेनाले सार्वजनिक खरिद ऐन र आर्थिक नियमावलीमा रहेको प्रक्रिया अनुसार चीनको साइनो फर्मसँग वैशाख ७ मा सम्झौता गरेको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?